७ वैशाख २०८१ शुक्रबार
अर्थ

कामकाजीका साथी निजी सवारी

काठमाडौं- निजी सवारी अब विलासी साधन रहेन।विगतमा हुनेखाने,सम्पन्न वर्गलेप्रयोग गर्ने निजी सवारी अहिले जीवनको अभिन्न पाटो बनेको छ।जागिरे जीवनमा होस् वा व्यवसायमा, घुमफिरमा निस्किँदा मात्र होइन कलेज पढ्न जाँदा पनि। निजी सवारीसोख नभईअनिवार्य आवश्यकताका वनेको छ।

व्यक्तिको सफलतामा उसको मेहनत, क्षमता, लगानी जति महत्वपूर्ण छ–समय व्यवस्थापन, सिर्जनशीलता, उद्यमशीलता, व्यक्तित्व विकाससहित करिअर निर्माणकोलागि सवारी त्यत्तिकै सहयोगी बनेको छ।फरक यत्ति छ– धेरै कमाइ हुनेले चारपांग्रे निजी गाडी चढ्छन्, न्यून आम्दानी हुनेले दुईपांग्रे। त्यही पनि किन्न नसक्नेलाई सार्वजनिक सवारी नचढी धर छैन।

सार्वजनिक यातायातको बेथितिले पनि निजी सवारी प्रयोग गर्ने बढेका छन्। निर्धारित समयमै गन्तव्यमा पुगेर आफ्नो काम फत्ते गर्न सवारीकै सहारा लिनुपर्ने भएकाले आफ्नो समयअनुसार चल्न व्यक्तिपिच्छे सवारी किन्न थालेका छन्।

यात्रामा धुलोधुवाँबाट मुक्ति पाउन। घाम, पानीबाट जोगिन। साथीभाइ परिवार, व्यावसायिक साझेदारसँगयात्रा गर्न चारपांग्रे सवारी साधन सारथी बनेको छ।कम आम्दानी भएकाले मोटरसाइकल र स्कुटी प्रयोग गर्छन्। जिम्मेवारी अनुसारको काम फत्ते गर्न सवारीबिना असम्भव छ।

काठमाडौंको गोंगबुमा सिरप मेडिकल सञ्चालन गरिरहका दीपक शर्मा स्विफ्ट डिजायर गाडी चढ्छन्। गाडी चढ्न थालेपछि उनको व्यवसाय वृद्धि भएको छ। स्वास्थ्य क्षेत्रमा कार्यरत शर्मा कामकाजीलाई गाडी अनिवार्य भएको बताउँछन्। साथीभाइ, समाज, बजारअनुसार चल्न, अरुको हेराइमा परिवर्तन गर्न गाडी चढ्नु बाध्यता भएको उनले बताए। हरेक व्यवसायका सेवाग्राहीदेखि व्यवसायीलाई व्यक्तित्व प्रदर्शन गर्नगाडीले सघाउने उनको अनुभव छ। 'गाडी चढेनभने तल्लो दर्जाको रुपमा हेर्ने प्रचलन छ,' उनले भने, 'व्यवसाय राम्रो भए पनि गाडी नचढी बैठक, सभा–सम्मेलनमा पुग्दा अर्कै नजरले हेर्ने चलन छ।'

समय व्यवस्थापनसँगै उच्च वर्गको संगतकोलागि आफ्नै सवारी चाहिने उनको बुझाइ छ। 'निजी सवारी हुनासाथ साथीभाइले हेर्ने दृष्टिकोणै फरक हुन्छ,' उनले भने, 'मुख्यतः व्यवसाय प्रवर्द्धनमा टेवा पुग्छ।'

सानोतिनो जागिर, व्यवसाय गर्नेलाई मोटरसाइकल स्कुटीले निकै सघाउ पुगेको छ। थोरै आम्दानी भएकाले पनि किन्न सक्ने भएकाले दुईपांग्रे कामकाजीको लागि उपयोगी छ। विगतमा मोटरसाइकल पुरुषले मात्र चढ्ने गरे पनि अहिले महिलाको संख्या पनि उत्तिकै छ।

सर्लाहीबाट काठमाडौं झरेकी सुविक्षा चौधरी स्कुटी चढ्छिन्। सक्षम नारी म्यागेजिन प्रकाशन गरिरहेकी चौधरीले स्कुटी चढ्न थालेपछि साथीसंगी, समाजले हेर्ने नजरनै फरक परेको बताइन्। 'हरेक मान्छेले सवारी हेरेर मूल्यांकन गर्दोरहेछ,' उनले तितो अनुभव सुनाइन्, 'पैदलै कसैसँग भेट्न जाँदा नकारात्मक नजरले हेरेर होच्याउने गर्थे।' उनलाई समयको सदुपयोगसहित काम छिटोछरितो गर्न स्कुटीले सहयोग पुगेको छ। 'सार्वजनिक यातायातमा चढेर जान निकै झन्झट छ,' उनले भनिन्, 'समयमै पुगेर काम पूरा गर्न सजिलो हुन्छ।' स्कुटी चढ्न थालेपछि उनको व्यवसायलेफड्को मारेको छ।

प्रयोगकर्ताले आफ्नो आम्दानी र रुचि अनुसार प्रयोग गरिरहेका छन्। प्रयोगकर्ता बढेसँगै विदेशबाट गाडी आयातसमेत बढेको छ। बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजमा किस्ताबन्दीमा गाडी किन्ने कर्जा उपलब्ध गराउने भएकोले थोरै आम्दानी हुनेले पनि प्रयोग गर्न पाएका छन्। प्रयोगकर्ता बढेसँगै नेपाली व्यावसायिक घरानाका आँखा यो क्षेत्रमा परेको छ।

पछिल्लो समय न्यूनतम १५ लाखदेखि ३ करोड रुपैयाँका गाडी नेपाली बजारमा छन्। गाडी जाम भएको बेलामा छेउछाउ र सानो ठाउँबाट छिर्न सजिलो ठान्नेलेदुईपांग्रे साधन प्रयोग गर्छन्। पुरुषमात्र होइन, निजी सवारीमा महिलाको आकर्षण ह्वात्तै बढेको छ। आम्दानी गर्ने क्षमता बढेसँगै आफैं ड्राइभिङ गरेर हुइँकिन्छन्। महिलाले स्कुटीको तुलनामा चारपांग्रे सवारी सुरक्षित भएको अनुभूति गर्छन्।

इलामबाट काठमाडौं झरेकी सञ्जिता भक्तराज केही समय सार्वजनिक यातायातमै हिँडिन्। स्कुटी हुँदै उनी अहिले २३ लाख रुपैैयाँको आइटेन मेग्ना गाडी चढ्छिन्। केही वर्षअघि स्कुटीमा हुइँकिने भक्तराज अहिले हुन्डाई कम्पनीको गाडीमा सवारी हुँदा 'प्राउड फिल' गर्छिन्।

एलआइसी इन्स्योरेन्सको एजेन्सी म्यानेजर उनी मासिक ६० हजार कमाई हुनेले सजिलै गाडी चढेर हिँड्न सक्ने बताउँछिन्। निजी सवारी हुँदा यात्रा गर्न सजिलो त हुन्छ नै आफ्नो व्यवसाय बढाउन पनि निकै सहयोगी बनेको उनको अनुभव छ। 'सुरक्षित यात्रासँगै  गाडीले व्यक्तिमा आत्मविश्वास पनि बढाउँछ,' उनले अनुभव सुनाइन्, 'हिजोको दिनमा वास्ता नगर्ने मान्छेले गाडी चढेको देखेपछि राम्रो रेस्पोन्स गर्छन्।'

गाडी चढ्न थालेपछि आत्मविश्वास बढेको उनको अनुभव छ। काठमाडौंमा बढ्दो सवारी जामप्रति भने उनी चिन्तित छन्। साँघुरा सडक भएकाले चारपांग्रे गाडी लिएर हिँड्दा कहिलेकहीँ कठिन हुने अनुभव छ। 'कर तिरेबापतको सुविधा पाएका छैनौं,' उनले भनिन्, 'सडक विस्तारमा ध्यान नदिँदा केही कठिनाइ छ।'

दुईपांग्रेको तुलनामा चारपांग्रेमा सुरक्षित हुन्छ। तैपनि साँघुरो बाटोमा जाम छल्दै समयमै गन्तव्य पुग्न सकिने भएकाले चारपांग्रे चढ्नेले पनि मोटरसाइकल, स्कुटी प्रयोग गरिरहेका छन्।पछिल्ला वर्षमा स्कुटी प्रयोगकर्ता बढेका छन्।सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार हुने भएको अभिभावकले समेत स्कुल पढ्ने छोरीलाई स्कुटी किन्दिन आफैं प्रस्तावगर्छन्। कलेज अध्ययनसँगै जागिर गर्नेलाई सवारी सारथी बनेको छ। एक निजी कम्पनीमा काम गर्ने चितवनकी सोनिया सापकोटाले स्कुटीले आफ्नो जीवनशैलीनै फेरेको अनुभव सुनाइन्। 'गाडीमा हिँड्दा पटकपटक दुर्व्यवहार खेप्नु परेपछि बुबा–आमालेनै स्कुटी किन्न आग्रह गर्नुभएको हो,' उनले भनिन्, 'विहान कलेज पढेर दिउँसो अफिस जान निकै सजिलो भएको छ।'

काठमाडौंमा जनघनत्व बढेसँगै निजी, सार्वजनिक सवारीको चाप बढेको छ। सार्वजनिक गाडीमा यात्रा गर्दा ठेलमठेल हुन्छ। सार्वजनिक साधन व्यवस्थित नहुँदा निजीमा धेरैको आकर्षण भएको हो। हरेक व्यक्तिले आरामदायी, सुरक्षित यात्रा खोजिरहेको हुन्छ। बढ्दो सवारी चापथेग्न भने कठिन देखिएको छ।

कतिपयले बाध्यताको रुपमा सवारी प्रयोग गरे पनि सौखिनहरु पनि छन्। मोबाइलको प्रयोग जसरी एकाएक बढ्यो सवारीको वृद्धि पनि निकै देखिएको छ। अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठ समय बचत गर्न, व्यक्तिगत दैनिकी व्यवस्थित गर्न, उत्पादकत्व बढाउन र सुखी जीवन बिताउन सवारी सहयोगी बन्ने बताउँछन्। श्रेष्ठको परिवारमा ८–१० वटा गाडी छन्।

उच्च घरानियाँले परिवारका सदस्यैपिच्छे सवारी किन्न थालेका छन्। प्रशस्त आम्दानी हुनेले त फेरिफेरि गाडी प्रयोग गर्ने प्रचलनविकास भएको छ। व्यक्तिको आम्दानी, व्यक्तित्वलाई सवारीसँग दाँज्न थालिएको छ। युवा पुस्ताले विभिन्न मोडलका बाइक तथा स्कुटी प्रयोग गर्छन्। सरकारी तथा निजी क्षेत्रका जागिरे, व्यससायी, बैंकर, व्यापारिक घरानासहित कलाकारले पनि सवारीलाई सोख बनाउँछन्।

नेपालमा टाटा, हुन्डाई, सुजुकी, होन्डा, किया, टोयोटा, स्कोडा, यामाहा लगायत कम्पनीले आफ्ना आधिकारिक बिक्रेतामार्फत गाडी बेच्दै आएका छन्। अचेल चाडबाड लक्षित विभिन्न स्किम समेत ल्याएका छन्।

निजी सवारी बिलासी साधन नभएकोले करको दायरा घटाए सर्वसाधारणको पहुँच अझ वृद्धि हुने बिक्रेता बताउँछन्। सवारी साधनले उद्यमशीलता व्यक्तिको आम्दानी बढाएर अर्थतन्त्रमा समेत टेवा पुर्‍याउने भएकाले करको दर घटाउनुपर्ने माग व्यवसायीको छ।

यात्रासँगै मालसामान ढुवानी गर्न चारपांग्रे प्रयोग हुन्छ। गाउँगाउँमा कच्ची सडक पुगेपछि दुईपांग्रे, चारपांग्रे साना निजी सवारीदेखि मालवाहक सवारीको चाप बढेको छ। सार्वजनिक सवारीमा लगानी पनि दिनानुदिन बढिरहेको छ।

सवारी  प्रयोग बढाउन बिक्रेता कम्पनीले देशभर सोरुम राखेका छन्। नयाँ, सेकेन्ड ह्यान्डको बिक्री सहित मर्मत केन्द्र ठाउँठाउँमा खोलेकाले बिग्रिएको अवस्थामा सजिलै मर्मत गर्न सकिने स्थिति छ।

प्रकाशित: १६ भाद्र २०७३ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App