६ वैशाख २०८१ बिहीबार
अर्थ

तटबन्ध निर्माणमा स्थानीय तहको भर

तस्बिर :मदन ठाकुर/रौतहट

रौतहट - गत वर्ष साउनमा आएको भीषण बाढीले बागमती र लालबकैया नदीको तटबन्ध दुई दर्जनभन्दा बढी ठाउँमा भत्कायो । फेरि बाढी आउने समय आउन लाग्दा पनि भत्किएको तटबन्ध बनाउन सरकारले चासो देखाएको छैन।

सरकारको लापरबाहीका कारण स्थानीय तहले आफ्नै बजेटबाट तटबन्ध मर्मतसम्भार सुरु गरेको छ । गाउँ नै बगाउने खतरा रहेकाले स्थानीय तहले गाउँको सानोतिनो विकास योजनाको रकम कटौती गरेर उक्त तटबन्ध निर्माण गर्न लागेको हो।

जिल्लाको पूर्वमा बागमती र पश्चिममा लालबकैया नदीले गत नौ महिनाअघि ३१ स्थानमा बाँध भत्काएर जनधनको ठूलो क्षति भए पनि हालसम्म सम्बन्धित निकायले मर्मतसम्भार गर्नेतर्फ पहल गरेको छैन । सर्लाही र रौतहटका लाखौं नागरिक जोखिममा शीर्षकमा नागरिक दैनिकले समाचार प्रकाशित गरेपछि रौतहटको परोहा नगरपालिकाले लालबकैया नदीको तटबन्ध मर्मत गर्न थालेको हो । स्थानीय बजेटबाट नै परोहा नगर क्षेत्रपभित्र पर्ने तटबन्धको मर्मतसम्भार सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

गत साउन २७ गते आएको ठूलो विनाशकारी बाढीबाट परोहा नगरपालिकाको तेजापाकड लगायत अन्य स्थानका बाध पनि क्षतिग्रस्त भई धनजनको ठूलो क्षति भएको तर जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालयले समयमा बाध मर्मतसम्भार गराउन नसकेका बेला सम्भावित बाढीको जोखिमबाट जोगाउन मर्मतसम्भार सुरु गरिएको नेपाल नगरपालिका संघ प्रदेश २ का सभापति तथा परोहा नगरपालिकाका मेयर शेख वकिलले बताए ।बकैया नदीको बाढीबाट तेजापाकडमा भत्काइएको बाध मर्मत गर्न नदी नियन्त्रण कार्यालयबाट कुनै किसिमको जिम्मेवारी बोध नहुँदा स्थानीय ठूलो समस्यामा परेकाले स्थानीय निकायको बजेटबाटै क्षतिग्रस्त बाध मर्मत गर्न थालिएको मेयर वकिलले जानकारी दिए ।

लालबकैया खोलाको पानीले सयौं बिघा कृषियोग्य जमिन कटान र दर्जनौं गाउँ डुबानमा पर्दै आइरहेकामा यसबाट बचाउन बकैया नदीमा वर्षायामअगावै भत्केका बाध मर्मत गरिएको उनले बताए । कृषियोग्य जमिन कटान रोक्नका लागि बाँध भत्किन नदिन स्पर बनाइने र यसका लागि जलउत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन नम्बर ३ को कार्यालय परवानीपुरसँग समन्वय गरिने मेयर वकिलले बताए।

लालबकैया नदीको पश्चिमी एवं पूर्वीतर्फ गरी २२ स्थानमा तथा बागमतीको पश्चिमी एवं पूर्वमा गरी नौ स्थानका बाँध भत्किएका छन् । बजेट अभावमा वर्षाअघि मर्मत गर्न नसकिएकाले यो वर्ष पनि लाखौं सर्वसाधारण प्रभावित हुने भएकाले छिटो मर्मतसम्भार गर्नुपर्ने नागरिक समाजका सचिव विजय किशोर झाको भनाइ छ । ३१ स्थानमा भत्किएको बाँध मर्मत गर्न सबै स्थानीय तह जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै जनतालाई सम्भावित विपदबाट जोगाउनु प्रमुख कर्तब्य रहेको सचिव झाको तर्क छ ।

हालै भारत सरकारले बागमती, लालबकैया र कमला नदीको तटबन्ध निर्माण र बाढी नियन्त्रणसम्बधी तालिम दिन नेपाल सरकारलाई १८ करोड रुपैयाँ उपलब्ध गराएको भए पनि सरकारी प्रक्रिया ढिलो सुरु हुने हुँदा आउँदो वर्षायामसम्म मर्मत गर्न असम्भव भएकाले स्थानीय तहले आफैं मर्मत कार्य सुरु गरेको मेयर वकिलको भनाइ छ ।
रौतहटको परोहा नगरपालिकाको प्रयासमा लालबकैयाको तेजापाकडमा भत्किएका बाँध मर्मत गरिँदै ।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App