८ वैशाख २०८१ शनिबार
शिक्षा

सामुदायिक स्कुलमा विद्यार्थीको चाप

वागीश्वरी स्कुल तस्बिर : कृष्ण / नागरिक

भक्तपुर - देशभरिका सामुदायिक स्कुलले विद्यार्थी नपाएर विद्यालय बन्द गर्नुपर्ने वा गाभ्नुपर्ने बाध्यता आइरहेका बेला भक्तपुरको सामुदायिक विद्यायलमा भने विद्यार्थीको चाप थेगिनसक्नु भएको छ । भक्तपुरको वागीश्वरी मावि च्याम्हासिंगले क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि भर्ना कार्य रोकेको छ।

विद्यालयले २०१७५को नयाँ शैक्षिक सत्रमा चार सय नयाँ विद्यार्थी भर्ना लिने योजना बनाएको थियो । तर योजनाभन्दा बढी चार सय ४२ जना विद्यार्थी भर्ना भएपछि वैशाख मसान्तदेखि स्कुलले नयाँ भर्ना नलिएको हो । प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि थप भर्ना लिन नसकिएको बताए । ‘नयाँ भर्ना चाहने विद्यार्थीको संख्या झन्डै साढे चार सय पुग्यो,’ प्रधानाध्यापक धन्छाले नागरिकसँंग भने, ‘एउटा कक्षामा ४० देखि ५० विद्यार्थी राख्ने हो भने पनि १० वटा कक्षाका लागि चाहिने चारदेखि पाँच सय नयाँ विद्यार्थी भर्ना भएका छन् ।’ उनका अनुसार यो वर्ष मात्रै इसिडीदेखि नौ कक्षासम्म सो संख्यामा नयाँं विद्यार्थी भर्ना भएका हुन् ।

स्कुलको तथ्यांकअनुसार इसिडीमा ५५, नर्सरीमा ४२, जेकेजीमा १९, एसकेजीमा १३, एक कक्षामा १७, दुईमा १५, तीनमा सात, चारमा २२, पाँचमा १४, ६ मा २९, सातमा ३४, आठमा ७४ र नौमा एक सय एक जना नयाँ विद्यार्थी भर्ना भएका छन् । सबैभन्दा बढी नौ कक्षामा मात्रै एक सय एक जना नयाँ विद्यार्थी स्कुलमा भर्ना हुन आएका हुन् ।

स्कुलमा हाल इसिडीदेखि कक्षा १० सम्म एक हजार आठ सय ४८ जना विद्यार्थी छन् । कक्षा ११ मा ६ सय ४५ र १२ मा सात सय १० गरी माध्यमिक तहसम्म तीन हजार दुई सय तीन विद्यार्थी छन् । साथै, स्कुलले सञ्चलान गरेको सिलिभि इन्जिनियरिंग टिएसएलसीमा ४०, डिप्लोमा प्रथम वर्षमा ४८, द्वितीय वर्षमा ४८ र तृतीय वर्षमा २३, साँझ कक्षा सञ्चालन हुने निमावि खुला तहमा १० र मावि खुला तहमा २५ जना गरी कूल विद्यार्थी तीन हजार तीन सय ९७ छन् ।

२०१५ सालमा स्थापना भएर २०४० सालदेखि एसएलसी दिन थालेको स्कुलबाट यस वर्ष दुई सय ४१ एसईईमा सहभागी छन् । शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय) का प्रमुख अर्जुनबहादुर रायमाझीले जिल्लाका विद्यालयमध्ये सबैभन्दा बढी भर्ना बागीश्वरी स्कुलमा भएको बताए । साथै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्व, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छालगायतका विद्यालयका परिवारका मात्रै झन्डै ७४ जना विद्यार्थी यो स्कुलमा अध्ययनरत रहेको जनाइएको छ ।
 

प्रकाशित: ७ जेष्ठ २०७५ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App