४ वैशाख २०८१ मंगलबार
अन्य

गायिका ज्योति मगरलाई आठ अभियोग

सयौं गीतमा स्वर दिइसकेकी ज्योति मगर आफ्ना गीत, स्टेज प्रस्तुति र विविध हर्कतका कारण चर्चामा छाइरहन्छिन्, विवादमा आइरहन्छिन् । दोहोरीलाई फोहोरी बनाएको आरोप खेप्दै आएकी उनलाई संगीत क्षेत्रमा सुनिने कुराहरुका आधारमा शुक्रवार साप्ताहिकले आठ अभियोग लगाएको छ।

ज्योती विरुद्दका आठ अभियोग

  • स्वरमा नजमेपछि अंग प्रदर्शनलाई बढावा दिएको
  • भगवानले स्वर र स्तन रोज्न दिए भने रोजाई स्तन हुने
  • ज्यादा मदिरापान गर्ने
  • स्टेजमा स्वर भन्दा शारीरिक भावभंगीले दर्शक लठ्याउन खोज्ने
  • चर्चाका लागि जस्तोसुकै हर्कत गर्न तयार रहने
  • लोकदोहोरीलाई फोहोरी बनाउने प्रमुख पात्र
  • लोकसंगीतको मर्म बारे अनभिज्ञ रहेको
  • सस्तो व्यवहार देखाउने

१ तपाईं स्वरमा नजमेपछि शरीर प्रदर्शन गरेर टिकेको कलाकार हो।
जुन बेला ज्योति मगरका बारेमा आलोचना हुन थाले, ज्योति मगरका स्कर्टका कुरा हुन थाले त्यतिबेला मेरा २–३ वटा गीत बजारमा हिट भइसकेका थिए । ‘उही मुलाको सिन्की’, ‘जिम्माल बाउकी छोरी’, ‘मलाई उत्ताउली नभन’ गीत हिट थिए । युट्युबमा अहिलेसम्म सबैभन्दा बढी भ्युअर्स कमाएको नेपाली लोकदोहोरी गीत सायद मेरो ‘उही मुलाको सिन्की’ नै हो । ‘उही मुलाको सिन्की’ रामचन्द्र काफ्लेसँग गाएको हुनाले कतिपयले उहाँकी श्रीमती अर्थात् गायिका जुनुको स्वर पनि ठान्दा रहेछन् । धेरैले मलाई यो त जुनु रिजालको गीत होइन भनेर सोध्थे पनि । अर्को कुरा, स्वरमा जम्नुअघि नै म स्टेजमा जमिसकेकी थिएँ । २०६३ सालमा काठमाडौंमा प्रवेश गरेकी म एक वर्षको संघर्षपछि नै व्यस्त हुन थालेँ । १२ वर्षको अवधिमा मैले पछाडि फर्केर हेर्नुपरेको छैन । कुनै महिना छैन, जहाँ मैले स्टेज नपाएको होस् । त्यसैले यो अभियोग अस्वीकार गर्छु ।

२ भगवानले स्तन र स्वरमध्ये एक रोज्न दिएभने तपाईंको रोजाइ स्तन हुन्छ।
हैन । मलाई जिन्दगीभर गाइरहन मन भएकाले पहिलो रोजाइमा स्वर नै हो तर प्रकृतिलाई हेर्ने हो भने स्तन नै पहिला आउँछ भन्ने लाग्छ । यदि आमासँग स्तन नहुने हो भने यो सृष्टि कसरी चल्छ ? स्तनको आफ्नै मूल्य/मान्यता हुन्छ । स्तनबिना जीवन असम्भव छ । बच्चाले सबैभन्दा पहिला गर्ने स्तनपान हो तर यसको अर्थ मेरो पहिलो रोजाइ स्तन हुुन्छ भन्ने पनि होइन । 

३ तपाईं पानी नखाई बस्न सक्नुहुन्छ तर मदिरा नपिई बस्न सक्नुहुन्न । 
यो त होइन होला (हाँस्दै) । सबैलाई थाहै छ, पानी त जिन्दगी हो नि ! सायद म धेरै मदिरा पिउँछु भन्न खोज्नुभएको होला तर खासमा म सोसल ड्रंकर हो, एडिक्ट होइन । लत हुनु र समाजमा बसेर रमाइलो गर्नुमा फरक हुन्छ भन्ने लाग्छ । 
 
४ सांगीतिक कार्यक्रमका बेला तपाईं स्वरले भन्दा बढी शारीरिक भावभंगीले दर्शक लठ्याउन चाहनु हुन्छ । 
यसमा मेरो ५० प्रतिशत मात्रै सहमति छ । तर उदाङ्गो भन्नु र ‘अदा’ भन्नु फरक कुरा हो । गीत गाउँदाखेरी एक किसिमको ‘अदा’ (भावभंगिमा) दिन सक्नु राम्रो कुरा हो । यसो गर्दा राम्रै देखिन्छ भन्ने लाग्छ, सुनमा सुगन्ध भनेजस्तै । एक्सप्रेसन दिँदा प्रस्तुति झन् राम्रो हुन्छ । तापनि दर्शकको हेराइमा अर्कै लागेको हुनसक्छ । कति मान्छेले मलाई पनि ‘देखाउँछ, देखाउँछ’ भन्नुहुन्छ । तर जब कार्यक्रम हेरिसक्नुहुन्छ अनि जसले पनि दिने प्रतिक्रिया एउटै हुन्छ, ‘तपाईं गीत पनि राम्रो गाउनुहुन्छ है, एक घण्टा लगातार गाउँदा थकाइ लाग्दैन ?’ मलाई मेरो शारीरिक भावभंगिमाले मात्र दर्शक लठ्ठिएका हुन् भन्ने लाग्दैन । म डान्स गर्छु, डान्स गर्दा वाइल्ड गर्छु र त्यसो गर्दा मान्छेहरुलाई मैले देखा’को जस्तो लाग्न सक्छ तर त्यस्तो होइन । म इन्जोय गरेर प्रस्तुति दिन चाहन्छु । 

५ चर्चाका लागि तपाईं जस्तोसुकै हर्कत गर्न पनि तयार बन्नुहुन्छ । 
हर्कत गर्नका लागि भने होइन । कला क्षेत्रमा आएपछि जो पनि चर्चा कमाउनकै लागि आउने हो । यो कुरा एकदमै सत्य हो । म चर्चाका लागि काम गर्दिनँ भनेर जति पनि कलाकारले इन्टरभ्यु दिइरहेका हुन्छन्, त्यो ढोंग हो, एकदमै गलत हो । चर्चामा आउन नचाहने मान्छे त अर्कै प्रोफेसनमा गइहाल्छ नि ! कला क्षेत्रमा आउँदैआउँदैन नि ! बरु कति हदसम्म चर्चा खोज्ने, त्यो अर्कै पाटो होला । र, मेरो हद मलाई राम्रोसँग थाहा छ । त्यसलाई ध्यान दिइरहेको हुन्छु । म जे पनि गर्दिनँ । जे पनि गर्ने भएको भए त मेरो सेक्स भिडियो उहिल्यै आइसक्थ्यो होला नि ! (लामो हाँसोसहित) सबैभन्दा हेर्न लायक र रमाइलो त सायद त्यही हुन्छ होला, होइन र ? 

६ नेपालको लोकदोहोरीलाई फोहोरी बनाउनमा तपाईंको बढी योगदान छ ।  
यदि परिवर्तनलाई फोहोरी सम्झिने हो भने हो, मैले गरेको हुँ । तर समयसँगै परिवर्तन त भइहाल्छ नि ! हिजो दालभात मात्रै खाने मान्छे, आज विदेशी पिज्जा खान्छ, बर्गर खान्छ । हिजो खुट्टाले हिँड्ने मान्छे आज घोडा, कार हुँदै प्लेन चढ्न थालिसक्यो । हिजो कटुवालले समाचार आदान–प्रदान हुन्थ्यो, अहिले इन्टरनेटसम्म आइसक्यो । परिवर्तनसँगै संस्कृति स्वतः परिवर्तन हुने हो । मैले त्यसैलाई फलो गरेको हो । सबै कुरा परिवर्तन भएसँगै गीतसंगीत पनि परिवर्तन हुनै पर्छ । भोलि अर्को नयाँ कलाकार आउला अनि अझ नयाँपन दिन खोज्ला, त्यसलाई विकृति र फोहोरी भन्न मिल्छ ?

७ लोकसंगीतप्रति तपाईंको बुझाइ एकदमै हल्काफुल्का छ । सुखदुःख साटासाट गर्ने तीज पर्वलाईसम्म तपाईंले भद्दा बनाइदिनुभयो।  
कलाकार भनेको समाजको ऐना हो भनिन्छ । ऐनाले त समाज जस्तो छ त्यसैलाई प्रतिविम्बित गर्ने हो नि, होइन र ? अब तपाईं कालो हुनुहुन्छ भने ऐनामा हेर्दा गोरो त पक्कै देखिँदैन । समाज जसरी परिवर्तन हुन्छ, गीतसंगीत त्यसरी नै परिवर्तन हुँदै जाने कुरा हो । हिजोका तीज गीतमा ‘दाइ लिन आएन, भदौरे भेलले माइत जान पाइनँ’, ‘सासूले मलाई कुट्नुभयो’जस्ता दुखेसो पोखिन्थे । अहिले त हिजोजस्तो अवस्था छैन नि ! बाटोघाटो पनि बनिसके, पुल पनि बनिसके अनि मान्छे आधुनिक पनि भइसके । आज पनि मैले ‘बाढीले गर्दा माइत जान पाएन’ भन्ने गीत गाएर हुन्छ ? अहिले त महिलाहरु सशक्त भइसके, पार्टी गर्न थालिसके, जिन्स लाउन थालिसके । सेलिब्रेसन गर्ने तरिका फरक भइसक्यो । र, मेरा गीत पनि यही परिवर्तनकै उपज हुन् । यसैलाई भद्दा मान्ने हो भने त हाम्रो समाज नै भद्दा छ भन्ने बुझ्नुपर्यो । 

८ तपाईं कहिलेकाहीँ एकदमै चिप व्यवहार देखाउनुहुन्छ । संगीतवृत्तमा मदिरा पिएका बेला ज्योतिलाई सम्हाल्नै गाह्रो हुन्छ भन्ने चर्चा खुब सुनिन्छ । 
यो त काल्पनिक कुरा हो । म नपिउने होइन, पिउँछु तर जिन्दगीमा एकचोटी बाहेक पिएर बेहोस भएको छैन । कसैलाई लडेर अर्थात् चिप व्यवहार देखाएर दुःख दिएको छैन । सायद जातले पाएर पनि होला, म पिउँदा पनि आफूलाई कन्ट्रोल गर्न सक्छु । मलाई लाग्छ पिएर पनि नढल्ने, जे पायो त्यही नबोल्ने मान्छे सायद यो संसारमा मै हुँ । त्यसैले साथीहरु पनि अचम्म मान्दै सोध्ने गर्छन्, ‘तँ कहिल्यै झ्याप हुँदैनस् ?’ एकपल्ट मलेसियामा कार्यक्रमका लागि जाँदा कलाकारहरु मिलेर सेलिब्रेसन गर्दै गरेको पर्सनल भिडियो सार्वजनिक भएकाले होला, धेरैलाई त्यस्तो लाग्न सक्छ । त्यो भिडियोमा रमाइलो गरिरहेका थियौं तर हातमा बियर लिँदैमा झ्याप छ भन्न मिल्छ र ?  मगरको छोरी हुँ यार, रक्सीले कहाँ त्यति सजिलै लाग्छ ! 

प्रकाशित: ६ जेष्ठ २०७५ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App