१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अदुवा निर्यात समस्यामा सरकार बेखबर

झापा- मिसावटको कारण देखाउँदै भारतले नेपाली अदुवा निर्यातमा लगाएको प्रतिबन्धबारे सरकारले अनभिज्ञता दर्शाएको छ। मुलुकका प्रमुख भन्सार नाकाहरुबाट अदुवा भारत जान नसकेको साताभन्दा बढी समय भइसक्दासमेत सरकार भने 'यसबारे आधिकारिक जानकारी नआएको' भन्दै ढुक्कले बसेको छ।

अदुवा अलैँचीपछि अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक निर्यात हुने कृषि उत्पादन हो। तर, मुलुकको निर्यात व्यापारबारे सम्पूर्ण जानकारी राख्नुपर्ने वाणिज्य मन्त्रालय नै अदुवाको समस्याबारे पूर्णतः बेखबर छ। 'मैले पनि आजैमात्रै सुन्दैछु,' वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले नागरिकसँग फोनमा भने, 'त्यसरी अदुवा नरोक्नुपर्ने हो। हामीलाई कतैबाट पनि आधिकारिक जानकारी आएको छैन।' बुधबार दिउँसोको एउटा बैठकमा कृषि मन्त्रालयका अधिकारीले यसबारे सामान्य जानकारी दिएको तर त्यसबारे विस्तृत कुराकानी नभएको सहसचिव सैंजुले बताए। 'अब विस्तृत कुरा बु‰ने काम हुनेछ,' उनले भने 'दूतावाससँग पनि कुरा गर्नुपर्ने भए गरिनेछ।'

सरकारले 'कतैबाट जानकारी नआएको' बताएको अदुवाको समस्या सुरु भएको साता नाघिसकेको छ। नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अनुसार वीरगन्ज, विराटनगर लगायत प्रमुख भन्सार नाकाबाट अदुवा निर्यात ठप्प भएको साताभन्दा बढी समय भइसकेको छ। अन्य नाकाबाट निकासी बन्द भए पनि काँकडभिट्टा नाकाबाट अदुवा भारतीय बजारतिर गइरहेको थियो। तर, यो नाकाबाट पनि निर्यात रोकिएको दुई दिन भइसकेको छ। मंगलबारदेखि अदुवा भारत जान रोकिएको नाकाबाट बुधबार पनि अदुवाको कुनै ट्रक पारी जान सकेनन्।  किसानले माउ निकालेर बजार पठाउने सिजन अहिले चलिरहेको छ। मुख्य सिजनमा दिनहुँ दर्जनौं ट्रकमा भारतीय बजार जाने अदुवा नेपालमै रोकिँदा बिग्रने र कुहिने त्रास उच्च भएको छ। नेपालका प्रमुख कृषि उत्पादनहरु अदुवा, अलैंची, अम्लिसो तथा चियाको प्रमुख बजार भारत नै हो।

वाणिज्य मन्त्रालयले कृषि वस्तुको आयात निर्यातमा रोक लगाउन नमिल्ने तर क्वारेन्टाइन प्रक्रिया भने पूरा गर्नुपर्ने जनाएको छ। त्यस क्रममा केही समस्या देखिए रोकिन सक्ने मन्त्रालयको भनाइ छ। भारतीय पक्षले पनि त्यही हतियार प्रयोग गरेर अदुवा आयात रोकेको छ। यद्यपि अदुवाको आयात आधिकारिक रुपमा रोक्ने निर्णय चाहिँ उसले गरेको छैन। नेपाली उत्पादनमा 'चिनियाँ अदुवा मिसावट भएको र त्यसमा घातक विषादी भेटिएको' भारतीय दाबी छ। नेपाली निर्यातकर्ता भने भारतले आफ्नै उत्पादनको बजार विस्तारका लागि नेपाली अदुवामा खोट देखाएको बताउँछन्।

निर्यात व्यापारका विज्ञहरुले अदुवा निर्यातमा भारतले लगाएको प्रतिबन्धले नेपाली कृषि वस्तुको अन्तर्राष्ट्रिय बजारसम्मको पहुँचलाई अनिश्चित बनाइदिने भन्दै चिन्ता व्यक्त गरेका छन्। 'द्विपक्षीय वाणिज्य सन्धि अनुसार कृषि वस्तुमा यसरी रोक लगाउन मिल्दैन,' वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाले भने, 'यसले हाम्रो कृषि वस्तुको बजारसम्मको पहुँचलाई अनिश्चिततातिर धकेल्छ। यो खतरानाक छ।' भारतीय पक्षले नेपाली अदुवामा मिसावट भएको आरोप लगाइरहेका बेला ओझाले भने त्यसप्रति आपत्ति प्रकट गरेका छन्। 'चिनियाँ अदुवा नै हो भनेर कसरी प्रमाणित हुन्छ?' उनले भने, 'अनुमानका भरमा पहिले पनि यस्तो काम भएको थियो। अनुमानका भरमा कृषि वस्तु रोक्न मिल्दैन।'

अदुवाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा समेत सक्रिय रहेका पूर्वसचिव ओझाले नेपालले वैकल्पिक बजार खोज्न ढिला गर्दा पनि यस्तो समस्या आइरहने उल्लेख गरे। उत्पादनकै पनि विविधीकरण जरुरी भइसकेको उनको ठहर छ। 'हामीले अहिलेसम्म कच्चा अदुवा भारत मात्रै पठाइरहेका छौं,' उनले थपे 'मुलुकभित्रै प्रशोधन गरेर अन्य स्वरुपमा पठाउने चेष्टा नै गरेका छैनौं। भारतबाहेक अरु बजार पनि देखेकै छैनौं। त्यसो हुँदा समस्या आइरहन्छ।' एक दिनमात्रै पनि खदुवा बजारमा पुग्न नसक्दा बिग्रिने–नासिने खतरा हुने औंल्याउँदै उनले लामो समय अदुवा थन्किने स्थितिले ठूलो क्षति निम्त्याउने बताए। 'सरकारले तत्कालै उच्चस्तरीय पहल गरेर अदुवा निर्यात खुलाउनुपर्छ,' उनले भने। तर, उनले भने जस्तो पहल गर्ने अवस्थामा सरकार छैन। सरकार यसबारे 'आधिकारिक जानकारी' पर्खेर बसेको छ।

नेपाल–भारत वाणिज्य सन्धिमा कृषि वस्तुको आयात–निर्यात सहज बनाउनुपर्ने, भन्सार शुल्क छुटमा आवतजावत हुन दिनुपर्ने प्रावधान भए पनि भारतको केन्द्रीय   खाद्य विभागले नेपालसँग नाका जोडिएका सबै मातहत निकायलाई साताअघि नै पत्राचार गरी नेपालबाट भारत भित्रिने अदुवामा 'मिसावट रहेको' जनाउ दिएको थियो। लगत्तै भारतीय भन्सारले नेपाली अदुवा भारतीय बजारमा नल्याउन नेपाली पक्षलाई भनेको थियो। सोही अनुसार अदुवाको यताबाट लैजान रोकिएको हो। यसबारे नेपाली भन्सार पनि बेखबर नै छ। 'हामीलाई पनि भारतीय पक्षले केही भनेको छैन,' मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने 'निर्यातकर्ताले आएर समस्या चाहिँ सुनाउनुभएको छ। अदुवाको ट्रक आयो भने हामी चाहिँ तत्कालै प्रक्रिया पूरा गरेर पठाउँछौं।'

तर, मुख्य बजारले नल्याउन भनेपछि उत्पादन घरघरै थन्क्याउनुको विकल्प नभएको अदुवा उत्पादक तथा व्यवसायी संघका महाससिचव इन्द्र बुढाथोकी बताउँछन्। 'अहिले किसानले धमाधम माउ निकालेर बजार पठाउन ठिक्क पारेको बेला छ,' उनले भने, 'यही बेला लगाइएको रोकले गम्भीर समस्या आएको छ। सरकारले चाँडै समस्या समाधानको पहल गरिदिने आशामा हामी छौं।'

अदुवा नेपालका हजारौं किसानको आयआर्जनको भरपर्दो माध्यम हो। मेची अञ्चलका चार जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै ३ हजार ७ सय ७० हेक्टरभन्दा बढी जमिनमा अदुवा खेती छ। ती चार जिल्लाको वार्षिक उत्पादन दर सरदर ५५ हजार ४० मेटि्रक टन छ। नेपालमा उत्पादन हुने अदुवामा ३१ प्रतिशत पूर्वका जिल्लाको योगदान छ।

प्रकाशित: १६ भाद्र २०७३ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App