६ वैशाख २०८१ बिहीबार
अर्थ

मिल्क होलिडेको डरमा दूध उत्पादक किसान

चितवन -पशुपालन गरेर दूध उत्पादनमा लागेका किसान दूध बिक्री नहुँदा समस्यामा छन् । नेपाल दूध उत्पादनमा आत्मनिर्भर नभए पनि किसानले उत्पादन गरेको दूध बिक्री नहुने समस्या छ । अहिले बजार नपाएर दूध फाल्नुपर्ने अवस्था आएको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगाले बताउँछन् ।

‘डेरीले दूध लैजान मानेका छैनन्,’ उनी भन्छन्, ‘यो अदृश्य रुपमा भएको मिल्क होलिडे नै हो ।’ यस्तै, दूध लैजाने डेरीबाट पनि समयमै भुक्तानी नहुने समस्या रहेको उनले बताए । प्रायः दुग्ध उत्पादक सहकारीको चार लाखदेखि ९० लाख रुपैयाँसम्म दूधको पैसा भुक्तानी हुन बाँकी रहेको उनले जानकारी दिए ।यसअघि जसले दूध लैजान्थे उनीहरुले हरेक १५ दिनमा दूधको भुक्तानी गर्थे । सोही अनुसार किसानले पनि १५ दिनमा दूधको मूल्य सहकारीबाट बुझ्न पाउँथे । अहिले ६ महिनासम्म पनि भुक्तानी हुन नसकेको उनले बताए । दूधलाई स्टोर गरेर राख्न नसकिने भएकाले पनि उधारोमै पठाउन किसान बाध्य रहेको उनको भनाइ छ ।

अहिले सहकारीले डेरीलाई पालो गरेर दूध दिँदै आएका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाको सदस्य बालकृष्ण उप्रेती चितवनबाट दूध लगिरहेका केही निजी डेरीले जेठदेखि दूध उठाउँदैनौ भनेर सहकारीलाई पत्र समेत पठाएको बताउँछन् । ‘ट्यांकर नभएकाले दूध उठाउन नसक्ने भनेका छन्,’ उनी भन्छन्, ‘कहिले गाडी बिग्रियो, कहिले गाडी जाममा अड्कियो आज दूध अरु डेरीलाई नै दिनुस् समेत भन्ने गरेका छन् ।’

कतिले दूधको मूल्य घटाउनुप¥यो भनेर पत्र पठाएको किसान बताउँछन् । गत महिना जयमंगला दुग्ध उत्पादक सहकारीमा दुई दिनसम्म डेरी दूध लिन नआउँदा किसानलाई नै फिर्ता पठाउनुपरेको उप्रेतीले बताए । गर्मी मौसममा दही, आइसक्रिम लगायत दूधजन्य पदार्थको माग धेरै हुने भएकोले पनि दूध बिक्रीको समस्या नदेखिनुपर्ने उनको भनाइ छ ।

‘यो सिजन दूध उत्पादन २० प्रतिशत कम हुने र खपत ३० प्रतिशत बढी हुने समय हो,’ उनले भने, ‘यस्तो बेला पनि दूध बिक्री नहुनु भनेको दूध उत्पादनको सिजनमा किसानले प्रत्यक्ष मिल्ड होलिडे खेप्नुपर्छ भन्ने संकेत हो ।’ भदौदेखि फागुनसम्म दूध उत्पादन हुने सिजन मानिन्छ । चैतदेखि असारसम्म दूध उत्पादनका हिसाबले सुक्खा मौसम हो । सिजनमा चितवनमा दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ।

यहाँ दूध उत्पादनका लागि सञ्चालित पशुुपालन फार्म चार सय हाराहारी छन् । जिल्लामा एक सय ३८ वटा दुग्ध उत्पादक सहकारी छन् । नेपाल दूधमा आत्मनिर्भर हुनको लागि दैनिक चार लाख लिटर दूध अभाव भएको तथ्यांक छ । अहिले डेरीले दूध लैजान नमानेकाले भदौपछि किसानले मिल्ड होलिडे झेल्नुपर्ने संकेत देखिएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य भागिरथ तिमिल्सिनाले बताए ।

आयातित सस्तो पाउडर दूधका कारण स्थानिय उत्पादनको बिक्रीमा प्रभाव परेको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालेले बताए । दूध उत्पादक किसानलाई लक्षित गरेर उत्पादनका आधारमा दिने भनेको अनुदानको व्यवस्था समेत विभेदकारी भएको उनी बताउँछन् । भन्छन्, ‘सबै उत्पादकलाई अनुदान दिनुपर्छ ।’
किसानले उत्पादनको लागत नघटाई फाइदा लिन नकस्ने भएकाले सरकारले पशुपालन गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदान दिनुपर्ने उनले बताए । दूध उत्पादक किसान एकनारायण पौडेलका अनुसार यसअघि किसानले २०५३ देखि ०५७ सम्म र ०६२ र ०६३ मा केही मात्रामा मिल्क होलिडे झेल्नुपरेको थियो । त्यसयता दूध बिक्री नै नहुने समस्या किसानले भोगेका थिएनन् ।

अहिले किसानले औसतमा ५० रुपैयाँ प्रतिलिटर मूल्य पाइरहेका छन् । बढीमा ७५ रुपैयाँसम्म पाउने गरेको पाइन्छ । व्यावसायिक पशुपालक कृषक समाज र नगरस्तरीय दुग्ध उत्पादक सहकारी समन्वय समिति रत्ननगरले दूध उत्पादक किसानले भोग्नुपरेको समस्याबारे केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थामार्फत कृषि, सहकारी तथा भुमिसुधार मन्त्रालयलाई ज्ञापनपत्र समेत पठाएका छन्।ज्ञापनपत्रमार्फत नेपाल दूध उत्पादनमा आत्मनिर्भर हुन नपाउँदै उत्पादित दूधको बजारीकरणमा देखिएको समस्या समाधानको माग गरिएको छ । यस्तै, दूध उत्पादनका लागि पशुपालनमा लागेका किसान विस्थापित हुने खतराको सम्बोधन हुनुपर्ने, आयातित दूध तथा दूधजन्य पदार्थ नियन्त्रण गरी नेपाली उत्पादनलाई प्रोत्साहन गरिनुपर्ने लगायत माग ज्ञापनपत्रमा छ ।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App