coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चम्किए सन्दीप

काठमाडौं – मान्छेको जीवनमा बारम्बार मौका आउँदैन। जसले पाएको मौकालाई सदुपयोग गर्छ, त्यसको जीवनमा सफल हुन्छ।

सन्दीप लामिछानेको तिनै व्यक्ति हुन्, जसले पाएका अवसरलाई खेर जान दिएनन्। भर्खरै बामे हिँड्न थालेको नेपाली क्रिकेट खेलाडीका लागि इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्नु सपनाजस्तै हो। त्यही सपना सन्दीपका लागि विपना भएर आयो । आइपिएलले सन्दीपलाई अक्सनको सूचीमा राख्यो। दिल्ली डेयरडेभिल्सले उनलाई २० लाख भारतीय रुपैयाँमा किन्यो।

सन्दीपका लागि आफूलाई प्रमाणित गर्ने यो अर्को स्वर्णिम मौका थियो । यसमा पनि सन्दीपले आफूलाई प्रमाणित गरे। तीन खेलमा सन्दीपले ८२ रन दिएर ५ विकेट लिए। सबै खेलमा महत्वपूर्ण विकेट लिए। यसअघि जसरी उनले पाएका मौकालाई सदुपयोग गरेका थिए, आइपिएलमा पनि सन्दीप चुकेनन्।

‘एकदमै खुसी लागेको छ। हिजो उनीसँग कुरा हुँदा आजको खेलमा पनि खेलाउने कुरा हुँदै छ म खेल्छु भनेको थियो। दोस्रो ओभरमा २ विकेट लिएपछि हामीमा खुसीको सीमा नै रहेन। सन्दीप अब मेरो छोरो मात्र रहेनन्। उनी नेपालकै छोरा हुन्। यति सानो उमेरमा आइपिएल खेल्न पाउनु उनको कडा परिश्रम लगाबका साथै भाग्यले पनि साथ दियो,’ सन्दीपका बुबा चन्द्रनारायण लामिछानेले भने, ‘काठमाडौंमा नामिबिया र केन्याविरुद्धको खेल हेर्दा यसले बलिङमा राम्रो गर्छ भन्ने अनुमान गरेको थिएँ। राम्रो पनि ग-यो। सरकारले पनि खेलाडीलाई सेवा सुविधा बढाए भावी पुस्तालाई पनि खेलकुदमा लाग्न प्रेरणा मिल्थ्यो।’

सन्दीपको चमत्कारले प्रशिक्षकहरू पनि खुसी छन्। ‘हो, उनले जति मौका पाए त्यसमा आफूलाई प्रमाणित गरेका छन्। पहिलो पटक यु–१९ को क्याम्पमा बस्दा हो या सिनियर टोलीमा खेल्दा। आइपिएलमै पनि उनले आफूलाई प्रमाणित गरेका छन्। पहिलेभन्दा परिपक्व देखिएका छन्,’ नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले भने, ‘नेपालले एउटा राम्रो लेग स्पिनर पाएको छ। तर, उनले नेपाली क्रिकेटमा कति लामो समय खेल्छन् भन्ने सबैभन्दा महत्वपूर्ण हो। जसरी शक्ति गौचनले १७/१८ वर्ष नेपाली क्रिकेटलाई दिए। त्यसरी उनले खेल्न सक्छन कि सक्दैनन् । सानै उमेरमा उनले ठूला उपलब्धि पाइसकेका छन्। अब त्यसलाई कायम राख्दै लामो समय खेल्नु उनका लागि अबको चुनौती हो।’

नारायणगढको क्याम्पाचौरबाट सुरु भएको सन्दीपको क्रिकेट यात्रा विश्वकै सबैभन्दा ठूलो लिग आइपिएलसम्म पुगेको छ। तत्कालीन प्रशिक्षक पुवुदु दासानायकले २०१५ मा सन्दीपलाई क्पाम्पाचौरबाट सीधै यु–१९ टोलीको क्याम्पमा लगेर राखेका थिए। मलेसियामा भएको यु–१९ विश्वकप छनोट प्रतियोगितामा पर्न सकेनन्। तर बंगलादेशमा सम्पन्न यु–१९ विश्वकपको टोलीमा स्थान बनाएपछि सन्दीपले पछाडि फर्केर हेर्नु परेन।

‘बंगलादेशमा उनले आफूलाई प्रमाणित गरे। त्यसपछि उनले पछि फर्केर हेर्न परेको छैन,’ प्रशिक्षक टमाटा थप्छन्, ‘त्यसपछि सिनियर टोलीमा स्थान बनाए। त्यो उनको लागि ठूलो मौका थियो। त्यसमा पनि उनी सफल भए। सिनियर टोलीमा स्थान बनाइराख्नु नै ठूलो कुरा हो।’

यसबीचमा सन्दीपले हङकङमा ट्वान्टी–२० लिग खेलिसकेका छन्। हङकङमै उनले अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कलाई भटे। त्यही उनको जीवनको टर्निङ पोइन्ट बन्यो। क्लार्कले उनलाई अस्ट्रेलियाको वेस्टर्न सबर्बसमा तालिम लिए र खेले। आइपिएलमा दिल्लीसँग अनुबन्धित भएका सन्दीप वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेविस प्याट्रियट्सबाट खेल्ने भएका छन्। ‘तीन–चार वर्षअघि चितवनको त्यो सानो चौरमा खेल्दा उनी आइपिएलसम्म पुग्छन् भनेर कमैले सोचेका थिए । सायद पुवुदु (दासानायके) ले पनि सोचेका थिएनन्। यसबीचमा उनले गरेको यात्रा अविश्वसनीय नै हो,’ यु–१९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले भने, ‘यहाँसम्म पुग्नुको श्रेय त सबैभन्दा बढी सन्दीप आफैंलाई जान्छ। उनलाई सबै कुराले साथ दियो । सबैको समिश्रण मिल्दा उनले आज त्यो लेभलमा पुग्न सफल भए।’

हुने विरुवाको चिल्लो पात भनेजस्ते सन्दीपले सुरुमै राम्रो गर्ने स्वभाव देखाएका थिए। चितवनमा पूर्वकप्तान राजु खड्काको एकेडेमीमा भर्ना भएपछि सन्दीपको पहिलो प्रश्न थियो, ‘नेपालको राष्ट्रिय टोलीमा पर्न के गर्नुपर्छ ? सन्दीपको त्यो प्रश्नले प्रशिक्षक खड्कालाई रिसले पारो छुट्यो । तर संयमित हुनँदै उनले सझाव दिए । अहिले खड्का सम्झिन्छन्, ‘उनमा केही गर्छु भन्ने थियो र त त्यस्तो प्रश्न ग-यो।’

सन्दीपको सुरुआती प्रशिक्षक खड्का थप्छन्,‘सुरुमा आउँदा त सामान्य केटा थिए। तर, उनमा सिक्ने उत्सुकता भने थियो। ३०/४० जना केटाहरू थिए। अरू खेल्थे जान्थे, तर सन्दीप मलाई प्रश्न गरिरहन्थे, के कुरामा सुधार गर्नुपर्छ र कहाँ कमजोरी छ भनेर। समय बर्बाद गर्दैनथे। त्यहीअनुरूप उनले मौका पाए र सदुपयोग पनि गरे। अहिले आइपिएलमा पनि सफलता पाए।’

आइपिएल विश्व क्रिकेटका स्टार खेलाडीहरूलाई अकर्षक गन्तव्य हो। आइपिएलका सबै टोली स्टारहरूले भरिभराउ हुन्छन्। त्यसैले सुरुमा सन्दीप पनि दिल्लीको प्राथमिकतामा परेनन्। ११ खेल सकिँदासम्म दिल्लीको प्लेअफ खेल्ने सम्भावना सकिसकेको थियो। ११ खेल सकिँदा दिल्लीसँग ६ अंक मात्र थियो। बेङ्लोरविरुद्धको खेलमा दिल्लीले तीन अनुहारलाई डेब्यु गरायो। त्यसमा लेग स्पिनर सन्दीपले पनि मौका पाए।

कप्तान श्रेयस ऐयरले डेब्यु गरेका सन्दीपलाई पहिलो ओभर नै बलिङ गर्न दिए। दिल्लीका लागि त्यो रणनीति थियो भने सन्दीपका लागि सुनौलो अवसर। मिहिनेती सन्दीपले त्यो सुनौलो मौकालाई खेर जान दिएनन्। पहिलो ओभरमा ६ रन दिए। जसमा ४ बाई रन थियो। दोस्रो ओभरमा उने ओपनर पार्थिव पटेललाई एलबिडब्ल्यु आउट गरे। बेङ्लोरविरुद्ध दिल्लीबाट सबैभन्दा किफायती बलिङ सन्दीपको रह्यो । ४ ओभरमा २५ रन दिएर १ विकेट लिए। विश्वकै आक्रामक ब्याट्सम्यान विराट कोहली तथा एबी डी भिलियर्सजस्ता ब्याट्सम्यानलाई सन्दीपले काबुमा राखे। जुन सन्दीपलाई दिल्लीको बाँकी खेलमा पनि टोलीमा अट्न पर्याप्त रह्यो।

दोस्रो खेलमा सन्दीपले दोस्रो ओभर लिएर आए। क्रिजमा रहेका शेन वाट्सनले २ रन मात्र लिन सके। सन्दीपको दोस्रो स्पेलमा महेन्द्रसिंह धोनी र सुरेश रैना मिलेर ६ रन बटुले। तेस्रो स्पेलको पहिलो बलमै सन्दीपले रैनाको विकेट चट्काए। सन्दीपले चेन्नई सुपर किङ्सविरुद्ध पनि ४ ओभरमा २१ रन दिएर १ विकेट लिए। दिल्लीले चौथो जित हात पा-यो । चेन्नईलाई ३४ रनले हरायो।

तेस्रो खेल सन्दीपका लागि झनै सुखद रह्यो। मुम्बईको प्ले अफ खेल्ने आशा जीवित रहेकाले जित्नै पर्ने दबाब थियो भने दिल्लीलाई कुनै दबाब थिएन। टस जितेका कप्तान श्रेयसले ब्याटिङ गर्ने निर्णय लिए। दिल्लीले ४ विकेट गुमाएर १ सय ७४ रन जोड्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६३ रन मात्र जोड्न सक्यो। दिल्लीको जितमा सन्दीप नायक बने। पहिलो ओभर लिएर आएका सन्दीपले सूर्यकुमार यादवलाई पवेलियनका बाटो देखाए। पहिलो ओभर बलिङ गरेका सन्दीप एकै पटक दशौं ओभर लिएर आए। पहिलो बलमै सन्दीपले वेस्ट इन्डिजका किरन पोलार्डलाई आउट गरे भने चौथो बलमा हार्दिक पाण्डेयको महत्वपूर्ण विकेट लिए। जुन दिल्लीको जितमा मुख्य कारण बन्यो।

प्रकाशित: ७ जेष्ठ २०७५ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App