coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इटहरीमा ठूला होटल तथा लज खुल्ने क्रम बढ्दो

इटहरी - पूर्वकै उदाउँदो सहर इटहरीमा स्वदेशी–विदेशी पर्यटकलाई लक्षित गरी ठूलो लगानीमा नयाँ होटल र लज खुल्ने क्रम बढेको छ । यहाँ चाँडै नै अहिलेसम्मकै ठूलो लगानीको होटल गरिमा खुल्दैछ।

उक्त होटलमा ८० करोड रुपैयाँ लगानी भएको यसका प्रवर्द्धक बताउँछन् । गरिमामा स्थानीय तीन व्यापारी बलराम आचार्य, भीम पौडेल र कृष्ण नेपालको लगानी छ । होटलको स्तर तोकिन बाँकी रहेको लगानीकर्ता बताउँछन् । ‘तारे स्तरको अनुमति लिन बाँकी छ,’ सञ्चालकमध्येका आचार्यले भने, ‘आउँदो दसैंअघि उद्घाटन गर्ने गरी तयारी भइरहेको छ ।’

गरिमासँगै पाँचतारे बराबर सेवा, सुविधा दिने दाबी गर्दै गोरखा डिपार्टमेन्ट स्टोरले लज सञ्चालन गर्दैछ । गोरखाले अहिलेसम्म खाना खाने सेवा दिइरहे पनि बास बस्ने व्यवस्था थिएन । अब त्यसका लागि लज सञ्चालन गर्न लागिएको गोरखाका सञ्चालक बताउँछन् । त्यसका लागि ३५ कोठाको संरचना बन्दैछ । गोरखाकै छेउमा भाइसन बर्देवाले गेस्ट हाउस खोल्ने तयारी गरेका छन् । नयाँ तिरुपति होटल पनि ठूलै लगानीमा खुल्दैछ।

इटहरीमा पछिल्लो समय ६ नयाँ होटल खुलेका छन् । बजार क्षेत्रमा ठूलो लगानीमा जात्रा, एमएफसी, त्रियुगा, पाथीभरा, सुमेरु र दरबार इन होटल खुलेका छन् । पाथीभरा र सुमेरु पहिलेदेखि सञ्चालन हुँदै आए पनि लगानी थपेर विस्तार गरिएको हो । इटहरीकै आपगाछीमा मझेरी खुलेको छ । मझेरीमा ग्राहकको चाप थामिनसक्नु छ । यहाँ नयाँ खुलेका सँगै पहिलेदेखि चल्दै आएका तिरुपति, प्रिमियर, पशुपतिलगायत होटल नाम चलेकामा पर्छन् ।

मध्यमस्तरका बास बस्ने होटल र लजमा मितेरी, मेचीकाली, ओम पाथीभरा, पूर्वाञ्चल, होटल ओ माई डियर, हेरिटेज, इलामेली, हिरा, वेलकम, पेरिस, गणपति, हिमाल, कृष्ण, यात्री, नीलकण्ठ, दियालो, जय नेपाल, भिइआइपी, रोयल, कुमारी लन्डन र वान्समोर पर्ने गरेको होटल व्यवसायी संघ इटहरीका सचिव उमेश दाहालले बताए ।

उनका अनुसार खाना खुवाउने होटलमा गोरखा, पूर्वाञ्चल आइसक्रिम, होटल न्यू मितेरी, ओखलढुंगा, मिसन प्वाइन्ट, रोयल रिसोर्ट, चिन्तन चौतारी, आई सिनेमा, लालिमा, हिरा, कटवाललगायत होटल छन् । पार्टी प्यालेसमा इटहरी बैंकेट, दुर्गा र मनशान्त नाम चलेका छन् ।पूर्वी पहाडी जिल्ला र तराईका मानिस इटहरी भएर आवतजावत गर्ने भएकाले बासस्थानको उपयुक्त केन्द्र मानिन्छ । त्यसैले यहाँ होटल र लज खोल्नेको संख्या ह्वात्तै बढेको हो । यातायातको सहज पहुँचले गर्दा होटल तथा लजमा मानिसको चाप सधैं हुने व्यवसायी बताउँछन् ।

विदेशी तथा स्वदेशी पर्यकटकलाई लक्षित गरी होटल र लज आधुनिक ढंगले सञ्चालन गर्न थालेका छन् । कतिपयले पुराना होटलमा लगानी थपेर मर्मत तथा रंगरोगन गरी स्तरोन्नति गरेको पाइएको छ । यहाँ खुलेका अधिकतर होटल तथा लजमा असारदेखि असोजसम्म बाहेक अरु सबै समय ग्राहकको जमघट हुने गरेको छ । असारदेखि असोजसम्म भने कमै मात्र ग्राहक आउँछन् ।इटहरीमा साना–ठूला गरी एक हजार पाँच सय हाराहारी होटल छन् । तर, तीन सय हाराहारी मात्र दर्ता छन् ।

इटहरीदेखि तरहरा सेकुवा कोरिडोर

इटहरीको मुख्य बजारदेखि उत्तर तरहरासम्मको झन्डै चार किलोमिटर दुरीमा पर्ने सडक छेउछाउले सेकुवा करिडोरको रुपमा चर्चा कमाउन थालेको छ । यस क्षेत्रमा खुलेका पसल सञ्चालकलाई साँझपख सेकुवा पोल्न भ्याइनभ्याई हुने गरेको छ ।

कोसी राजमार्गले छोएको यो बजार आसपासमा बग्रेल्ती सेकुवा पसल छन् । यो सडक खण्डबाहेक इटहरी बजार क्षेत्रमै संखुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, कान्तिपुर, राई कान पार्लर लगायत सेकुवा पसल छन् । इटहरी क्षेत्रमा ५० भन्दा माथि सेकुवा पसल रहेको होटल व्यवसायी संघले जनायो ।इटहरी क्षेत्रमा सेकुवा खानाकै लागि पूर्वको धरान, विराटगनरलगायत अन्य स्थानबाट ग्राहक आउने गर्छन् । सुरुमा इटहरी क्षेत्रमा खसीको मात्र सुकेवा बिक्री हुने गरे पनि अचेल बोका, कुखुरा र बंगुरको पनि बिक्छ । इटहरी क्षेत्रमा होटल, लज र सेकुवा कर्नरमा गरी दैनिक दुई करोड ५० लाखभन्दा बढीको कारोबार हुने गरेको होटल व्यवसायी संघले जनायो ।

प्रकाशित: ७ जेष्ठ २०७५ ००:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App