पानीझैँ दख्खिन बग्दा छन् मान्ठा

बुधबार, ०९ जेठ २०७५, ०९ : २६ ध्रुव नेपाल

त्यसै त केही नै हुँदैन । अनि किन होस्, त्यसै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर ! पर्याप्त कारण छन् र बनेको हो राजधानी, नत्र किन प्रदेशसभाका सबै जनाले एक मतले स्वीकार गर्थे र !

कति पाठक सुर्खेतकै हुनुहोला । कति त जानुभएको पनि होला । नगए पनि केही छैन । गजबको उपत्यका छ ठूलो, अनि नगरभित्र नै ठूलाठूला चौर छन् मुख्य स्थानभित्र नै । तपाईं काठमाडौँ वा यस्तै खुला ठाउँ नै नभएको नगरको बासिन्दा हुनुहुन्छ भने पक्कै निस्सासिँदो वातावरणले दिक्क परेको तपाईंको मनले वीरेन्द्रनगरको खुला चौर देख्दा आफैँ ‘वाह’ भन्नेछ । यति मात्र हो र, बजार, सरकारी कार्यालय रहेको क्षेत्र अनि आवास क्षेत्र छुट्टयाएको देख्दा, अनि नालीसहितका ठूला भित्री सडक देख्दा जो कोही नगर योजना पारखीले भेउ पाइहाल्छ– यो योजना गरेर विकसित गर्न खोजिएको नगर रहेछ, नेपालका धेरै भद्रगोल नगर जस्तो होइन यो। 

विश्वविद्यालयको गेटबाहिर लहरै खोलिएका किताब पसलमा गएँ । त्यहाँ अध्ययन–अध्यापन हुने विषयका उत्कृष्ट ठानिएका किताब पाइएलान् कि भनेर । तर त्यहाँ पनि लोकसेवा तयारीका लागि सहयोगी गाइड बुक मात्र । किताब पसलेले भने— सरले दिएका नोट पढ्छन् विद्यार्थीहरू । कसैले कक्षामा नै दिएका नोट सार्छन्, कसैले सरहरूले दिएका नोटको फोटोकपी गरेर पढ्छन् । किताब बिक्दैन, नोटको फोटोकपी बिक्छ यहाँ।

हुन पनि वीरेन्द्रनगरलाई दिवंगत राजा वीरेन्द्र र ऐश्वर्यले फ्रान्सको सुन्दर राजधानी सहर पेरिस जस्तो बनाउन सकिन्छ भनेर विकसित गर्न खोजेका थिए रे । वीरेन्द्र राजा भएको अर्को वर्ष नै २०२९ सालमा नेपाल भ्रमणको क्रममा सुर्खेतको फेरो लगाएछन् हेलिकप्टरबाट र मोहित भएछन् । अनि चौहानचौरमा हेलिकप्टर उतारेर जनता भेटेछन् । विकास क्षेत्रको सदरमुकाम तोकेछन् । यसलाई पेरिस जस्तो व्यवस्थित बनाउने सपनासहित नगर योजनाका विज्ञ माधवभक्त माथेमाको नेतृत्वमा नगर योजना बनाउन लगाएछन् । उनले बनाएको योजनाअनुसार विकास गरिँदै गयो वीरेन्द्रनगरको, अनि नै त आज योजनाबद्ध तवरले विकसित भएको देखिएको छ। 

मानिस पनि पानीझैँ दख्खिन बग्छन् नेपालमा । अग्ला पहाडका मानिस बेसी, बेसीका अझ तल उपत्यका, उपत्यकाका तराई झर्छन् कोही एकै पटक उछिट्टिएर तराई पुग्छन् अग्ला पहाडबाट। कति त पहाडकै बजार सहरतिर अड्किन्छन् रहमा पानी तालिए झैँ । जेहोस् पहाड रित्तिँदो छ, दख्खिन र सहर भरिँदो छ नेपालमा। कर्णाली प्रदेशका सुर्खेत उत्तरका जिल्ला दैलेख, कालिकोट, जुम्ला, मुगु अनि हुम्लाका धेरै मानिसहरू दख्खिन बग्दै आएर वीरेन्द्रनगरमा तालिन्छन् खोलाको पानी जस्तै र तालिन नसकेकाहरू कोहलपुर, नेपालगञ्ज अनि बर्दियातिर छल्किँदा रहेछन् । त्यसैले त बग्दै गएर तालिने ठाउँ वीरेन्द्रनगर सर्वसम्मत राजधानी बन्यो कर्णाली प्रदेशको । तालिन पर्दा पनि ठूलो ताल बन्न सक्ने पनि देखियो सुर्खेतको वीरेन्द्रनगर । त्यस्सै निर्विकल्प नै प्रमाणित गर्दै राजधानी बनेको होइन वीरेन्द्रनगर कर्णाली प्रदेशको।

राम्रो र व्यवस्थित देखिएको वीरेन्द्रनगरमा के गर्नु भांग्राको टोपीमा गुयँलाको फूल बनेका छन्, एकदुई कुरा । मलाई यस्तो पोहोरताक तीन महिनाका लागि वीरेन्द्रनगर बस्दाखेरि लागेको हो । कोहलपुर र नेपालगञ्जबाट हप्ता वा महिनामा एक पटक आउने डाक्टरबाट बिरामीले मौका छोपेर जँचाउनुपर्छ भने सुर्खेतमा विशेषज्ञ डाक्टर छैनन् वा कम छन् भन्ने बुझ्न कुनै गाह्रो नै छैन । अथवा यो पनि हुन सक्छ– बिरामी त्यहाँको अस्पताल र डाक्टरको सेवामाथि विश्वास गर्दैनन् । वीरेन्द्रनगरमा नै क्षेत्रीय वा प्रादेशिक स्तरको अस्पताल छ, विस्तार गरिएको पनि छ तर विडम्बना त्यहाँका मानिसमा त्यति विश्वास जाग्न सकेको देखिनँ मैले, त्यसैले मैले भेटेका धेरै जना कोहलपुर वा नेपालगञ्ज जान्थे उपचार गर्न । मैले सोधेँ– किन यहीँको अस्पताल नजाने ? उनीहरू भन्थे– विश्वासयोग्य छैन अस्पताल । 
हुनत काठमाडौँकै वीर अस्पताल, शिक्षण अस्पतालजस्ता सार्वजनिक अस्पताल नजाने बिरामी कति छन्, त्यसकै आधारमा गुणस्तरबारे निष्कर्ष निकाल्नु उचित नहोला तर त्यहाँका बासिन्दा टाढाको कोहलपुर वा नेपालगञ्ज जानुपर्छ भने विश्वासिलो स्वास्थ्य सेवा पाउने भएको भए त त्यहीँ बिरामी जँचाउँथे होलान् ! ती पैसाले पोटिला वा सरकारी कोषबाट पैसा निकाल्न सक्ने नेता वा कर्मचारी जस्ता भाग्यमानी पनि थिएनन् । ती त दाँतबाट पैसा निकालेर गएका थिए । त्यहाँको स्वास्थ्य सेवा विश्वासिलो नहुनुको कारण हाल कार्यरत कर्मचारीको क्षमतामाथिको शंका नै थियो भन्ने होइन, विशेषज्ञ सेवा दिने चिकित्सक प्रायः हुन्नन् वा आवश्यक उपकरण छैनन् भन्ने आम मानिसको भुक्तभोगी सोचाइ यसको कारण हुन सक्छ। 

नेपाली उखान ‘बाघले खाए‘नि रोग लागेर मरे‘नि किलो रित्तै’ भनेझैँ जुनसुकै कारण भए पनि त्यहाँको अस्पतालमा उपलब्ध सेवा नलिएर अर्कोतिर दौडिनुको कारण विश्वासको कमी नै थियो । बिरामी लिएर अस्पताल गयो, डाक्टर छैनन्, सामान छैनन् भन्ने सम्भावना धेरै हुने देखेपछि बस पक्डेर कोहलपुर वा नेपालगञ्ज जानुमा नै कल्याण देख्नु स्वाभाविक नै हो ।

दोस्रो, लोकसेवा तयारी कक्षामय विज्ञापन एफएममा, त्यो पनि कनिष्ठ तहहरूका लागि! विज्ञापनमा भनिन्छ– लोकसेवा परीक्षा तयारीको कमान्डो कोर्स चलाइन्छ । के रहेछ यो कमान्डो कोर्स भनेको पहिले त बुझिनँ पनि । पछि एक एफएम स्टेसनलाई नै सोधेँ– के हो यो ? उत्तर पाएँ– थोरै दिनमा नै परीक्षा तयारी गराउने कोर्स । मैले सुझाव दिएँ– अंग्रेजीमा नै भन्ने हो भने पनि त्यस्तो कोर्सलाई ‘क्रास कोर्स’ भन्छन्, कमान्डो होइन। उत्तर थियो– विज्ञापनदाताले जसरी बोल भने, त्यही बोल्ने हो हामीले । ठानेँ– ठीक छ । शब्दको नयाँ अर्थ निस्केछ, के नै बिग्रियो र, शब्द प्रयोगको तात्पर्य अर्थ निस्कनुसम्म न हो । लोकसेवा तयारीमय एफएम विज्ञापन मात्र होइन रहेछ, किताब बेच्ने पसलहरू पनि रहेछन् । किताब पसलहरूमा अधिकांश किताब लोकसेवा परीक्षा तयारीसम्बन्धी हुँदा रहेछन्। 

अझ ताज्जुब त त्यसबेला लाग्यो, जब म मध्यपश्चिमाञ्चल विश्वविद्यालयको गेटबाहिर लहरै खोलिएका किताब पसलमा त्यहाँ अध्ययन, अध्यापन हुने विषयका उत्कृष्ट ठानिएका किताबहरू पाइएलान् भन्ने ठानेको थिएँ तर त्यहाँ पनि लोकसेवा तयारीका लागि सहयोगी किताबहरू नै थिए अधिकांश । मैले सोधेँ, किताब पसलेलाई– के यहाँ अध्ययन हुने विषयका किताब बिक्दैनन् र छैनन् तपाईंहरूसँग ? उत्तर थियो– सरले दिएका नोट पढ्छन् विद्यार्थीहरू । कसैले कक्षामा नै दिएका नोट सार्छन्, कसैले सरहरूले दिएका नोटको फोटोकपी गरेर पढ्छन् । किताब सितिमिती बिक्दैन, नोटको फोटोकपी बिक्छ यहाँ।

एक विश्वविद्यालय छ र त्यसको गेटमा लहरै रहेका किताब पसलमा कक्षा नोट मात्र बिक्छन्, सन्दर्भ पुस्तक त छाडौँ, कोर्सका किताब नै बिक्दैनन्, मात्र लोकसेवा तयारीका गाइड बुक मात्र बिक्छन् भने सहजै अनुमान लगाउन सकिन्छ, त्यहाँको शैक्षिक गुणस्तर कस्तो होला ? अनुमान गरौँ– एक स्नातकोत्तर गर्दै गरेको विद्यार्थी सरले दिएको नोट मात्र पढ्छ, खरिदार वा सुब्बा तहको परीक्षा तयारीमा अधिकांश मेहनत लगाउँछ भने उसको सपना कति अनि कसरी खुम्चियो र शैक्षिक गुणस्तर कति घट्यो। 

सबैजसो शिक्षित जनशक्ति आफैँ उद्यमी भई कृषि, उद्योग, व्यवसाय गर्छु भन्ने सपना देख्दैन, मात्र जागिर खोज्छ त्यो पनि अति सीमित सरकारी सेवाका लागि भने अर्थतन्त्र सबल हुन कठिन हुन्छ, अपार सम्भावना हुँदाहुँदै त्यो शिक्षित जनशक्तिमध्ये अति न्यून संख्या कम उत्पादनशील र सीमित पद हुने सरकारी सेवामा जान्छ, जान नसक्ने निराश हुँदै ऋणधन गरी अरब, मलेसिया भासिन्छ । 

न्यून शैक्षिक गुणस्तरका जनशक्ति निजी क्षेत्रमा हुने उच्च प्रतिस्पर्धाको अगाडि खुट्टा कमाउँछ । तसर्थ, शिक्षाको गुणस्तर सुधार्न र परिवेशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नमा विश्वविद्यालय नलाग्दासम्म प्रदेशको साँचो विकास हुन सक्दैन । मात्र लोकसेवाको कनिष्ठ पद ताकेर बस्ने जनशक्ति उत्पादन गरेर प्रदेश समुन्नत हुन सक्दैन । 

प्रदेश सरकार बनेको छ, स्थानीय सरकारले काम थालेको पनि एक वर्ष भैसक्यो । अब कर्णाली प्रदेशको विकास गर्ने हो भने एफएममा मलाई नमज्जा लागेका खालका विज्ञापन बज्न कम हुने खालको परिस्थिति बन्नुपर्छ– रोक लगाएर होइन, त्यस्ता विज्ञापनको बजार नै घटाएर । अर्थात्, प्रदेशका नै स्वास्थ्य संस्थाले गुणस्तरीय स्वास्थ्य सेवा दिए किन कोहलपुर र नेपालगञ्जका विशेषज्ञ डाक्टर आउनु पथ्र्या ?अनि शिक्षाको गुणस्तर बढे अनि निजी क्षेत्र फस्टाए किन लोकसेवा परीक्षा तयारीमय हुनुपथ्र्याे र ?

प्रदेशको राजधानी भइसकेको ठाउँमा स्वास्थ्य सेवाको दृष्टिकोणवाट सुधार गर्ने राम्रो उपाय हो– मेडिकल कलेजको सुरुआत । काठमाडौँ उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने भएपछि अब सुर्खेत एक राम्रो स्थानका रूपमा प्रदेश सरकारले निजी क्षेत्र आकर्षित गर्न सक्छ लगानीका लागि वा आफैँ खोल्न सक्छ । मेडिकल कलेजको अवधारणाबिना धेरै विषयका विशेषज्ञ वीरेन्द्रनगरमा टिकाउन मुस्किल पर्छ, तसर्थ पनि मेडिकल कलेज जरुरी छ । सुनिएको हो– प्रत्येक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने नीति सरकारको रहने भनेर । यो नीतिको कार्यान्वयन प्रदेश सरकारको पहल नभई सम्भव नै हुन्न। 

उच्च शिक्षामा गुणस्तर प्रसंगमा के बुझ्नु जरुरी छ भने आजसम्म सार्वजनिक शिक्षामा पहुँचका कुरा प्राथमिकतामा पर्ने गर्छन्, गुणस्तरका कम । गुणस्तरको कुरा नै भए पनि स्कुल तहको बढी, उच्च शिक्षाको कम । तर गुणस्तर बिनाको शिक्षाले अपेक्षित नतिजा खासै दिन्न । कर्णाली प्रदेश सात प्रदेशमध्ये नै सिकाइ उपलब्धिमा सबैभन्दा पछि परेको छ– तथ्यांकले भन्छ । एसइइ परीक्षाको नतिजाको आधारमा पोहर साल यो तथ्य सार्वजनिक भएको थियो । त्यहीँ विश्वविद्यालय खुले पनि उच्च शिक्षामा पनि गुणस्तर नाजुक रहेको लक्षणले नै देखाएका छन् । गुणस्तरीय उच्च शिक्षाबिना प्रदेशको विकास हुन सक्दैन । यसतर्फ  प्रदेश सरकारको ध्यान जानु अत्यन्त जरुरी छ, एक विश्वविद्यालय छ भन्दैमा पुग्दैन। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

Ncell Footer Ad