८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौं’

सोल– पछिल्लो समय स्थगित भएको उत्तर कोरियासँगको वार्ता हुनेमा आफू ९९.९ प्रतिशतसम्म आशावादी रहेको दक्षिण कोरियाले बताएको छ ।‘हामी उत्तर कोरियाप्रति विश्वस्त छौं, त्यसैले हामीलाई लाग्छ आगामी उच्च सम्मेलन हुनेमा हामी ९९.९ प्रतिशत आशावादी छौं,’ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

उत्तर कोरियासँग विकसित भएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि दक्षिण कोरियाको राजधानी सोलमा सम्वाददातासँग कुराकानी गर्दै सल्लाहकार चुङले भने, ‘अझै केही बिग्रिएको छैन, उत्तर कोरियासँग आगामी दिनमा वार्ता हुन्छ ।’ उनले अमेरिका र उत्तर कोरियाबीच पनि वार्ता हुने बताएका छन् । ‘हामीले सबै तयारी गरिरहेका छौं । हाम्रो र उत्तर कोरियाबीचको शिखर बैठक र अमेरिका–उत्तर कोरिया शिखर बैठक दुवै हुन्छ,’ उनले बताए ।

दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच दिनभर भएको वार्तापछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठक बसिरहेकै बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि प्योङयाङ आक्रोशित भएको छ । उसले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास बन्द गरिनुपर्ने माग गर्दै दुई कोरियाबीच प्रायःहुने गरेका द्विपक्षीय बैठक ठप्प पारेको छ । गत बुधबार बस्ने भनिएको उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीको बैठक अझै बस्न सकेको छैन।

दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फी रूपमा उक्त बैठक स्थगित गरेको थियो । उत्तर कोरियाले उक्त संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न आग्रह गरिरहेको छ । उता त्यतिमात्र नभएर उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनीसमेत उत्तर कोरियाले दिएको छ । उसले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास हस्तक्षेपका लागि भएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ ।उत्तर कोरियाको यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले भने आफ्नो तर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बल्टनले उत्तर कोरियामा लिबियाली मोडल ठिक हुने विचार राखेपछि प्योङयाङ थप आक्रोशित भएको थियो । लिबियाली मोडललाई प्योङयाङले सत्ता परिवर्तनका रूपमा बुझेको बिबिसीले उल्लेख गरेको छ । तर पछि अमेरिकी राष्ट्रपति मुनले आफूले उत्तर कोरियामा लिबियाली मोडल नखोजेको प्रष्ट पारेका थिए ।
ट्रम्प र मुनबीच वार्ता हुने

अमेरिका र उत्तर कोरियाबीच हुन तय भएको शिखर वार्ताको अनिश्चिताकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच वासिङ्टनमा वार्ता हुने भएको छ ।एकतर्फी रूपमा आफ्नो आणविक कार्यक्रम त्याग्न दबाब दिइए अमेरिकासँग हुने शिखर वार्ता रद्द गर्न सक्ने उत्तर कोरियाले गत साता चेतावनी दिएपछिको विकिसित घटनाक्रमबारे छलफल गर्न ट्रम्प र मुनबीच भेटवार्ता हुन लागेको बिबिसीले जनाएको छ ।

उत्तर कोरियालाई लिएर अमेरिकी अधिकारीहरुले पछिल्लो समय गरिरहेको आलोचनालाई मत्थर पार्न मुनले प्रयास गर्ने पर्यवेक्षकहरुले अनुमान गरेका छन् । ‘वार्तामा मुनले ट्रम्पलाई किमसँग के अपेक्षा गर्ने र के नगर्ने भन्नेबारे बताउने अपेक्षा गरिएको छ,’ राष्ट्रपतिका एक उच्च अधिकारीलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

‘ट्रम्पसँग नखेल’

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँगको भेटवार्ता अघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाली नेता किम जोङ–उनलाई ट्रम्पसँग नखेल्न चेतावनी दिएका छन् । उनले अर्को महिना यदि दुई जनाबीच बैठक भयो भने किमलाई ट्रम्पविरुद्ध नखेल्न चेतावनी दिएको बिबिसीले जनाएको छ । उनले किमको त्यस्तो कदम ठूलो गल्ती हुनेसमेत बताएका छन् ।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App