coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आयात धान्न सुक्खा बन्दरगाह अपुग हुँदै

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह ।तस्बिर : रितेश/नागरिक

वीरगन्ज - १३ वर्षअघि सुरु भएको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहबढ्दो आयातका कारण अपुग हुँदै गएको छ । फलामका विभिन्नखाले उत्पादनका कच्चा पर्दा, रासायनिक मल, पशुपक्षीको दाना बनाउने मकै, भटमास र तेस्रो मुलुकबाट कन्टेनर कार्गोको बढ्दो आयात धान्न पुग हुन थालेको हो । बन्दरगाह सुरु हुँदा त्यहाँ जम्मा ५५ मालबाहक रेल (र्याक) आइपुगेका थिए ।

चालु आर्थिक वर्षको अहिलेसम्म सुक्खा बन्दरगाहमा आयातित वस्तु लिएर आउने र्याकको संख्या नौ सय १४ पुगेको छ । वर्षभरिमा हजार नाघ्ने अनुमान गरिएको छ ।‘आगामी आवमा बन्दरगाहमा मासिक सय र्याक मालसामान आइपुग्ने गरी कारोबार बढेको देखिएको छ,’ आयातकर्ता अशोक टेमानीले भने, ‘अहिले नै सुक्खा बन्दरगाह आयातका लागि अपुग हुन थालेको छ ।’

सुक्खा बन्दरगाहको उपयोगिता पहिलेभन्दा बढेर गएको छ । सडकमार्ग हुँदै कोलकाता बन्दरगाहबाट आउने कन्टेनर रेलतिर सरेका छन् । सडकबाट आउँदा पश्चिम बंगाल, झारखण्ड र बिहार प्रान्तका प्रान्तीय नाका पार गर्दा दृश्य, अदृश्य खर्च र अनेकखाले समस्या आउने गरेकाले त्यसबाट जोगिन पछिल्लो समय रेलमार्गको प्रयोग बढेको हो । उता, विशाखापट्नम र हल्दियाबाट सामान रेलमा मात्र आउँछ।

यत्तिकै पनि आयात बढेको छ । गत आवमा ७२ हजार कन्टेनर नेपालका लागि आएकामा त्यसमध्ये आधाभन्दा बढी सुक्खा बन्दरगाह भएरै आएको देखियो । यो वर्ष उक्त संख्या ८० हजार नाघ्ने अनुमान गरिएको छ । त्यस्तै निर्माण सामग्रीको माग अहिले नेपालमा बढिरहेकाले कच्चा पदार्थको आयात पनि बढेको छ । कृषिका लागि रासायनिक मलको आयात अनिवार्य नै छ ।

सीमा नाका साढे चार महिना बन्द भएका बेला पनि यो बाटोबाट आयात रोकिएको थिएन । यी सबै कारणले गर्दा व्यवसायी सुक्खा बन्दरगाहको भर पर्न थालेका छन् । पशुपक्षीको दाना बनाउने उद्योग पनि नेपालमा थपिने क्रम जारी छ । यसरी समग्रमा आयात बढ्दा सुक्खा बन्दरगाहमा चाप बढेको हो । संरचना भने उही करिब डेढ दशक पुरानो छ । सुक्खा बन्दरगाहमा रहेको बोराबन्द सामान राख्ने ३८ मिटर चौडा गोदाम उत्तरमा एक सय ६८ मिटर र दक्षिणमा एक सय १४ मिटर बढाउनेभन्दा अर्को कुनै संरचनागत स्तरोन्नति भएको छैन।

यसबीचमा वाणिज्य मन्त्री मातृका यादव र वाणिज्य सचिव चन्द्रकुमार घिमिरे समेतले बन्दरगाहको स्थलगत अनुगमन गरिसकेका छन् । ‘नयाँ संरचना बढाउन सुक्खा बन्दरगाह र आइसिपीबीचको करिब ६२ बिघा जग्गा खरिद गर्न रोक्का गरिएको छ,’ सुक्खा बन्दरगाह भन्सारका प्रमुख सूर्य सेढाईंले भने, ‘अरु काम अघि बढाउन बाँकी छ ।’

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App