८ वैशाख २०८१ शनिबार
अर्थ

असारमा घरजग्गा मेला

काठमाडौं–  नेपाल जग्गा तथा आवास विकास संघले सातौं घरजगा मेला गर्ने भएको छ । संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा असार १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको जनाएको हो । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं घरजग्गा मेलाको विषयमा जानकारी गराएको हो।

यसपटकको मेलाले सर्वसाधारणलाई घरजग्गा व्यवसायको वर्तमान अवस्था, यसका समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा जानकारी गराउने मेला संयोजक विपिन चित्रकारले जानकारी दिए । उनका अनुसार मेलामा एक सय ५० स्टल हुनेछ ।नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा घर जग्गा मेलाले महत्वपूर्ण योगदान गर्ने संघका अध्यक्ष इच्छाराज तामाङले बताए।

सातौंपटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आ–आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गर्नेछन् । मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी हुनेछन् ।यस मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरीवेयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामान र बिमा लगायतको सेवा सहित परामर्श सेवा समेत उपलब्ध गराउने अध्यक्ष तामाङको भनाइ छ।

संघका महासचिव मीनमान श्रेष्ठले मेलामार्फत योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेन्टहरु खरिदबिक्री हुने बताए ।सुरक्षित एवं व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धामार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेन्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सकिने उनको भनाइ थियो।

उनका अनुसार मेलामा उपभोक्तालाई विशेषज्ञद्वारा सोसम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइनेछ ।,मेलामा दोस्रोपटक हाउजिङ सम्मेलन गर्न लागेको संघले जनाएको छ । मेला नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनामा हुन लागेको हो । यसपटकको मेला एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रकाशित: ८ जेष्ठ २०७५ ००:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App