६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने

काठमाडौं – फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने भएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म समीक्षक दीपेन्द्रले निर्देशन गर्न लागेको फिल्म ‘घामपानी’को औपचारिक घोषणा गरियो।

 

‘नेपाली फिल्म निर्देशन गर्ने भनेर स्क्रिप्ट लेखेको १० वर्ष भयो। साथीहरुले लगानीकर्ता खोजिदिँदा पनि निर्देशन गर्ने माहोल मिलेन,’ फिल्म समीक्षक दीपेन्दले भने, ‘यसपटक भने पुरानो साथी रामबाबु गुरुङले सबै जुटाइदिएपछि फिल्म निर्देशन गर्न प्रोत्साहित भएको हुँ। फेरि पत्रकारिता र फिल्म एउटै विधा भएकाले अब क्यामेरा चलाउन लागिपरेको छु।’

 

अन्तरजातीय प्रेम कथालाई विषयवस्तु बनाएर तयार हुन लागेको फिल्ममा युवाहरुको संघर्षको कथा समेटिएको छ। सिनेमा आर्टस्, हाइलाइट्स नेपाल र टचलाईट प्रोडक्सनको ब्यानरले फिल्म निर्माण गर्न लागेको हो। ‘मेरो करियरको लागि यो महत्वपूर्ण फिल्म हो। नयाँ टिमसँग सहकार्य गरिरहेको छु, 'अभिनेत्री केकी अधिकारीले भनिन्, ‘यस फिल्ममा अभिनेता दयाहाङ राईको सहयात्रीको रुपमा देखिँदैछु।’

फिल्मको सुटिङ आगामी असोज ६ देखि सुरु हुँदैछ। ‘यो जीवनभन्दा टाढाको कथा होइन। निर्देशकसँगको झण्डै १३ वर्ष लामो चिनजान भएकाले यस फिल्मको लागि धेरै पटक कुराकानी भइसकेको छ। डेढ वर्षअघि स्क्रिप्ट सुनेपछि काम गर्न उत्साहित भएपनि समय अभावले बल्ल काम गर्ने अवसर मिल्यो,' अभिनेता दयाहाङ राईले भने। फिल्मको २८ दिने सुटिङ सिन्धुलीमा हुँदैछ।

फिल्ममा अभिनेता दयाहाङ राई र केकी अधिकारीबाहेक अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, मणिराम पोखरेल, अमोघ पोखरेल, प्रेमवर्षा खड्का र सम्रान्त थापालगायतले अभिनय गर्दैछन्। फिल्ममा कालीप्रसा बास्कोटा र चन्द्रकुमार दोङले संगीत दिदैंछ। सिनेमेट्रोग्राफर शैलेन्द्रध्वज कार्कीले फिल्म खिच्दैछन्।

तस्बिरहरूः प्रबिन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App