८ वैशाख २०८१ शनिबार
अर्थ

चिनियाँ लगानीमा याम्बालिङ् विद्युत आयोजना निर्माण हुने

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट क्षमताको विद्युत उत्पादनको लागि चाइनिज कम्पनी जोङदिङ इन्टरनेशनल ईन्जिनियरिङ्ग लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ।

रिपोर्टर्स क्लबमा याम्बालिङ् हाइड्रोपावर प्रालिले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको बारेमा जानकारी दिएको हो। याम्बालिङ् हाइड्रोपावरका अध्यक्ष कमानसिंह लामाले आगामी दुई वर्षभित्र याम्बालिङ् विद्युत आयोजना सम्पन्न हुने जानकारी दिए। 

१ अर्ब २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरी रकम समेत तोकिएको अध्यक्ष लामाले बताए।

उनले भने, ‘याम्बालिङ् हाइड्रोपावरले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्नको लागि साना–साना आयोजना निर्माण गरेरै भएपनि सरकारलाई साथ दिने लक्ष्य लिएको छ, यसै अनुरुप याम्बालिङ् खोलामा सदावहार बग्ने पानीलाई विद्युतमा परिणत गर्ने उद्देश्यका साथ हामी लागेका छौं।’

उनका अनुसार यो योजनासँगै थप ४० मेघावाटको निर्माणको लागि समेत समझदारीमा हस्ताक्षर भएको छ, कुललागत ८ अर्ब २० करोड लगानीसहित ९ अर्ब ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ।

अध्यक्ष लामाले उक्त पावर हाउसबाट स्युचयाड नहुने र ३३ के.भी. प्रसारण लाइनमार्फत ६ किमी टाढा रहेको नेपाल विद्युत प्राधिकरणको प्रास्तावित सव–स्टेशन लगेर जोडिने तथा ६ वर्षभित्र लगानी फिर्ता हुने जानकारी गराए।

याम्बालिङ् हाईड्रोपावर निमार्णको लागि स्वदेशी लगानीतर्फ कुमारी बैंकको नेतृत्वमा आयोजना अघि बढाईने जानकारी गराइएको छ। 

प्रकाशित: ९ जेष्ठ २०७५ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App