७ वैशाख २०८१ शुक्रबार
विचार

क्रिकेटमा कीर्तिमान

नेपाली राष्ट्रिय टोलीका किशोर लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सको टोलीबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को उच्च उडान सुरु गरेयता सबैको ध्यान उनैतर्फ छ ।

विश्व क्रिकेटकै सबभन्दा ठूलो व्यावसायिक प्रतियोगिता आइपिएलमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडीका रूपमा इतिहास लेखेका सन्दीपले यसपालि तीनपटक मैदान उत्रिने मौका पाएपछि चर्चा झनै चुलिएको छ । अघिल्लो शनिबार भारतीय क्रिकेट टोली कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेङलोरसँग खेल्दै आइपिएलमा डेब्यु गरेका उनले चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सविरुद्धका खेलमा पनि दिल्लीका तर्फबाट प्रभावशाली उपस्थिति जनाए । तीन खेलमा गरी १२ ओभर बलिङ गर्ने क्रममा सन्दीपले ८२ रन दिएर ५ विकेट नाममा लेखाए ।

यसक्रममा उनले मुम्बईका सूर्यकुमार यादव, किरन पोलार्ड र कुनाल पाण्डेय, चेन्नईका सुरेश रैना र बेङलोरका पार्थिव पटेललाई पाबेलियनको बाटो देखाएर आफूलाई प्रमाणित गरेका थिए । खासमा उनले आफूलाई मात्र नभई नेपाली क्रिकेटको स्तरलाई आइपिएलमा चिनाउन सफल भएका छन् । जहाँ विश्व क्रिकेट मानचित्रमा उदीयमान एउटा सानो देशको मात्र छविमा सीमित नेपालको एउटा खेलाडीले ट्वान्टी–२० स्वरूपमा विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यानहरू कोहली, एबिडी भिलियर्स, महेन्द्रसिंह धोनी, सेन वाट्सन, अम्बाती रायडु, इर्भिन लेविस, हार्दिक पाण्डेयजस्ता सुपरस्टारलाई क्रिजमा संघर्ष गर्न बाध्य पारे । त्यसबाट नेपाली क्रिकेट र खेलाडीलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टि फेरिएको छ ।  

हालैमात्र एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली क्रिकेटका लागि एउटा १७ वर्षे खेलाडीले यो स्तरमा आफूलाई प्रस्तुत गर्ने मौका पाउनु आफैंमा ठूलो उपलब्धि थियो । सन्दीपले विश्व क्रिकेटमा भविष्यको स्टारका रूपमा आफूलाई प्रस्तुत गर्दा नेपालमा अरू पनि थुप्रै प्रतिभा छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय क्रिकेटमा गएको छ ।

किनभने डेब्यु सिजनमै सन्दीपले प्रभावशाली प्रदर्शनमार्फत विश्व क्रिकेटमा भविष्यको स्टारका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटका स्टारहरूले भरिपूर्ण टिमहरूविरुद्ध खेल्दा उनले अन्यको दाँजोमा राम्रो प्रदर्शन गरे । पहिलो खेलमा बेङलोरसँग खेल्दा ४ ओभर बलिङ गर्दै उनले १ विकेट लिँदा जम्मा २५ रन खर्चेर ६.२५ को इकोनोमी राखेका थिए । चेन्नईविरुद्धको दोस्रो खेलमा पनि उनले १ विकेट लिए । तर यो खेलमा उनको इकोनोमी अझ राम्रो रह्यो । ४ ओभरमा उनले ५.२५ को इकोनोमीमा जम्मा २१ रन खर्चिए । आइतबार भएको मुम्बईविरुद्धको अन्तिम खेल सन्दीप र नेपाली क्रिकेटका लागि झन् विशेष रह्यो ।

मुम्बईविरुद्ध पनि पूरा ४ ओभर बलिङ गर्ने क्रममा उनले ३६ रन खर्चेर ३ विकेट लिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण दौरान सन्दीपको प्रसंग कोट्याएकै दिन आइपिएलमा उनले डेब्युको अवसर पाएका थिए । धेरैले यसलाई क्रिकेट कूटनीतिका रूपमा बयान पनि गरे । सन्दीपको डेब्युमा क्षमताभन्दा बढी कूटनीतिको प्रभाव रहेको मान्नेहरू अझै पनि छन् । तर सन्दीपले मौका पाएका तीन खेलमा उच्च स्तरको प्रदर्शन गरेर त्यसलाई गलत साबित गरेका छन् । उनले आफू क्षमताकै भरमा मैदान उत्रिएको प्रमाण दिएका छन् । केही महिनाअघिसम्म अन्तर्राष्ट्रिय क्रिकेट जगत्को ध्यान नेपाली क्रिकेट र नेपाली खेलाडीमा थिएन । त्यसै पनि नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खर अघि बढ्दै गरेको देश हो ।

देशभित्र घरेलु क्रिकेटको कुनै संरचना नहुँदा खेलाडीको क्षमता र प्रतिबद्धताका भरमा पाएका यी उपलब्धि पक्कै पनि प्रशंसनीय छन् । तर यस्ता उपलब्धिलाई जोगाउँदै अझ व्यापक पार्न देशको क्रिकेट प्रशासन पनि ठीक ठाउँमा ल्याउनुपर्छ ।

जसका कारण मोदीले नेपाल–भारत सम्बन्धको गाढापन मापन गर्ने क्रममा सन्दीप र आइपिएलको प्रसंग उल्लेख गरेकै दिन उनी दिल्लीको टिममा पर्दा क्रिकेट कूटनीतिको चर्चा हुनु स्वाभाविक थियो । नेपालमा बढ्दो भारतविरोधी मनोविज्ञान, दिल्लीको स्वामित्व ग्रहण गर्ने कम्पनी जिएमआर नेपालमा लगानी गर्न इच्छुक हुनु, २० लाख भारु खर्चेको एउटा खेलाडीका भरमा पूरा नेपालको बजार कब्जा गर्न सक्ने सम्भावनालगायतका कारण पनि सन्दीपको आइपिएल डेब्युलाई फरक ढंगले व्याख्या भएका थिए । तर सन्दीपले त्यसलाई झुठो साबित गर्ने क्रममा खेलेका तीनमध्ये दुई खेलमा दिल्ली विजयी हुँदा मुख्य भूमिका निर्वाह गरे । बेङ्लोरविरुद्धको खेलमा सन्दीपको प्रदर्शन असाधारण भए पनि दिल्लीले पराजय भोगेको थियो । तर त्यसपछिका दुवै खेलमा सन्दीपकै धारिलो बलिङ प्रेरित दिल्ली विजयी भयो ।
 
खेलाडी र टिम सधैं मैदानमा नेपालका लागि खरो रूपमा प्रस्तुत हुँदै आएको छ । त्यसैको परिणाम हो, नेपालले अनपेक्षित रूपमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनु । तर ठीक विपरीत नेपालको क्रिकेट प्रशासन भने सधैं अपारदर्शिता, भ्रष्टाचार, कुशासनलगायतका विवादमा घेरिएको छ । पछिल्लो समय त आन्तरिक विवादकै कारण नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिबन्धमा छ ।

प्रतिबन्धकै अवधिमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हासिल गर्नुका साथै आइपिएलमा एउटा सुपरस्टार खेलाडी निर्यात गरेको छ । देशभित्र घरेलु क्रिकेटको कुनै संरचना नहुँदा खेलाडीको क्षमता र प्रतिबद्धताका भरमा पाएका यी उपलब्धि पक्कै पनि प्रशंसनीय छन् । तर यस्ता उपलब्धि जोगाउँदै अझ व्यापक पार्न देशको क्रिकेट प्रशासन पनि ठीक ठाउँमा ल्याउनुपर्छ । हालै नेपाल क्रिकेट संघको साधारणसभाले आइसिसीको रोडम्यापअनुसार विधान पास गरेको छ । त्यसबाट नेपालको प्रतिबन्ध फुकुवा हुने संकेत देखिएको छ । अब प्रतिबन्ध फुकुवा नभएसम्म सबै सरोकारवाला पक्ष इमानदार भएर संघको निर्वाचन गरेर नेपाली क्रिकेटलाई निकास दिनुपर्छ ।

घरेलु क्रिकेटको संरचनामा व्यापक सुधार ल्याउनुपर्छ । सानो उमेरका लागि दुईदिने, तीनदिने क्रिकेटका प्रतियोगिता हुनुपर्छ । देशैभरि व्यवस्थित रूपमा एकेडेमी र ट्रेनिङ सेन्टर स्थापना गर्नुपर्छ । त्यसो गर्नसके आउँदा केही वर्षमा आइपिएलमात्र होइन विश्वका सबैजसो व्यावसायिक लिगमा सन्दीपजस्ता नेपालीले तहल्का मच्चउनेछन् । विश्वभर नेपालीको सान र मान बढ्नेछ ।  

प्रकाशित: ८ जेष्ठ २०७५ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App