७ वैशाख २०८१ शुक्रबार
खेल

केनलाई इङ्ल्यान्डको जिम्मेवारी

लन्डन– इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार टोटनह्यामका स्ट्राइकर ह्यारी केनलाई रूसमा हुने २१औं संस्करणको विश्वकप फुटबलमा इङ्ल्यान्डको कप्तानी दिएका छन्।

अर्को महिना रूसमा हुने विश्वकप फुटबल टोली घोषणा गर्ने क्रममा केनलाई प्रशिक्षक ग्यारेथ साउथगेटले कप्तानको जिम्मेवारी दिएका हुन् । २४ वर्षीय केनले २३ अन्तर्राष्ट्रिय सहभागितामा १२ गोल गरेका छन् । उनले यसअघि स्कटल्यान्डविरुद्धको विश्वकप छनोट खेलमा कप्तानको जिम्मेवारी सम्हालेका थिए । ‘केनको फुटबल खेलको अत्तिरिक्त व्यक्तिगत आचरण पनि एकदमै राम्रा छन् । जिम्मेवार व्यक्तिसँगै खेलाडीमा हुनुपर्ने गुण उनमा छ,’ प्रशिक्षक साउथगेटले भने, ‘विश्वासिला र उच्चस्तरका खेलाडी हुन् । कप्तानको जिम्मेवारी दिनुको अर्थ उत्कृष्ट खेलाडीले खेलमा जिम्मेवारीसँगै उत्कृष्ट खेल प्रस्तुत गर्न सक्छ भन्ने हो ।’

मंगलबार प्रशिक्षक साउथगेट र केनले इङ्ल्यान्डको सामाजिक सञ्जाल ट्विटरमार्फत औपचारिक रूपमा कप्तानको जिम्मेवारी दिने घोषणा गरेका थिए । केनले सन् २०१५ लिथुआनियाविरुद्धको डेब्यु खेलमा मैदान प्रवेश गरेको ७९ सेकेन्डभित्रमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।‘टोलीलाई सम्हाल्ने जिम्मेवारी मेरो लागि सम्मान दिइएको हो,’ केनले भने, ‘देशका लागि खेल्नु सबै खेलाडीको सपना हुन्छ, त्यसैमा पनि कप्तानको जिम्मेवारीलाई वहन गर्दै टोलीको नेतृत्व गर्नु निकै कठिन पनि छ ।’ उनले थपे, ‘विश्वकप फुटबलका लागि हामी उत्साहित छौं । रूस विश्वकप अनुभव लिन टोली आतुर छ । मेरा लागि कप्तानको जिम्मेवारी निकै चुनौतीपूर्ण छ । लक्ष्य भनेको अपराजित रहँदै प्रतिद्वन्द्वीको सामना गर्नु हो ।’

उनीसँगै इङ्ल्यान्ड टोलीमा इरिक डायर र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले साथ दिनेछन् ।५२ खेलमार्फत टोटेनह्याम र इङ्ल्यान्डबाट २०१७÷१८ मा ४५ गोल गरेका केनले लिभरपुलका मोहम्मद सालाहसँग लगातार तेस्रो पटक इङ्लिस प्रिमियर लिगमा गोल्डेन बुट जित्न चुकेका थिए ।

टोटेनह्यामबाट व्यावसायिक खेल खेलेका केनको टोलीले गत सिजनको इङ्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्दै अर्को सिजनको च्याम्पियन्स लिगका लागि स्थान बनाएको थियो ।साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्ड टोलीले यसअघि वायन रोनी, जोय हार्ट र ग्यारी काहिलले टोलीको नेतृत्व गरेका थिए । ‘ह्यारीलाई अन्य खेलाडीहरूको साथ पनि उत्तिकै आवश्यक हुनेछ,’ प्रशिक्षक साउथगेटले भने, ‘राम्रो कप्तान हुँदैमा उत्कृष्ट टोली बन्न गाह्रो हुन्छ, त्यसका लागि टोलीले उत्कृष्ट खेल पस्कनु नै पर्ने हुन्छ । मलाई विश्वास छ हाम्रो टोलीले रूस यात्रामा उत्कृष्ट खेल प्रस्तुत गर्नेछ ।’

प्रकाशित: ९ जेष्ठ २०७५ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App