५ वैशाख २०८१ बुधबार
खेल

बढी रकम खर्चिनेमा इङ्लिस टोली अगाडि

पेरिस- आर्सनल एक्लैले जर्मन रक्षक स्कोड्रान मुस्ताफी र स्पेनिस स्ट्राइकर लुकास पेरेजका लागि ६ करोड युरो खर्चंदा बुधबार राति सरुवा बजार बन्द हुनुपूर्व इङ्लिस प्रिमियर लिगले खेलाडी अनुबन्ध गर्न पैसा खर्चिनेमा सबैलाई उछिनेको छ।

बुधबार अबेरसम्म पनि थुप्रै ठूला नामको अन्तिम सम्झौता भइसकेको थिएन। लिभरपुलमा महत्व नपाएका स्ट्राइकर मारियो बालोटेली बुधबार राति फ्रान्सेली टोली नाइसमा मेडिकल गराउने तयारीमा थिए भने इङ्ल्यान्डका मिडफिल्डर ज्याक ह्विलसियरले पनि लोनमा आर्सनल छोड्ने सम्भावना कायम थियो।

टेलिभिजन पहुँचका आधारमा पनि प्रिमियर लिगमा अन्य लिगको तुलनामा बजेट बढी हुने गर्छ। त्यही कारण इङ्लिस टोलीले पैसा खर्चिनेमा अन्यलाई पछि पारे। इटालीको इन्टर मिलान र स्पेनको बार्सिलोनाले ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक जिताउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने स्ट्राइकर ग्याब्रिअल 'गाबिगोल' बार्बोसा र पाको अल्कासरका लागि ठूलो रकम खर्च गरे। यी दुई खेलाडीका लागि ५ करोड युरो तिर्नुपरेको अनुमान छ। जबकि बुधबार मध्यरातमा दुई महिनापछि सरुवा बजार बन्द हुँदा अहिलेसम्मकै धेरै रकम कारोबार भएको विश्वास लिइएको छ।

इङ्लिस शीर्ष डिभिजनका २० क्लबले मात्र एक अर्ब १७ करोड युरो खर्च गरेर नयाँ खेलाडी भित्याएको अनुमान गरिएको छ। म्यानचेस्टर युनाइटेडले कीर्तिमानी ८ करोड ९० लाख पाउन्डमा फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई ओल्ड ट्राफोर्ड भित्याएको थियो।

आर्सनलका प्रशिक्षक आर्सेन वेंगर अन्तिम समयमा ठूलो रकम खर्च गर्ने प्रशिक्षक थिए। सुरुआती दिनमा नयाँ खेलाडीका लागि पैसा खर्च नगरेको भन्दै आलोचित वेंगरले जर्मन अन्तर्राष्ट्रिय रक्षकलाई भ्यालेन्सियाबाट लन्डन ल्याउन ४ करोड २० लाख युरो खर्चे। बुधबार दिउँसोसम्मको बढी रकम खर्च गर्ने क्लबको सूचीमा आर्सनल आठौं स्थानमा थियो।

'उनी अहिले सही उमेरमा छन्,' २४ वर्षे रक्षकबारे वेंगरले भने। मुस्ताफी जर्मनीले २०१४ मा विश्वकप जित्दाको टोलीमा थिए।

यसैगरी जुलाईमा फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा सेमिफाइनल पुग्दा पनि उनी जर्मन टोलीका मुख्य खेलाडी थिए। आर्सनलले डेपोर्टिभो ला कोरुनाका स्ट्राइकर पेरेजका लागि १ करोड ७० लाख पाउन्ड तिरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। वेंगरले त्यसअघि नै स्विट्जरल्यान्डका अन्तर्राष्ट्रिय मिडफिल्डर ग्रानिट जाका, जापानी फरवार्ड ताकुमा असानो र युवा इङ्लिस सेन्टर ब्याक रब होल्डिङलाई भित्याइसकेका थिए।

'उनी एउटा गोल स्कोरर मात्र होइनन्। उनले आक्रमणमा सहयात्रीलाई उत्तिकै साथ दिन्छन्। फाइनल बल दिन र विपक्षी पेनाल्टी बक्समा राम्रो गति सिर्जना गर्न उनी माहिर छन्,' पेरेजबारे वेंगरको भनाइ थियो। 

वेंगरले थुप्रै खेलाडी भित्याइरहँदा रक्षक सेर्गे जिनाब्री भने जर्मनी फर्किने क्रममा वेर्डेर ब्रेम्यानसँग अनुबन्ध भएका छन्।

इन्टर मिलानले बार्बोसालाई उनको २० औं जन्मदिनको अवसरमा मंगलबार अनुबन्ध गरेको पुष्टि गरेको छ। 'गाबिगोल इन्टरको खेलाडी भएका छ्न,' इटालियन सिरी 'ए' को महारथी क्लबले बार्बोसासँग पाँचवर्षे सम्झौता गरेको पुष्टि गर्दै जनाएको छ। इन्टरले उनको सरुवा रकम सार्वजनिक नगरे पनि गजेटा डेल्लो स्पोर्टसले गाबिगोलका लागि २ करोड ७५ लाख युरो तिरिएको दाबी गरेको छ।

बार्सिलोनाले स्पेनिस अन्तर्राष्ट्रिय खेलाडी अल्कासरलाई भ्यालेन्सियाबाट पाँचवर्षे सम्झौतामा भित्याउन ३ करोड युरो तिरेको क्लबले जनाएको छ। गत सिजनमा भ्यालेन्सियाका लागि ३४ खेलमा १३ गोल गरेका २० वर्षे अल्कासरले बार्सिलोनामा नेइमार, लियोनल मेसी र लुइस स्वारेजसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

प्रतिस्पर्धात्मक टिम बनाउने क्रममा क्रिस्टल प्यालेसले फ्रान्सेली अन्तर्राष्ट्रिय लोइक रेमीलाई चेल्सीबाट लोनमा भित्याएको छ। आर्सनलका ह्विलसियरलाई लोनमा भित्याउन क्रिस्टल प्यालेस र एसी मिलानबीच बुधबार रातिसम्म पनि प्रतिस्पर्धा चलिरहेको थियो। म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाको आगमनसँगै बेन्चमा सीमित भएका इङ्ल्यान्ड गोलकिपर जोए हार्ट इटालियन टोली टोरिनो जाने पक्का छ।

तीन सिजनका लागि प्रिमियर लिगले ६ अर्ब ९० करोड युरोको टेलिभिजन सम्झौता गरेपछि युरोपका अन्य लिगमा पनि त्यसको प्रभाव पर्ने क्रममा सरुवा बजार महंगो भएको हो। जर्मन क्लब साल्केका खेलकुद निर्देशक क्रिस्टियन हेइडेलले प्रिमियर लिगका कारण सबैतिर मुल्य बढेको बताए। 'इङलिस प्रशिक्षकहरु सम्पर्कमा आए भने सरुवा रकम स्वत बढ्छ,' किकर म्यागजिनसँग उनले भने, 'जर्मनीभित्रमात्र कारोवार हुने हो भने सरुवा रकम यति धेरै हुने थिएन।'

साल्केले यही महिना जर्मनीका २० वर्षे विंगर लेरोए सेनलाई ४ करोड ३० लाख युरोमा अझै थप हुने गरी इङलिस टोली म्यानचेस्टर सिटीमा बेचेको थियो। टोलीले सिटीसँग अनुबन्ध हुनुअघि जर्मन बुन्डेसलिगामै ४७ खेलमात्र खेलेका खेलाडीबाट झण्डै ५ करोड युरो पाएको बताइएको छ।

प्रकाशित: १६ भाद्र २०७३ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App