काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर मंगलबार नेपाल फर्किएका सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सका कप्तान श्रेयस ऐयरभन्दा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का राम्रो भएको बताएका छन् ।
‘अनुभव ठूलो कुरा हो,’ मंगलबार दिउँसो सवा चार बजे नेपाल उत्रिएका सन्दीपले त्रिभुवन विमानस्थालमा भने, ‘उहाँ(ऐयर) पनि राम्रो हो । त्यसमा कुनै शंका छैन । तर उहाँले भर्खरे कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो । क्रिकेटमा अनुभवले महत्व राख्छ । त्यसैले मैले पारसलाई नै माथि राख्नुपर्छ ।’
आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपले दिल्लीबाट लिग चरणका अन्तिम खेलमा मौका पाएका थिए । जहाँ उनले ३ खेलमा १२ ओभर बलिङ गर्दै ५ विकेट लिन सफल भए । रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्धको पहिलो र चेन्नई सुपरकिङ्सविरुद्धको दोस्रो खेलमा १-१ विकेट लिएका सन्दीपले लिगको अन्तिम खेलमा मुम्बई इन्डियन्सविरुद्ध महŒवपूर्ण तीन विकेट लिएका थिए । सन्दीपले आइपिएलजस्तो ठूलो प्रतियोगितामा सीधै मौका पाउनु गाह्रो हुने भन्दै आफूले मौका पाउँदा त्यसको सदुपयोग गरेको बताए ।
‘टोलीमा दुई सिनियर लेग स्पिनर थिए । एक जना टेस्ट खेलाडी र अर्को ब्याट्सम्यान र बलर । त्यस्तो अवस्थामा मेरो सम्भावना कम थियो,’ १७ वर्षे लेग स्पिनर सन्दीपले आइपिएल अनुभव सुनाए, ‘त्यति बेला मैले अर्को सिजनबारे सोचिरहेको थिएँ । तर दिल्ली चाँडै प्लेअफबाट आउट भएपछि मौका पायौं । त्यसमा राम्रो गर्न सफल भएँ । त्यसपछि अन्य खेलमा पनि अवसर मिल्यो । त्यस अवसरको मैले सदुपयोग गरेँ ।’
‘यो एक अविस्मरणीय यात्रा रह्यो । धेरै कुरा सिक्ने मौका पाएँ । र अझै धेरै सिक्न बाँकी छ । धेरै कुरा सिक्नका लागि राम्रो अवसर थियो यो । त्यसको मैले सदुपयोग गरेजस्तो लाग्छ । अर्को सिजन मलगायत अन्य नेपाली खेलाडीलाई पनि त्यहाँ देख्न पाइयोस् ।’
आइपिएल विश्वभरका क्रिकेट खेलाडीको प्राथमिकतामा हुन्छ । बामे सर्न लागेको नेपाली क्रिकेट खेलाडीका लागि त आइपिएल सपनाजस्तै हुन्छ । छोटो समयमै विश्वकै सबैभन्दा ठूलो घरेलु ट्वान्टी–२० लिग खेलेका सन्दीपले भारत बसाइबारे थपे, ‘यो एक अविस्मरणीय यात्रा रह्यो । धेरै कुरा सिक्ने मौका पाएँ । र अझै धेरै सिक्न बाँकी छ । धेरै कुरा सिक्नका लागि राम्रो अवसर थियो यो । त्यसको मैले सदुपयोग गरेजस्तो लाग्छ । अर्को सिजन मलगायत अन्य नेपाली खेलाडीलाई पनि त्यहाँ देख्न पाइयोस् ।’
सन्दीपलले आइपिएल खेलिरहेकै अवस्थामा क्रिकेटको सर्वोच्च निकाय आइसिसीले उनलाई विश्व ११ मा समावेश गरेको थियो । वेस्ट इन्डिजविरुद्ध जेठ १७ गते इङ्ल्यान्डको लडर््समा हुने ट्वान्टी–२० खेलका लागि आइसिसीले सन्दीपलाई आइसिसी विश्व ११ को टोलीमा समावेश गरेको हो । बंगलादेशका साकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दीपले मौका पाएका हुन् । विश्व ११ टोलीमा सन्दीपसँगै इयोन मोर्गान (कप्तान), साहिद अफ्रिदी, तमिम इकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनघन, सोएब मलिक, हार्दिक पाण्डेय, थिसरा परेरा र ल्युक रोन्ची रहेका छन् । सन्दीपले विश्व ११ को अर्को एउटा राम्रो मौका भएको भन्दै लडर््समा नेपालको शिर ठाडो बनाउने काम गर्ने बताए । उनले थपे, ‘लर्ड्समा खेल्न पाएँ भने आफूलाई प्रमाणित गर्ने प्रयास गर्नेछु । जसरी हुन्छ नेपाललाई गर्व हुने काम गर्नेछु ।’
सन्दीपले एसोसिएट स्तरमा क्रिकेट खेल्दा आइपिएलमा खेल्दाको अनुभवमा केही फरक भएको बताए । तथापि उनले विश्वकै आक्रामक ब्याट्सम्यान दक्षिण अफिकाका एबी डी भिलियर्स र विराट कोहलीविरुद्ध बलिङ गर्दा सामान्य अनुभव रहेको बताए । ‘त्यति बेला म पनि आफूलाई राम्रो गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ’, ‘वेङ्लोरविरुद्धको पहिलो खेलबारे सन्दीपले भने, ‘त्यस्तो बेला नामसँग खेल्यो भने आफू डाउन भइन्छ । म पनि यहाँ खेलिरहेको छु भने यो स्तरमा खेल्न डिजर्भ गर्छु भन्ने सोचिरहेको थिएँ ।’
नेपालले भर्खरै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको विषय उठाउँदै सन्दीपले घरेलु क्रिकेटको संरचना राम्रो हुनुपर्नेमा जोड दिए । क्रिकेट पदाधिकारीमाथि जिम्मेवारी थपिएको भन्दै सन्दीपले थपे, ‘नेपालले एकदिवसीय मान्यता पाएको छ । त्यसलाई भरपुग सदुपयोग गर्नुपर्छ । त्यसका लागि यहाँको घरेलु संचरना राम्रो बनाउनुपर्छ । नेपालमा प्रतिभावान् खेलाडी धेरै छन् । यहाँको क्रिकेट संरचना राम्रो भयो भने राम्रा खेलाडी उत्पादन हुन्छन् । नेपाल क्रिकेट संघसँग जोडिनुभएका पदाधिकारीले जिम्मेवारी लिनुपर्छ । नेपाली क्रिकेट पनि धेरै माथि पुग्न सक्छ।’
प्रकाशित: ९ जेष्ठ २०७५ ०३:३२ बुधबार