७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरी घुस प्रकरण : १२ प्रहरी जिल्ला तानिए, छानविन शुरु, सीमामा त्रास कायमै

डोकेबजार (कञ्चनपुर)– भारतीय युवावाट प्रहरीले पैसा लिएपछि सीमा पारीबाट आएको धम्कीले दशगजाको सिरानमा रहेको डोकेबजारमा त्रास छाएको घटनाको छानविन शुरु भएको छ। परासन प्रहरी चौकीमा कार्यरत इन्चार्ज प्रहरी सहायक निरीक्षक मदन धामीसहित १२ जनालाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर छानविन शुरु गरिएको कञ्चनपुुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बताए। ‘प्रहरी चौकीको पुरै सेट जिल्ला तानेर छानविन शुरु गरिएको छ’, उनले भने, ‘हामीले घटनालाई गम्भीर रुपमा लिएर छानविन शुरु गरिरहेका छौं।’

असर्इ धामी नेतृत्वको प्रहरीको पुरै सेट जिल्ला तानेर प्रहरी नायव निरीक्षकको नेतृत्वकमा नयाँ सेट परासन खटाइएको नेपाल प्रहरी प्रदेश ७ मुख्यालयका प्रहरी नायव महानिरीक्षक शरद चन्दले बताए। उनका अनुसार प्रहरी नायव निरीक्षक लक्ष्मण बिकको नेतृत्वमा ८ जना प्रहरीको नयाँ सेट परासन प्रहरी चौकीमा आएको छ। कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली बिष्टलाई छानविन गर्न खटाएको उनले बताए। आवश्यक भएमा अर्को उच्च समिति पनि बनाइने उनको भनाई छ। 

कुनै घटनामा वा आरोपमा छानविनमा परेका प्रहरीलाई २४ घण्टे लगाएर तानिने गरेपनि पुरै सेट खाली गरेकाले सीमाको बासिन्दाको सुरक्षा नै खतरामा पर्ने यो घटनालाई अत्यन्त गम्भीर रुपमा लिएको बुझिएको छ। कञ्चनपुर प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरेन्द्र बमको नेतृत्वमा ८ जना प्रहरीको टोली सोमबार डोकेबजार पुगेर बिभिन्न पक्षसँग सोधपुछ गरेर फर्केको छ। प्रहरीको उक्त टोलीले स्थानीय व्यापारी, कुटपिट भएका भारतीय युवाका आफन्त, प्रहरी जवान रमेश भट्ट, सुनको चेन समातेर प्रहरीले खल्तीमा हालेको देख्ने प्रत्यक्षदर्शी युवा लगायतसँग सोधपुछ गरेको छ। स्थानीयले पनि प्रहरीलाई सहयोग गर्न घटनाको दिन भारतीय युवालाई नियत्रणमा लिएर कुटपिट गरी प्रहरीलाई बुझाएकाले उनीहरु निशानामा परेका हुन। डोकेबजारका स्थानीय बासिन्दा तथा व्यापारीले प्रहरीले सुनको चेन हराएको झुठो बोलेर १ लाख ८३ हजार सीमा पारिका युवावाट लिएको कारण उताबाट धम्की आएकाले त्रसित भएको गुनासो गरेका छन्।

सीमामा त्रास कायमै

लगातार ओहोरदोहोर गरिरहुनु पर्ने डोकेबजारका स्थानीय ४ दिनदेखि त्रासले सीमापारी जान सकेका छैनन्। ‘उतातर्फबाट हातखुट्टा भाँचिदिने भनेर धम्की आएकाले हामी त्रसित भएको छौं’, स्थानीय युवा बिकास घोडसाईले भने, ‘४ दिनदेखि हामी कोही पनि सीमापारी जान सकेका छैनौं।’ दशगजाबाट करिब ५० मिटर दुरीमा रहेको डोकेबजारमै बस्न पनि त्रास भएको स्थानीय बताउँछन्। ‘प्रहरीको सेट बदलेको, प्रहरीलाई कारवाही गरेको कुराले हाम्रो समस्या समाधान हुँदैन, हामीलाई त सीमापारिका बासिन्दासँग सहजीकरण गरेर सुरक्षित हुने वातावरण बनाइदिनु पर्यो’, अर्का युवा प्रदिप सिंह भन्छन्। भारतका युवाहरुलाई कुटपिट भएर घाइते भई उपचार गराइरहेका र उनीहरुको नै पैसा पनि १ लाख ८३ हजार लगिएकोले उनीहरुले बदलास्वरुप घटना घटाउन सक्ने स्थानीयमा त्रास छ। सीमापारी करिब ४ किलोमिटर दुरीमा रानाहरुको वस्ती छ। कुटपिट खाएका भारतीय युवा अक्षय रानाका दाजु प्रमोद राना समाजका अगुवा सहितको एक समूह ल्याएर सोमबार पनि परासन प्रहरी चौकीमा आएका थिए। सुनको चेन प्रहरीले पाइसकेकोले आफूले दिएको १ लाख ८३ हजार फिर्ता पाउनुपर्ने उनले बताए। ‘१ लाख ८३ हजार पैसा फिर्ता दिएमा सबै कुरा मिलेर पहिले जस्तै भाइचार सम्बन्ध बन्छ’, भारतका तर्फवाट आएका समाजका अगुवा लाव्रा रानाले बताए। डोकबजारका स्थानीय पनि सुनको चेन घाँटीबाट खसेपछि टिपेर खल्तीमा हालेकाले उनीहरुबाट लिएको पैसा फिर्ता गरेर बतावरण सहज बनाउन माग गरे। प्रहरी जवान रमेश भट्टले भने सुनको चेन हराएको बताउँदै आएका छन्।

सुनको चेन र लखेट हराएको भन्दै १ सय ५३ र घटना मिलाएको भन्दै थप ३० हजार गरेर १ लाख ८३ हजार प्रहरीले उनीहरुवाट लिएको स्थानीय बताउँछन्। 

घाँटीबाट खसेर कमिजमा अल्झेको सुनको चेन र लखेट टिपेर प्रहरी जवान भट्टले खल्तीमा हालेको देखेको प्रत्यक्षदर्शी युवा अनुप शर्मा र गौरव महताले प्रहरीलाई बयान दिएका छन्।

घटना यस्तो थियो

बिहीवार राती ९ बजेतिर भारतको जिल्ला लख्खीमपुर खिरी बनगाउँ वस्ने १९ बर्षिय सुमित राना, २० बर्षिय अक्षय राना र १८ बर्षिय हर्जित गुप्ता तीन युवा डोकबजारको पाथीभर ट्रेडर्स पसलवाट चाउचाउ, खुकुरी चुरोट, चिजवल र मेघाश्री किनेर भारततर्फ दशगजा छेउमा पुगे। त्यहाँ युनिफर्ममा उभिएका परासन प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रमेश भट्टले समान लैजान अवरोध गरेपछि ३ जना युवा र ती प्रहरीबीच हात हालाहाल भयो। प्रहरी जवान भट्टले गुहार गुहार भनेर स्थानीय व्यापारीलाई बोलाए। गुहारको अवाज आएपछि स्थानीय युवा र व्यापारी  गएर ३ युवालाई नियन्त्रणमा लिएर कुटपिट गरे र प्रहरी चौकीमा बुझाईदिए। बिहीवार राती नै सेती अंचल अस्पतालमा मेडिकल जाँच गरेर ल्याएको परासन प्रहरी कार्यालयले सीमाको संवेदनशिलता र घटनाको गम्भीरता नबुझी दोस्रो दिन १ लाख ८३ हजार लिएर उनीहरुलाई छोडिदियो। 

प्रकाशित: ७ जेष्ठ २०७५ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App