८ वैशाख २०८१ शनिबार
अर्थ

काभ्रेमा थपियो पशुजन्य भ्याक्सिन उद्योग

बनेपा – घातक रोग रानीखेत (न्युक्यासल डिजिज)बाट कुखुरालाई बचाउने उद्देश्यले मुलुकमै फरक खालको भ्याक्सिन उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गाउँघरमा पालिने स्थानीय (लोकल) कुखुरालक्षित गर्दै बायोभ्याक प्रालिले यस्तो भ्याक्सिन उत्पादन गर्न लागेको हो।

कम्पनीले बनेपा नगरपालिका, थापागाउँमा पशुपक्षीको भ्याक्सिनको अनुसन्धान तथा उत्पादनका लागि काम अघि बढाएको हो । ‘हाल न्युक्यासल डिजिज र एभियन इन्फ्लुएन्जामा विभिन्न अनुसन्धानको थालनी हुनेछ,’ परियोजनाका प्रबन्धक डा. रुपेन्द्र चौंलागाईंले भने, ‘यसैमा आधारित भएर थर्मोस्टेबल न्युक्यासल डिजिज भ्याक्सिन उत्पादन गर्नेछौं । यो नेपउँदो स्ट्रेनको र र थोरै–थोरै डोजको प्याक साइजमा आउनेछ,’ उनले थपे।

नेपालमा रानीखेतको भ्याक्सिन भारतलगायत तेस्रो मुलुकबाट आयातित भई व्यावसायिक ब्रोइलर र लेयर्स पालनमा प्रयोग हुँदै आएको छ । त्यस्तै, सरकारको केन्द्रीय जैविकी उत्पादन प्रयोगशालाले समेत रानीखेत भ्याक्सिन उत्पादन र वितरण गर्दै आएको छ।

‘नेपालमा बनेका र आयातित रानीखेत रोगको भ्याक्सिन सबै सय डोजभन्दा कम्तीको साइजमा उपलब्ध छैन । गाउँघरमा थोरै संख्यामा कुखुरा पाल्दै आएका किसानलाई यस्तो प्याक साइज महँगो पर्नुका साथै लगाएर बाँकी हुने भ्याक्सिन फ्याँक्नुको विकल्प नभएको अवस्था छ,’ चौंलागाईंले भने।

कम्पनीले साना किसानलाई लक्षित गर्दै २५ र ५० डोजमा भ्याक्सिन उत्पादन गर्ने भएको छ । त्यस्तै, भ्याक्सिनको ओसारपसारमा कोल्डचेन (चिसोपना) व्यवस्थापन गर्नु नपर्ने खालको थर्मोस्टेबल भ्याक्सिन उत्पादन गर्न लागेको हो । यसो हुँदा किसानले विगतमा झैं रानीखेत भ्याक्सिनलाई थर्मस फ्ल्यास्क वा कोल्ड बक्समा ओसारपसार गर्नुपर्ने झन्झट रहने छैन । विगतमा यो भ्याक्सिनलाई दुईदेखि आठ डिग्री सेल्सियस तापक्रम कायम गर्दै कुखुरासम्म पु¥याएर दिनुपर्ने अवस्था थियो।

‘अनुसन्धान र विकाससँगै पहिलो चरणमा तीन वर्षसम्मका लागि ४० लाख डोज थर्मोस्टेबल रानीखेतको भ्याक्सिन उत्पादन गर्नेछौं । त्यसपछि नेपालको पोल्ट्री क्षेत्रलाई आवश्यक पर्ने अन्य भ्याक्सिन पनि व्यावसायिक रुपमा उत्पादन गर्दै जाने लक्ष्य राखेका छौं,’ चौंलागाईंले भने । सन् २०१९ को मार्चसम्ममा रानीखेत भ्याक्सिनको उत्पादन हुने उनको भनाइ छ।

बायोभ्याक कम्पनीको स्थापनाअगावै यसको मातृ कम्पनी इन्ट्रपिड नेपालले पशुरोगका भ्याक्सिनबारे अध्ययन गरेको थियो । सो अध्ययनले ग्रामीण क्षेत्रको कुखुरापालनमा रानीखेत रोगको समस्या सबैभन्दा बढी र नोक्सानी पनि धेरै रहेको पाएपछि यसैमा ध्यान केन्द्रित गर्दै आएको थियो।

‘रानीखेत रोग लागेमा ८० प्रतिशतदेखि माथि नै कुखुराको मुत्युदर हुँदा किसानको खोर नै सखाप हुने गरेको पायौं । यसबाट गाउँमा सजिलै उपलब्ध प्रोटिन (कुखुराको मासु र अण्डा) गुमेको मात्रै नभई ग्रामीण आम्दानीको बाटो पनि बन्द भइरहेको पायौं । यसै तथ्यलाई ध्यानमा राखेर बेलायतको दी पिरब्राइट इन्स्टिच्युटको सहकार्यमा रानीखेत र एभियन इन्फ्लुएन्जा रोगबारे अनुसन्धान गरिरहेका छौं । रानीखेत भ्याक्सिन हाम्रो पहिलो उत्पादन हुने नै भयो,’ बायोभ्याकका प्रमुख कार्यकारी अधिकृत एवं मोलिक्युलर बायोलोजिस्ट दिवेश कर्माचार्यले भने।

१९ वर्षकै उमेरमा छात्रवृत्ति पाएर अमेरिका गएका कर्माचार्यले अध्ययन समाप्तिपछिका १४ वर्षसम्म बोस्टनस्थित जिई हेल्थकेयरमा बायोटेक्नोलोजीका विभिन्न अनुसन्धानमूलक कार्यमा समय बिताए । मुलक फर्केर केही गर्नुपर्छ भनेर उनले सुरु गरेको पहिलो बायोटेक्नालोजी कम्पनी इन्ट्रपिड नेपालको अग्रसरतामा अहिलेको बायोभ्याक कम्पनीको सुरुआत भएको हो।

यतिखेर बनेपामा निर्माणाधीन रहेको बायोभ्याक उद्योगमा दी नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट क्लब (एनआइआइसी), इन्ट्रपिड नेपाल, नेदरल्यान्ड्सबाट वन टु वाचमार्फत र मानुसी लघुवित्त कार्यक्रमको लगानी रहेको छ । ‘हामीले बायोभ्याक परियोजनाका लागि एक मिलियन युरो (करिब १३ करोड रुपैयाँ) लगानी गर्दैछौं । यसमा डच सरकार, मानुषी लघुवित्त र इन्ट्रपिडको प्रमुख लगानी रहनेछ,’ कर्माचार्यले थपे।

मानुषी लघुवित्त कार्यक्रममा २२ हजार महिला सदस्य आवद्ध रहेका र उनीहरुमध्ये अधिकांशको जीविकोपार्जनमा स्थानीय (लोकल) जातको कुखुरापालन रहेको उनको भनाइ छ । कम्पनीले उत्पादन गर्ने रानीखेत भ्याक्सिन यीनै सदस्यमार्फत गाउँगाउँमा पु¥याउने कम्पनीको योजना रहेको छ । बायोभ्याकजस्तै नेपालका १५ वटा साना तथा मझौला उद्यम (स्मल एन्ड मिडियम इन्टरप्राइज)लाई नेदरल्यान्ड्सले वन टु वाचमार्फ ४० लाख युरो (करिब आधा अर्ब रुपैयाँ) लगानी उपलब्ध गराएको जनाएको छ।

यसअगावै बनेपा नगरपालिका–३, नालामा गोल्छा समूहले बायोटेक्नोलोजीमा आधारित मुलुककै पहिलो पशुजन्य खोप (भ्याक्सिन) उद्योग हेस्टर बायोसाइन्सेज (नेपाल) प्रालि सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले भारतको अग्रणी पक्षीजन्य खोप उत्पादक हेस्टर बायोसाइन्सेज (एचबिएल) कम्पनीको प्रत्यक्ष रेखदेख र निगरानीमा ३७ प्रकारका पशु तथा पक्षीजन्य खोप उत्पादन गरिरहेको छ।

‘दूधमा आत्मनिर्भर भइसकेको र पोल्ट्रीमा अग्रणी जिल्ला काभ्रेमै दुईवटा भ्याक्सिन कम्पनी स्थापना हुँदा यसबाट यहाँका कृषकले सर्वसुलभ रुपमा उत्पादन पाउने अवसर बढेको छ । पशुजन्य उद्योगलाई आवश्यक सहयोग गर्नका लागि हामी सदैव तत्पर छौं,’ जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नारायण श्रेष्ठले भने।

प्रकाशित: ६ जेष्ठ २०७५ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App