coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एनआरटी शीर्षमा, कुमारीको हार

काठमाडौं- सहिद स्मारक 'बी' डिभिजन लिगमा एनआरटी (न्युरोड टिम) अंकतालिकाको शीर्षस्थानमा थप मजबुत हुँदा श्रीकुमारी क्लबले पहिलो हार बेहोरेको छ। चौथो खेलमा तेस्रो जित हासिल गर्ने क्रममा एनआरटीले पुल्चोकलाई १–० ले हराएको थियो।

हल्चोकस्थित एपिएफको मैदानमा भएको पहिलो खेलमा भने आरसिटी (रानीपोखरी कर्नर टिम) ले बाँसबारी क्लबसँग १–१ को बराबरी खेलेको छ। चौथो खेलमा आरसिटीको यो दोस्रो बराबरी हो। एक खेल जितेको बाँसबारीको यो तेस्रो बराबरी हो। आरसिटीले बराबरी र श्रीकुमारीले हार भोग्दा दुवैको फाइदा भने एनआरटीलाई पुगेको छ।

४ खेल समाप्तिमा एनआरटीको १० अंक पुगेको छ भने दोस्रो स्थानको आरसिटीसँग ८ अंक छ। श्रीकुमारीको ७ अंक मात्र छ। ३ खेलको समाप्तिमा शीर्ष ३ क्लबकै समान ७ अंक थियो।

सुजन राईले २४ औं मिनेटमा गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए। तर, क्षितिज खड्काले ४१ औं मिनेटमा बाँसबारीका लागि बराबरी गोल फर्काए। आरसिटी र एनआरटी दुवै २०७० को लिगपछि ए डिभिजनबाट रेलिगेसनमा परेका थिए। दुई टोली रेलिगेसनमा पर्नुको परिस्थिति भने फरक थियो। आरसिटी खेलेरै रेलिगेसनमा परेको हो। तर एनआरटी तत्कालीन समयमा फुटबल खेलेर क्लबको ऋण तिर्न नसक्ने निष्कर्षसहित ए डिभिजनबाट अलग भएको थियो। जसका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतियोगिता नियामावलीअनुसार एनआरटी स्वतः घटुवा भएको हो। ऋणमुक्त भएपछि पुनः ए डिभिजनमा पुग्ने लक्ष्यसाथ एनआरटी बी डिभिजन लिगमार्फत फुटबलमा फर्केको छ। यो लिगका लागि झन्डै ४० लाख रुपैयाँ खर्चेको एनआरटीको लक्ष्य 'ए' डिभिजनमा पुग्नेछ। प्रदीप गुरुङले १९ औं मिनेटमा गरेको गोल नै पुल्चोकमाथि जित निकाल्न एनआरटीलाई पर्याप्त रह्यो। चौथो खेलमा २ हार बेहोरेको पुल्चोकको ६ अंक छ र टोली चौथो स्थानमा छ। समान ६ अंक भएका अन्य टोली गोलअन्तरका आधारमा च्यासल पाँचौं, टुसाल छैटौं, मध्यपुर सातौं र बाँसबारी आठौं स्थानमा छन्।

अर्कोतर्फ एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा खुमलटार क्लबले श्रीकुमारीलाई २–१ ले हराउँदै टोलीको अपराजित यात्रा टुंग्याइदिएको छ। दिनेश हेम्जनले २५ यार्ड टाडाबाट गोल गर्दै श्रीकुमारीलाई अग्रता दिलाए। खुलमटारका सुरज राउतले ६९ औं मिनेटमा गोल गर्दै खेल  बराबरीमा पुर्‍याएका थिए। जसले खेल बराबरीमा टुंगिने सम्भावना बलियो भएको थियो। तर इन्जुरी समयको दोस्रो मिनेटमा विपक्षी गोलकिपरको गल्तीको फाइदा उठाउँदै कप्तान सुरजले खालि पोस्टमा गोल गरेपछि श्रीकुमारीले चौथो खेलमा पहिलो हार बेहोरेको थियो।

प्रकाशित: १६ भाद्र २०७३ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App