४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

‘क्याटलोनियामा स्पेनको नियन्त्रण हुन्छ’

स्पेनी प्रधानमन्त्री मारियानो राजोय । तस्बिर : एजेन्सी

म्याड्रिड– क्याटलोनियाका क्षेत्रीय नेताले जेलमा रहेका र देशबाट निर्वासनमा गएका नेतालाई मन्त्रिपरिषद्मा मनोनित गरेपछि स्पेन सरकारले क्याटलोनियामा नियन्त्रण गर्ने योजना प्रधानमन्त्री मारियानो राजोयले सार्वजनिक गरेका छन्।

स्पेनको समाचार एजेन्सी एल पेसले आइतबार जनाएअनुसार क्याटलोनियाका नयाँ नेता क्विम टोर्राले आफ्नो मन्त्रिपरिषद्मा रहने सदस्यको नाम शनिबबार सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको नाममा जेलमा रहेका र स्वघोषित रूपमा स्पेनबाट निर्वासनमा गएका नेतालाई पनि सहभागी गरिएपछि म्याड्रिड सरकार आक्रामक हुने संकेत देखिएको बताइएको छ ।डिसेम्बर महिनामा भएको निर्वाचनमा स्पेनबाट क्याटलोनियालाई स्वतन्त्र बनाउनुपर्छ भन्ने दलहरुले झिनो बहुमत प्राप्त गरेका थिए । बहुमत प्राप्त गरे पनि क्याटलोनियाको राष्ट्रपतिको पदमा बस्ने योग्य व्यक्ति नभएपछि सरकार बनाउन सकिरहेको थिएन।

स्पेनका प्रधानमन्त्री राजोयले क्याटलोनियमा पूर्ण र कानुनी सरकार बनेर शासन सुरु भएपछि आफूले त्यहाँ प्रत्यक्ष शासन लागू गर्ने बताएका छन् । केन्द्रीय सरकारका प्रधानमन्त्रीले यस्तो चेतावनी दिए पनि क्याटलोनियाका नवनियुक्त राष्ट्रपति टोर्राको मन्त्रिपरिषद्मा कानुनी प्रक्रिया चलिरहेका जोर्डी टुरुल र जोसेफ रुलसहित बेल्जियमको ब्रसेल्समा बसिरहेका र स्पेनी प्रहरीको खोजी सूचीमा रहेका एन्टोनी कोमिन र लुइस पुइग ई गोर्डी राखिएको छ । म्याड्रिडले आधिकारिकता दिनुपर्ने क्याटलन सरकारका केही प्रस्तावि व्यक्तिविरुद्ध शक्ति प्रयोग गर्नुअघि कानुनी हैसियत दिइँदै छ । स्पेनको संविधानअनुसार देशको कुनै पनि क्षेत्र छुट्टिन पाउँदैन । त्यसैकारण स्पेनबाट स्वतन्त्र हुने अभियानमा लागेको कैयौं क्याटनल राजनीतिज्ञ र नागरिक अगुवाहरुविरुद्ध अदालती प्रक्रिया चलिरहेको छ भने कतिपय नेताहरु स्वघोषित रूपमा निर्वासनमा गएका छन्।

ती नेताहरुविरुद्ध राज्यद्रोह, कानुनको अपहेलना र सार्वजनिक कोषको दुरुपयोगको अभियोग लागेका छन् । क्याटलोनियामा विकसित पछिल्लो अवस्थाबारे प्रधानमन्त्री राजोयले विपक्षी सोसलिस्ट दलका नेता पेड्रो सान्चेज र क्यिुडाडानोस दलका नेता अल्बर्ट रिभेरासँग छलफल गरेको विषय आइतबार उनको प्रेस कार्यालयले पुष्टि गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भेटमा सोसलिस्ट पार्टीले क्याटलन सरकार गठनबारे केन्द्रीय सरकारले लिने जस्तोसुकै निर्णयलाई समर्थन गर्ने प्रधानमन्त्री राजोयलाई प्रतिबद्धता व्यक्त गरेको आइतबार स्पेनी पत्रिका ‘ला राजोन’ मा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । यसअघि देशको संविधानको धारा १५५ बमोजिम म्याड्रिडले क्याटलोनिया सरकारमाथि नियन्त्रण जमाएको थियो।

तत्कालीन क्याटलोनिया क्षेत्रका राष्ट्रपति कार्लेस पुइगडेमन्टले एकतर्फी रूपमा क्षेत्रीय संसद्को माध्यमबाट क्याटलनोनियालाई स्वतन्त्र भएको घोषणा गरेपछि म्याड्रिडले प्रत्यक्ष शासन सुरु गरेको थियो । त्यसअघि भएको विवादित जनमत संग्रहमा स्वतन्त्र क्याटलोनिया पक्षधरले बहुमत ल्याएको दाबी गरिएको थियो । पूर्वराष्ट्रपति पुइगडेमन्ट हाल जर्मनीको बर्लिनमा निर्वासित जीवन बिताइरहेका छन् ।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App