७ वैशाख २०८१ शुक्रबार
अर्थ

थानकोट डिपोमा लकिङ्ग सिस्टम सुरु

काठमाडौं- नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले टैंकट्यांक लकिङ्ग प्रणाली आन्तरिक सुधारको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताएका छन्।

मंगलबार थानकोट डिपोमा टैंकट्यांक लकिङ्ग प्रणालीको शुभारम्भ गर्दै भट्टराईले ढुवानीमा सुधारका लागि यो महत्वपूर्ण रहेको बताए। 

‘हामीले झापा (सिलगुढी), वेतालपुर, गोण्डा र रक्सौल डिपोबाट लकिङ्ग सिस्टम सुरु गर्यौं। रक्सौलसँग जोडिएका अम्लेखगञ्ज र पोखरामा पनि सुरु भइसकेको छ। आजबाट राजधानीका लागि महत्वपूर्ण थानकोट डिपोमा यो सुरु भएको छ’, उनले भने– ‘लकिङ्ग भनेको स्थायी प्रकृतिको सील लगाउने प्रविधि हो। यसले ढुवानीलाई भरपर्दाे र विश्वासिलो बनाउनेछ।’

निर्देशक भट्टराईले ढुवानीमा सुधारका लागि वैज्ञानिक र समयानुकुल परिवर्तन गर्न निगम तयार रहेको स्पष्ट पारे। तर, लकिङ्ग सिस्टमलाई असफल बनाउने दुस्साहस नगर्न व्यवसायीलाई चेतावनी समेत दिए। ‘आम उपभोक्तालाई असर पार्नेगरी कार्यक्रम भएमा निगमलाई स्वीकार्य हुँदैन्’, उनले भने। 

पूर्वाग्रह राख्ने कर्मचारीलाई कारवाही र झुक्याउने तथा फटाई गर्ने व्यवसायीलाई नछोडिने उनको भनाई छ। उनले निगम र डिपोको विक्री मूल्य समान रहेको जानकारी गराउँदै भने– ‘विक्रेताले तोकिएकोभन्दा बढी मूल्य लिएको पाइएमा कारवाही हुन्छ। यो हाम्रो देशमा उत्पादन हुने पनि होइन, बाहिरबाट ल्याउनुपर्छ। एक दिनपनि आयात नहुँदा  विभिन्न समस्या आउँछ। त्यसमा पनि मूल्य आइओसी (इण्डियन आयल कर्पाेरेशन)ले बढाए बढाउँछौं, घटाए घटाउँछौं।’

निगम नाफाभन्दा पनि उपभोक्ताको आवश्यकता परिपूर्तिमा केन्द्रीत रहेको बताउँदै सहि परिमाण र गुणस्तर आफूहरुको मुख्य लक्ष्य भएको बताए।

कार्यक्रममा रक्सौलबाट थानकोट डिपो आइपुगेका ३ लोडेड ट्यांकरमा रिबन काटेर लकिङ्ग सिस्टमको शुभारम्भ गरिएको थियो। इण्डियन आयल कर्पाेरेशनका उच्च पदाधिकारी उपस्थित समारोहमा पेट्रोलियम व्यवसायी, ढुवानी व्यवसायी र मजदुरले लकिङ्ग सिस्टमको स्वागत गरेका थिए। 

प्रकाशित: ८ जेष्ठ २०७५ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App