८ वैशाख २०८१ शनिबार
कला

अस्तित्व खोज्दै लोक संस्कृति



काठमाडौं – दुई आना दुई पैसा एकदाना सुपारीलाई
कहिले सुख पाइन हजुर कर्म दुखारीलाई
छम जाले भिनाजु
क्या छाडी लैजानु .....

दरबारमार्गस्थित उत्सव होटलमा हालै देखाइएको हुड्केली नाचको अशं यो । सुदूरपश्चिमका स्थानीयले परम्परागत चाडपर्वमा नाच्ने हुड्केली विदेशी पाहुनाले पनि निकै मन पराउँछन्।

चितवनकै पर्यटकीय शहर सौराहामा स्थानीय थारु समुदायका पुरुषले पारम्परिक लाठी नाच तथा महिलाले झम्टा नाच देखाउँदा लोभिएर सेल्फी खिच्ने विदेशी पाहुनाको भिड नै लाग्छ । अझ देशभर खुलेका रात्री मनोरन्जनका रेष्टुरेन्ट र होटलमा लोक दोहोरी तथा सांस्कृतिक नृत्य ग्राहकको रोजाइमा पर्छन् । यसले विदेशीमात्र हैन नेपालीका लागि पनि लोकनृत्य रूचिकर बन्न पुगेका छन्।

नेवार समुदायको धिमे, शेर्पा समुदायको शेर्पा नाच, राजधानी उपत्यकामा प्रचलित मञ्जुश्री नाच, लाखे नाचलगायतका नाच नौ देशका विदेशी र नेपालीले सँगै हेरे । इस्टोनियाका प्रोफेसर उलो भल्क, भ्यालेन्टिना पुन्जी, र मादिस अरुकास्क, युकेका प्रोफेसर रोय एन्डरसन, भारतका प्रोफेसर भि जयरन्जन, रामाकृष्ण, रविन्द्रनाथ शर्मा र सुमन सेन, श्रीलंकाकी अथापथुगी विजयवर्धना, प्रभात चुतरंगा र जि.आर.एन विजयरत्न, थाइल्यान्डकी वान्भिसा श्रीलंङ्गन, बंगलादेशका मोहम्मद इम्दादुर रासिद, जिनत रेहाना, स्पेनकी भिक्टोरिया सुविराना, अमेरिकाकी नेनिता पाम्बिड डोमिङ्गो र फिनल्यान्ड घर भई अमेरिकाको हेलसिन्की युनिभर्सिटीमा प्रोफेसर रहेकी पिर्को मोजाइला नेपालको विभिन्न जातका नाच हेर्ने दर्शकको रुपमा थिए।

अधिकांसले पिएचडी गर्दा नेपालको जनजातीय तथा लोक संस्कार र संस्कृतिमाथि अध्ययन गरेका थिए । यस्तो लोक जीवन पश्चिमा राज्यमा अनुपलब्ध भएकै कारण उनीहरू यता आकर्षित भएका हुन् । नेपाली कला संस्कृतिको संरक्षणमा लागेको लोकवार्ता समाजले शनिबार र आइतबार राजधानीमा आयोजना गरेको छैठौं अन्तर्राष्ट्रिय लोकवार्ता कंग्रेसमा सहभागी हुन नेपाल आएका थिए । दुई दिनसम्म चलेको कंग्रेसमा उनीहरूले आफ्नो अध्ययन मात्र बाँडेनन्, विभिन्न देशका अध्यताले गरेका अध्ययन पनि मज्जाले  सुने।

‘दक्षिण एसिया भाषा, कला संस्कृतिमा धनी छ,’ इस्टोनियाका प्रोफेसर उलो भाल्कले भने, ‘नेपालको लोक जीवनले त्यसको थलो पूरा गरेको छ ।’ शैक्षिक मापदण्ड पूरा गर्नमात्र हैन ज्ञानको विस्तार गर्न र अन्तर्राष्ट्रिय कला संस्कृति एकअर्कामा साटासाट गर्न नेपाल नै एउटा थलो भएको छ । युकेका प्रोफेसर रोय एन्डरसन पहिलोपल्ट नेपाल आएर यसरी लोक जीवनलाई नजिकबाट नियाल्न पाउँदा युरोपतिर लोप भइसकेको ड्राकुुला देखे झै भएको टिप्पणी गरे।

‘धेरै पहिले सोलुखुम्बुजाँदा स्थानीयलाई देखेको थिएँ,’ उनले भने, ‘यहाँ त नेपालको मात्र हैन धेरै देशको लोकजीवन सुन्न पाउँदा खजाना नै भेटे जस्तो लाग्यो ।’ नयाँ नयाँ लोकोक्ति सुन्न पाउँदा संसार घुमेजस्तै महसुस उनले गरे । थाइल्यान्डकी ओन्विसा श्रीलंगनले केही संस्कार संस्कृति तथा भाषिक शब्दावली उस्तै भेटिन् । ‘नेपालीले भन्ने ‘कविता’ शब्द हिन्दी र वंगलादेशीले पनि बोल्दा रहेछन्,’ उनले लोकशैलीको मिलान भेटकोमा दंग पर्दै भनिन् , ‘मनोतस्सतः भन्ने शब्द पनि सबैतिर बोलिँदो रहेछ ।’ थाइल्यान्डतिर वनमान्छेलाई सम्मान गरेर बोलिने नमस्कार भारत र नेपालमा सबैको सम्मानमा बोलिने गरेकाले पनि विश्वमा भाषिक समानता रहेको उनको तर्क थियो।

भारतका प्रोफेसर रामकृष्णले विश्वविद्यालयमा पढाइनेभन्दा फरक लोकशैली र लोकजीवनको अध्ययनमा नेपाल अगाडि बढ्दा आफूजस्ता अध्येताले अवसर पाउने धारणा राखे । अमेरिकाकी नेनिता डेमिंगोले न तेपाल एउटा सिंगै विश्वविद्यालय जस्तै भएको बताइन् । ‘उतातिर  इन्डिजिनियस शब्द प्रयोग नै हुँदैन,’ उनले भनिन्, ‘तर लोक शैलीको यो जमघटबाट मैले अब त्यो शब्द त्यहाँ लगेर प्रयोग गर्नका लागि बताउनेछु ।’ विश्वका धेरै देशले प्रयोग गर्ने जनजातीय पहिचानको शब्दमा एकरुपता पाइनु लोकजीवनको नदेखिएको अस्तित्वको परिणाम भएको उनले सुनाइन्।

उनले भनेझैं एउटा पुस्ताबाट लोकजीवन र लोकशैली अर्को पुस्तामा हस्तान्तरण गर्न छुट्टै विधाको रुपमा अगाडि बढाउन जरुरी रहेको जमघटको निष्कर्ष थियो । फलस्वरुप कंग्रेसको समापनको बेला लोकवार्ता समाजका अध्यक्ष तुलसी दिवसले दुईबुँदे घोषणापत्रको पहिलो बुँदामा नै नेपालस्थित त्रिभुवन विश्वविद्यालयले चाँडै नै लोकजीवन वा लोकसंस्कृतिको छुट्टै विभाग गठन गर्नेछ भन्ने उल्लेख गरे।

‘शिक्षक पनि तय भए, स्लेवस पनि बनिसकेको छ पढाइ भइसक्नु पर्ने तर हुन सकेको छैन,’ अभि सुवेदीले नागरिकसँग भने, ‘नहुँदाको अवस्थामा मैले अंग्रेजी विभागमा लोकसंस्कृति विषय राखेर चित्त बुझाएको थिएँ।’

सबै अध्ययनको वातावरण बनेर करिब दुई वर्ष अघि छुट्टै विभाग प्रस्ताव भएर स्वीकृत भएको थियो । ‘राम्रो काम भनेर कुखुराको मासु र मसिना धानको भात खुवाए, रक्सी खानेले दुई चार ग्लास पनि खाए तर लोक संस्कृतिको पढाइ सुरु भएन,’ उनले भने, ‘त्यो अनुमति दिने मानिस अहिले सहायक डिन नै छन् तर किन कार्यान्वयन गरेनन् खै ?’

जनगणना २०६८ अनुसार नेपालमा १२५ जातिको १२३ भाषा बोलिन्छ । तर अध्ययनको हिसाबले हेर्दा १४० बढी जातजाति र भाषाभाषीको सम्भावना रहेको तुलसी दिवसले बताए । मौखिक रुपमा लोकगाथा, लोकगीत र लोक कथाको रुपमा विश्रृंखल रहेको नेपाली लोकसंस्कृतिको इतिहासलाई श्रृंखलावद्ध गर्न पनि औपचारिक विधाको आवश्यकता उनले औंल्याए।

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App