७ वैशाख २०८१ शुक्रबार
अर्थ

जापानबाट १८३ करोड अनुदान

काठमाडौं- जापान सरकारले नेपालको हवाई सुरक्षा तथा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग पनि उपलब्ध गराउने भएको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई जापानले उपलब्ध गराउने अन’दान सहयोग सम्बन्धी सम्झौतामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसीको उपस्थितिमा बुधबार हस्ताक्षर भएको हो।

सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले एक अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउने छ भने विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनाको लागि १ अर्ब ५१ करोड ८० लाखको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

जाइकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले १ अर्ब ५१ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने छ।

यस्तै, विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न ३१ करोड ३० लाख रुपैयाँ अनुदानस्वरुप प्रदान गर्नेछ। उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा काठमाडौंस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गरे।

सम्झौता हस्ताक्षरका अवसरमा राजदूत ओगावाले नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सचिव रेग्मीले नेपालको सामाजिक–आर्थिक विकासको लागी जापानले गरेको योगदानप्रति आभार प्रकट गरे।

यसैगरी, जापानका परराष्ट्र राज्यमन्त्री किसीसँग सिंहदरबारमा भएको भेटमा बुधबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनको दिशामा अघि बढेकाले जापानको निरन्तर सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरेका थिए।

काठमाडौं-नौबिसे सुरुङमा पनि सहयोग

काठमाडौं-नौबिसे सुरुङ मार्ग निर्माणमा सहयोग गर्न नेपाल सरकारले राखेको प्रस्तावमा जापानका एक मन्त्रीले सकारात्मक जवाफ दिएका छन्।

काठमाडौं भित्रिने यातायातलाई सहज बनाउन सरकारले काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसे जोड्ने अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको थियो।

प्रधानमन्त्री दाहालले जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसीसँगको भेटमा सुरुङ मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसको प्रतिउत्तरमा राज्यमन्त्री किसीले १८ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। करिब २.६ किलोमिटर लम्बाइ रहने उक्त सुरुङमार्ग निर्माणमा २० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) ले सुरुङमार्ग निर्माणमा इच्छा व्यक्त गरेको छ।

प्रकाशित: १६ भाद्र २०७३ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App