coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एक शिक्षकको भरमा विद्यालय सञ्चालन

महोत्तरी – महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ। वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ।

कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा एकमात्र प्रधानाध्यापक शुभकरण यादव मावि तहका शिक्षक हुन्। विद्यालयमा निमावि तहका कुनै पनि शिक्षक छैनन्। प्रावि तहमा रहेको तीन दरबन्दी, दुई राहत, दुई बालविकास र एक कार्यालय सहयोगी गरी नौजना शिक्षकको भरमा विद्यालय सञ्चालन रहँदै आएको छ। जसका कारण पठनपाठन प्रभावित हुनाका साथै विद्यालयमा कार्यसम्पादन गर्नका लागि कठिनाइ हुँदै आएको विद्यालय स्रोतले जनाएको छ। विद्यालयमा कम्प्युटर कक्षा अहिलेसम्म पनि सञ्चालन हुन नसकेको विद्यार्थीले बताएका छन्।

विद्यालयमा कम्प्युटरको व्यवस्था भए तापनि शिक्षकको अभावका कारण पठनपाठन हुन नसकेको प्रधानाध्यापक शुभकरण यादवले स्वीकार गरे। उनले आफूले यस सम्बन्धमा स्थानीय सरोकारवाला निकाय, जिल्ला शिक्षा कार्यालय महोत्तरी र शिक्षासँग सम्बन्धित हरेक निकायमा ध्यानाकर्षण गराउँदासमेत कहीँकतैबाट कुनै किसिमको सुनुवाइ वा पहलकदमी हुन नसकेको गुनासो गरे।

यस सम्बन्धमा नगर शिक्षा समितिका सदस्यसमेत रहनुभएको गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेख जलिलले अबको केही दिनमै नगरपालिकाले गर्ने शिक्षक दरबन्दी मिलानमा सो विद्यालयले पहिलो प्राथमिकता पाउने बताए। गौशाला नगरपालिकामा शिक्षा संयोजक गणेश महतो कार्यालयमा लामो समयदेखि उपस्थित नभएपछि यहाँका शैक्षिक गतिविधि प्रभावित हुँदै आएको नगरपालिकाको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ६ जेष्ठ २०७५ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App