७ वैशाख २०८१ शुक्रबार
समाज

अदालतलाई गुमराहमा राख्ने गोपाल खड्काको प्रयास

सुनुवाई रोक्न गाेपाल खड्काले दिएको निवेदन र इजलासको आदेश ।

काठमाण्डाै‌ं– नागरिक दैनिक विरुद्ध रु ८० करोडको मागदावी सहित गाली बेइज्जती मुद्दा हालेका तत्कालिन नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेका छन्।

काठमाडौ जिल्ला अदालतमा सुनुवाईका लागि तोकिएको पेशी पटक पटक सार्दै आएका खड्काले सोमबारको पेशीमा न्यायाधीश कैलाशप्रसाद सुवेदीसँग नागरिक दैनिकका सञ्चालकहरुको नाता रहेको बुझिन आएको भन्ने निवेदन दिई सुवेदीलाई सो मुद्दा नहेर्न भिन्न खालको प्रपञ्च रचेका छन्।

आफ्ना वारेस मोतीलाल तामाङ मार्फत अदालतमा सोमवार दर्ता भएको निवेदनमा खड्काले ‘विपक्षीहरुसँग न्यायाधीश कैलाश प्रसाद सुवेदीसँग नाता रहेको र नाता पर्ने व्यक्तिको मुद्दा सुनुवाई गर्दा मुद्दामा निष्पक्षताको अभाव हुने’ भन्दै सुवेदी वाहेकको इजलासबाट मुद्दा सुनुवाई गराउन निवेदन दिएका हुन् ।  

न्यायाधीश सुवेदीले आफ्नो कुनै नाता सम्बन्ध नभएको स्पष्ट पारे पनि खड्काका कानुन व्यवसायी अरुण ज्ञवालीले मुलुकी ऐन, अदालती बन्दोबस्तको ३० नं. भित्रको नाता नभएपनि टाढाको नाता पर्ने र आफ्नो पक्ष सो इजलासमा मुद्दाको सुनुवाई गर्न तयार नभएकोले निवेदन दिनुपरेको बताए । गोपाल खड्का र उनका वकिलहरुले न्यायाधीश र नागरिक दैनिकका सञ्चालकबीच के नाता पर्ने हो उल्लेख गरेका छैनन् ।

‘श्रीमान (न्यायाधीश सुवेदी)सँग टाढाको नाता पर्ने बुझिन आएको छ । कानुनले रोकेको नाता नपरेपनि मेरो पक्षलाई निष्पक्ष सुनुवाईको आशंका भएकाले यो निवेदन पेश गरेका छौ,’ ज्ञवालीले इजलासमा भने, ‘यदि श्रीमानले बहस सुन्ने हो भने हामी बहसमा भाग लिदैनौं।’

त्यसपछि न्यायाधीश सुवेदीको इजलासबाट खड्कालाई न्यायाधीश र नागरिक दैनिकका सञ्चालकबीचको नाता सम्बन्ध पुष्ट्याँई गर्न ओदश भएको छ ।  

मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ३० नं. ले आफ्नो हाडमा अपुताली परे खान पाउने नाता र मामा माइजु, सानी ठूली आमा, सानो ठूलो बाबु, सासु ससुरा फुपु फुपाजु, जेठु साला मित आफ्ना दिदीबहिनी र छोरी र यिनै दिएका ज्वाईं भानिज भान्जी, भान्जी बुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरु गुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका र नोकर चाकर र लेखिएका मानिसको एकाघरसँग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुदैन भन्ने व्यवस्था छ ।   

नेपाल आयल निगममा भएको भ्रष्टाचारको नियमित रुपमा खोजी समाचार प्रकाशन गरेपछि खड्काले असी करोड रुपैयाँको दाबीसहित नागरिक दैनिक विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।

नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँँटेल र संवाददाता दिलीप पौडेलबाट खड्काले जनही रु.बीस करोडको क्षतिपूर्ति दावी गरेका छन्  । त्यसपछि नागरिक दैनिकले पनि खड्काले झूठो मुद्दा दायर गरी क्षति गरेकाले एक अर्ब पचास करोड रुपैयाँ बराबरको क्षतिपूर्ति भराइमाग्ने प्रतिदावी गरेको छ । यसैगरी खड्काले नागरिक दैनिकका प्रबन्ध निर्देशक ज्ञवालीमाथि गाली बेइज्जती हुनेगरी संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा दिएको अभिव्यक्तिका विरुद्धमा समेत दायर भएको गालीबेइज्जती मुद्दा सोही इजलासमा विचाराधिन छ ।

खड्काले नागरिक तथा रिपब्लिका दैनिकमा आयल निगममा भएको भ्रष्टाचार तथा अनियमितताको श्रृखलाबद्ध रुपमा खोजपूर्ण समाचार प्रकाशित भएपछि हतास भएर प्रकाशनको मुखै थुन्ने उद्देश्यले २०७४ भदौ १ मा अदालतमा मुद्दा हालेका थिए ।

नागरिकको तर्फबाट दर्ता भएको प्रतिउत्तर पत्रमा ऐनको दफा १० बमोजिम गैर कानुनी रुपमा आफूहरुउपर खति पुर्याउने नियतले झूठा दावी गरेउपर हदैसम्म जरिवाना गरी आफ्नो ठूलो लगानीको सयौं व्यक्तिको परिश्रम, मर्यादा र इज्जतमा सञ्चालित देशैभर पुग्ने प्रकाशनलाई प्रभावित गर्ने मनसायले दायर भएको मुद्दा खारेज गर्न माग गरिएको छ ।
सरकारी स्वामित्वको संस्थानमा राष्ट्र सेवकको हैसियतमा रहेको व्यक्तिले निजको नेतृत्वको संस्थानमा भइरहेको गतिविधि तथा कामकारबाहीको विषय जनप्रतिधिमूलक संसद, संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीका आधारमा समाचार प्रकाशित भएकाले आफूले खड्काको गालीबेइज्जती नगरेको दावी पनि नागरिक दैनिकले पेश गरेको प्रतिउत्तरपत्रमा उल्लेख छ ।

संसदीय समितिको प्रतिवेदनका आधारमा आयल निगमको भ्रष्टाचारको विषयमा नागरिकले समाचार प्रकाशित गरेको थियो । हालै प्रकाशित महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा खड्काको भ्रष्टाचार औंल्याइएको छ । यसैबीच खड्काले दायर गरेको मुद्दामा दर्जनौ कानुन व्यवसायीले नागरिक दैनिकको पक्षबाट बहस गर्ने वकालतनामा पेश भइसकेको छ ।

प्रकाशित: ८ जेष्ठ २०७५ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App