coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

आरोपीलाई अनुसन्धानविनै छोडेको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै माइती पक्ष । तस्बिर : नागरिक

वीरगन्ज– दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्।

पर्साको पर्सागढी नगरपालिका – ४ हरदासपुरका भुपेन्द्र पटेलकी श्रीमती रिंकु आइतबार बिहान घरमा मृत अवस्थामा भटिएकी हुन्। दाइजोमा दिएको खेत बेच्न रिंकुले नमान्दा उनको  हत्या गरिएको भन्दै माइती पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका–१६ अलौंबाट जिल्ला प्रहरी घेराउ गर्न आएका माइती पक्षले रिंकीको श्रीमान, सासु, देवर र जेठाजुले  मिलेर हत्या गरेको भन्दै दोषीलाई कारवाहीको माग गरे। 

निकै शंकास्पद अवस्थामा प्रहरीले शव बरामद गरेपनि प्रहरी आरोपीलाई बचाउने खेलमा लागेकाले प्रदर्शनमा उत्रिएको माइती पक्षले प्रतिक्रिया दिएका छन्। सोमबार करिब दुई सयको संख्यामा आएका माइतीका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए। 

मृतकका बुवा प्रभुप्रसाद कुर्मीले छोरीलाई आफूले दाइजोमा ५ कठ्ठा खेत दिएको बताए। सोही खेतको विषयलाई लिएर छोरीको हत्या गरिएको भन्दै उनी भक्कानिए। ‘हरदारपुरमा मैले एक बिगहा खेत किनेको थिएँ, त्यसबाट ५ कठ्ठा खेत दाइजोमा दिए, छोरीको नाममा लेखत पास गरिदिएको थिएँ,’ प्रसादले भने, ‘के थाहा थियो, मैले दिएको जग्गाले मेरो छोरीको ज्यान लिन्छ ?’ उनका अनुसार ज्वाईले उक्त खेत बेचेर चारपाङ्ग्रे गाडी किन्न रिंकीलाई दबाब दिँदै आएका थिए।

आइतबार रिंकीले आत्महत्या गरेको खबर प्रहरीले पाएको थियो। आइतबार बिहान साढे ११ बजे तिर घटनास्थलमा प्रहरी पुग्दा पासो काटेर शव खाटमा सुताइएको अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी घटनास्थलमा पुग्दा पासो काटेर शव खाटमा सुताएले शंका उत्पन्न भएको छ। ‘शव पोष्टमार्टमका लागि सोमबार नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ, पोष्टमार्टम हुँदैछ, यसमा मृत्युको कारण खुलेर आउँछ, त्यसपछि अनुसन्धान अघि बढाउन मद्दत मिल्छ’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’ 

शवको मुचुल्का उठाउने क्रममै मृतक रिंकी देवीका पति भुपेन्द्र र ससुरा प्रेम प्रसादलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो। साँझ दुवैलाई छाडिएको भन्दै मृतक महिलाका माइती पक्षले र गाउँलेले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन्। सोमबार मृतक रिंकुका माइती पक्षको प्रदर्शनले स्थिती तनावग्रस्त बनेपछि प्रहरी उपरीक्षक ढकालले मृतक महिलाका पति र ससुरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिने र घटनाको छानबिनपछि दोषीलाई कारबाही गर्ने आश्वासन दिए। प्रहरीको अश्वासनपछि पछि उनीहरु फर्किए। 

रिंकुका ससुरा ठुलो–बा देवनाथ राउत कुर्मीलाई नियन्त्रणमा राखेको ढकालले जानकारी गराए । यता रिंकी देवीका श्रीमान् भुपेन्द्र र ससुरा प्रेमप्रसाद पटेलले उनले आत्महत्या गरेको दाबी गरेका छन्। 

प्रकाशित: ७ जेष्ठ २०७५ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App