८ वैशाख २०८१ शनिबार
अर्थ

पूर्वी नेपाल र सिक्किमबीच पर्यटन सम्बन्ध स्थापित गर्न पहल

खोटाङ– इस्ट टुरिजम मार्ट–२०१८ को तयारीमा जुटेका पूर्वका पर्यटन व्यवसायीले भारतको सिक्किमसँग पर्यटन सम्बन्ध स्थापित गर्ने पहल थालेका छन् । आगामी जेठ २४ देखि २६ गतेसम्म धरानमा हुने इस्ट टुरिजम मार्टलाई सहभागीमुलक र फलदायी बनाउन सिक्किम पुगेका बेला पूर्वका पर्यटन व्यवसायीले ट्राभल एजेन्ट्सएसन अफ सिक्किम (तास)सँगको सहकार्यमा द्विदेशीय सीमा सर्किटको प्रयास थालेका हुन्।

सिक्किम आउने पर्यटकलाई नेपाल ल्याउने र नेपालमा आएका पर्यटकलाई सिक्किम पुर्याउने लक्ष्यसहित आउँदो बिहीबार सिक्किममा ट्राभल एजेन्ट्स एसोसिएसन अफ सिक्किमसँग सीमा सर्किटको सम्भावनाबारे छलफल गर्ने तयारी गरिएको इस्ट टुरिजम मार्टको बजारीकरणका लागि सिक्किम पुगेकी धरान पर्यटन समितिकी सदस्य एलिना मगरले बताइन्।

पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच राज्यस्तरबाट बुद्ध सर्किट र अयोध्या सर्किटको अभ्यास भइरहेका बेला पूर्वी नेपालका पर्यटन व्यवसायीले सीमा सर्किटको प्रयास थालेको जनाएको छ । गर्मीका बेला सिक्किममा घुइँचो लाग्ने पर्यटकको बसाइ लम्ब्याउन नेपाल ल्याउन उपयुक्त हुने तथा जाडो अर्थात अफ सिजनका बेला नेपालका पर्यटक सिक्किम लैजान सकिने भएकाले सीमा सर्किटको अवधारणा अघि सारिएको हो।

इस्ट टुरिजम मार्टको बजारीकरणका लागि मेची र कोसीका पर्यटन व्यवसायीको टोली सोमबार सिक्किमतर्फ जाँदैछ । भारत बिहारका तीन सहर र बंगालका दुई सहरमा मार्टको बजारीकरण गरेपछि सिक्किम पुग्ने टोलीले गान्तोकमा हुने कार्यक्रममा पर्यटन मन्त्री र गान्तोक नगरपालिकाका मेयरको सहभागीतामा सीमा सर्किटको सम्भावनाबारे छलफल गर्ने तयारी गरेको छ । ‘दुवै देशका व्यवसायीले सिक्किममा सीमा सर्किटको प्याकेज लञ्च गर्दैछौं,’ मगरले भनिन्, ‘कार्यक्रमका लागि सिक्किमका पर्यटन मन्त्री र गान्तोक नगरपालिकाका मेयरलाई पनि निमन्त्रणा गरेका छौं ।’

नेपालको उत्तरपूर्वी सिमाना र सिक्किमको उत्तर पश्चिम सिमाना जोडिएकाले नेपालको धरान, इलाम, ताप्लेजुङ लगायत पर्यटकीय गन्तव्यले सीमा सर्किटबाट लाभ पाउन सक्ने मार्ट आयोजक समितिका अध्यक्ष भविष श्रेष्ठले बताए । पूर्वी नेपालको पर्यटन व्यवसाय प्रवद्र्धन र विकासका लागि पूर्वका पर्यटन व्यवसायीले इस्ट टुरिजम मार्ट आयोजना गरेको हो । मार्टमा प्रदेश १ का १४ जिल्लाका व्यवसायीलाई सहभागिताका लागि आग्रह गर्दै विभिन्न ठाउँमा समन्वय र प्रचारात्मक यात्रा जारी रहेको इस्ट टुरिजम मार्ट आयोजक समितिका कोषाध्यक्ष बासुदेव बरालले बताए।

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App