८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टी कार्यक्रममा उपसभामुख

राजविराज- उपसभामुख गंगाप्रसाद यादव बुधबार दिनभरजसो राजविराजमा राप्रपा नेपालले आयोजना गरेका कार्यक्रममा सामेल भए। पार्टीको कार्यक्रम व्यवस्थापनको जिम्मेवारीका साथै अध्यक्ष कमल थापाको स्वागत सत्कारलगायत गतिविधिमा समेत उनकै सक्रियता देखिन्थ्यो।

थापालाई स्वागत गर्न उनी व्यवस्थापिका संसद्ले उपलब्ध गराएको सरकारी गाडी चढेरै कोसी ब्यारेजसम्म पुगेका थिए। त्यसपछि पनि दिनभर थापाकै अघिपछि देखिए।

उपसभामुख भएलगत्तै देखि यादवले यस्ता क्रियाकलापलाई निरन्तरता दिँदै आएका छन्। यसअघि पार्टी अध्यक्ष तथा तत्कालीन परराष्ट्रमन्त्री थापा विदेश भ्रमणबाट फर्किंदा यादव खादासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका थिए।

गृहजिल्ला सप्तरीमा पनि उनीमाथि संसद् विकास कोषको योजना बाँडफाँटमा हस्तक्षेप गरेको, पार्टी अध्यक्ष थापाकै आडमा आफन्तलाई स्थानीय निकायमा जागिर खुवाएको, जिविसमा अनावश्यक हस्तक्षेप गरेको लगायत आरोप लाग्दै आएको छ।

उपसभामुख दलीय राजनीतिबाट अलग रहने पद भए पनि यादवले त्यसको मर्यादा बिर्सिएको जानकारहरू बताउँछन्।

राजविराजस्थित एक होटेलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष थापासँगै देखिएका यादवलाई सञ्चारकर्मीले सोधेका पनि थिए, ‘पदीय मर्यादाविपरीत यसरी पार्टीगत कार्यक्रममा सहभागी हुन मिल्छ र!' जवाफमा उनले सजिलै भनिदिए, ‘जसले मलाई उपसभामुख बनायो, उही व्यक्ति आउँदा मैलै स्वागतसम्म गर्न नपाउने?'

गत असारमा राप्रपा नेपाल सप्तरीको जिल्ला अधिवेशन उद्घाटन तथा बन्दसत्रमा समेत  यादवले सहभागिता जनाएका थिए।

प्रकाशित: १६ भाद्र २०७३ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App