८ वैशाख २०८१ शनिबार
समाज

तुइनमुक्त हुँदै धादिङ

धादिङको बेनिघाट र सिद्धलेकको मजुवा जोड्ने त्रिशुली नदीमा बनाइएको झोलुंगे पुल । तुइन हटाएर यहाँ झोलुंगे पुल निर्माण गरिएको हो ।तस्विर : सरिता /नागरिक

धादिङ - तुइन र खिरखिरेमार्फत् जोखिमपूर्ण तरिकाले त्रिशुली नदी वारपार गर्दै आएका धादिङबासी झोलुंगे पुल बनेपछि हर्षित भएका छन्।

ज्यानकै माया मारेर तुइनको कठिनपूर्ण यात्रा गर्दै आएका सिद्धलेक गाउँपालिका –३, मजुवाका रामशरण सेढाईको अहिले खुसीको सीमा नै छैन । ‘जीर्ण भएका तुइनबाट नदी वारपार गर्दा तुइनका लठ्ठा चुँडेर कैयौंले ज्यानसमेत गुमाए,’ सेढाईले भने, ‘अहिले झोलुंगे पुलबाट नदी वारपार गर्न पाउँदा खुसीको सीमै छैन।’

तुइनबाट वारपार गर्दा बारीमा लगाइएका तरकारी खेर जाने गरेको र आफूले पढ्न नपाएको नमिठो अनुभव छ सेढाईसँग । तुइनबाट नदी तरेर बजार जाँदा फर्केर घरसम्म आइपुग्ने हो कि होइन भन्ने चिन्ता सधैं हुन्थ्यो । बेनिघाट र सलाङको बीचमा रहेको त्रिशुली नदी वारपार गर्न २०३४ सालमा तुइन राखिएको थियो । दैनिक तुइनको यात्रा गर्दै जीवन चलाउन बाध्य स्थानीय बासिन्दाले कहिले सुखको सास फेर्न पाएनन् । तुइनका लठ्ठामा खिया लागेर भाँचिने अवस्थामा पुग्दा पनि कसैले वास्ता गरेनन् । स्थानीय बासिन्दाले आफ्ना पीडा पटक–पटक स्थानीय प्रशासनसमक्ष राख्दै आए ।

त्रिुशली नदीको धादिङ खण्डमा मात्रै त्रिशुली वारिपारि जोड्न ११ वटा तुइन राखिएका थिए । तुइन जीर्ण हुँदै गएको र चुँडिएर धेरैको ज्यान गएपछि २०७२ असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तुइनमुक्त बनाउने उद्घोष गरे । एक वर्षभित्र देशभरका सबै तुइन हटाएर झोलुंगे पुल बनाउने ओलीले भनेका थिए । तर साढे दुई वर्ष बितिसक्दा पनि जिल्लाका सबै ठाउँ भने तुइनमुक्त भइसकेका छैनन् । बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा रहेको तुइन अझै हट्न सकेको छैन । स्थानीयले उब्जाएका तरकारी दैनिक तुइनमार्फत् नै ओसारपसार गर्ने गरेका छन् । अन्य ठाउँहरूमा भने तुइन विस्थापित गरेर झोलुंगे पुल बनाइएका छन्।

तुइन बनेको ४० वर्षमा बल्ल झोलुंगे पुलमाथि हिँड्न पाएको सेढाईं सुनाउँछन् । दिनहुँ त्रिशुली नदिमाथि तुइनका लठ्ठा समाउँदै यात्रा गर्नुपर्ने बाध्यता अहिले हटेको उनी बताउँछन् । बालबालिकालाई पढ्न जान होस् या घरबारीमा उत्पादित कृषि उपजहरू बजारसम्म लैजान, झोलुंगे पुल बनेपछि नदी पारिका स्थानीय बासिन्दालाई अहिले निक्कै सजिलो भएको छ ।

‘पुल नहुँदा कृषि उपज बजार पु¥याउन, अस्पतालसम्म बिरामी लैजान र विद्यार्थीलाई विद्यालय जान निक्कै कठिनाइ हुने गरेको थियो’, सेढाईले भने, ‘पुल बनेपछि जीवन नै फेरिएको छ ।’वर्षौदेखि ज्यान माया मारेर तुइन र तुइनभन्दा पनि जोखिम खिरखिरेको प्रयोग गरेर नदी वारपार गरिरहेका स्थानीयहरू झोलुंगे पुल बनेपछि अहिले अति खुसी भएका छन् । पुल बनेपछि ढुक्कले वारपार गर्न सकिएको कुम्पुर निवुवाटारका कुशल आले मगरले बताए । ‘पहिले बजार जाँदा बेलुका घर आइन्छ कि आइन्न ठेगान हुन्थेन, मगरले भने, ‘अहिले ढुक्क भएको छ ।’

पुल बनेपछि कृषि उपजहरूको उत्पादनसमेत बढेको स्थानीय किसान बताउँछन् । गाउँमा उत्पादित तरकारी अहिले जुनसुकै बेला बजार पु¥याउन सजिलो भएको मगर बताउँछन् । ‘कुम्पुरटारमा उत्पादन भएका तरकारी गजुरी बजारमा बेच्न लैजाँदा तुइनबाट खसेर त्रिशुलीले कति बगायो कति,’ उनले भने, हाम्रै पालामा पुल बन्छ भन्ने आशै थिएन तर अहिले सबै गाउँले दंग छन् ।’ बेच्न नदी पारि लैजानकै समस्याले गर्दा सिंचाईं सुविधा भएर पनि यसअघि स्थानीयले खेतीपाती त्यति राम्रोसँग गर्दैनथे । अहिले भने तरकारी बाली र अन्न बाली लगाएर स्थानीय बासिन्दाले राम्रो आम्दानी गरिरहेका छन्।

जिल्लाका साविक गजुरी गाविस र कुम्पुर गाविसलाई जोड्ने बिहानीपम्प नजिकै बैरेनी र कल्लेरी गाविस जोड्ने चिरौंदी दोभान, भुत्याहा, पीडा गाविस र कुम्पुर गाविस जोड्ने जरे, घाटबेंसी, बेनिघाट र सलाङ जोड्ने मालिङ्गा, जोगिमारा र गोरखा जिल्ला जोड्ने हुग्दीदोभानलगायत स्थानमा तुइन हटाएर पुल निर्माण भइसकेका छन् । पुल बनेपछि पुनर्निर्माणले पनि गति लिएको छ । घर बनाउन आवश्यक सामानहरू ल्याउन सजिलो भएको स्थानीय बताउँछन् । तुइन हटाएर झोलुंगे पुल बनाउन थालेसँगै त्रिशुली नदीको धादिङ खण्डमा रहेका जोखिमयुक्त तुइन हटिसकेका छन् ।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App