७ वैशाख २०८१ शुक्रबार
अर्थ

किसानकाे भुक्तानी नदिएपछि नेपालकै ठूलो चिनी उद्योगमा तालाबन्दी

महोत्तरी– नेपालकै ठूलो चिनी उद्योगमध्येका एक महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा तीन दिनदेखि ताला लागेको छ । उखु खरिदबापतको भुक्तानी माग गर्दै किसानले ताला लगाएको हो । 
चिनी मिलमा लागेको ताला खुलाउन मिल प्रशासनले अहिलेसम्म कुनै चासो नलिएको र उनीहरु किसानसँग छलफल गर्नुको साटो सम्पर्कबाहिर बस्न थालेको आन्दोलनरत किसानको आरोप छ ।  

चिनी मिलमा आ–आफ्नो उखु बिक्री गरी महिनौदेखि भुक्तानीको पर्खाईमा बसेका महोत्तरी, धनुषा, सर्लाही र रौतहटका २५ हजारभन्दा बढी उखु किसानहरुको भुक्तानी नदिपछि मिल प्रशासनविरुद्ध आन्दोलित हुँदै आएका छन् । 
किसानहरुको उखु खरिदबापतको एक अर्व ७७ करोड ९९ लाख ७२ हजार ६ सय ५७ रुपैयाँ चिनी मिलसँग लिनुपर्ने बक्यौता छ । तर वक्यौता रकम तिर्नुको साटो मिल प्रशासनले किसानलाई तिर्न आलटाल गरेपछि बाध्य भएर तालाबन्दी गरेको उखु उत्पादक कृषक संघका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए । 

‘मिल प्रशासनले किसानको बक्यौता रकम भुक्तानी गर्नुको साटो समस्या बल्झाउने काम गरेको छ,’ कुशवाहाले भने, ‘मिलमा तालाबन्दी र धर्ना भएको तीन दिन भइसक्दासमेत प्रशासनले चासो दिएको छैन ।’ उनले उखु खरिद गरेको चार महिना बढी भइसकेको बताए । उनले सम्बन्धित निकायलाई रकम भुक्तानीका लागि पहन गरिदिन आग्रहसमेत गरेको छ । 

नेपालकै ठूलो चिनी उद्योगको रूपमा रहेको यो मिल २०७४ पुस ७ गतेदेखि चैत २४ गतेसम्म ४२ लाख ५९ हजार ७ सय ४४ क्वीन्टल उखु खरिद गरेको थियो । ती खरिद गरिएको उखुको भुक्तानी भने अहिलेसम्म किसानहरुले पाउन सकेको छैन । 

प्रति क्वीन्टल ५ सय ३१ रुपैया २० पैसाका दरले मिलले किसानहरुलाई पुस महिना भित्रको ८ लाख ८० हजार क्वीन्टलको मात्र भुक्तानी गरेको थियो । त्यसपछि खरिद भएको बक्यौता रकम किसानहरुले पाउन सकेको छैन । 

प्रकाशित: ८ जेष्ठ २०७५ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App