coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवलोकनकर्ताको रोजाइमा भेरी–बबई सुरुङ

भेरी–बबई डाइभर्सन आयोजना स्थल। तस्बिर : निर्मल/नागरिक

बर्दिया – सडक सव–डिभिजन कार्यालय डोल्पाका इन्जिनियर जगन्नाथ खनालको मनमा खुल्दुली थियो– मेसिनबाट खनेको सुरुङ कस्तो होला ? सुरुङ खन्ने मेसिन(टिबिएम)लन्च भएको थाहा पाएका खनालले मनमनै वाचासमेत गरिसकेका रहेछन्– डोल्पाबाट झरेपछि जसरी पनि मेसिनबाट खनेको सुरुङ अवलोकन गर्छु । नभन्दै उनले सुर्खेत पुगेको पहिलो दिन डोल्पाबाट सुरुङ हेर्न हात्तीखाल पुगे । नमुना सिँचाई र जलविद्युत्का काम तीव्र गतिमा भइरहेको देखेर उनले सन्तोष व्यक्त गरे । सुरुङ छिचोल्ने क्रममा भेटिएका उनले भने, ‘आहा ! विकास त यसरी पो हुनुपर्छ।’

आफ्नो सम्बन्धित विषय भएकाले पनि सुरुङ अवलोकन गर्न पाउँदा ज्यादै खुसी लागेको इन्जिनियर खनालले सुनाए । सुरुङ अवलोकनका लागि हात्तीखाल पुग्ने उनी एक्ला थिएनन्, उनीसँगै जाजरकोट, डोल्पा, रोल्पाका एक दर्जन कर्मचारी त्यहाँ पुगेका थिए । सुरुङ अवलोकनपछि हात्तीखाल परिसरमा सबै उत्साहित देखिन्थे।

‘सुरुङ साँच्चिकै हेर्नलायक रहेछ, सुरुङभित्र रेल आवागमनले झन् रमाइलो गरायो,’ डोल्पामा कार्यरत् लेखा अधिकृत गंगा खतिवडाले भनिन्, ‘रेल हेर्न भारत जानुपथ्र्याे यहीं देख्न पाइयो।’

हात्तीखालको अजंगको पहाडभित्र छिरेर मेसिनले सुरुङ खन्दैछ । पहाड भित्रभित्रै साढे चार किलोमिटर सुरुङ खनिसकिएको छ । सुरुङभित्र २४ सै घन्टा रेल चल्छ भने कर्मचारी र मेसिनले आफ्ना काम गरिहेका हुन्छन् । बिहान र बेलुका अवलोकनकर्ताले पनि रेल चढ्ने मौका पाउँछन्।

अध्ययन वा अवलोकन भ्रमणका लागि जानेहरू रेल चढेर सुरुङभित्र पस्छन् । सुरुङभित्र छुकछुके रेल आवागमनको दृश्य रोमान्चक लाग्ने अवलोकनकर्ता बताउँछन् । ‘सुरुङ साँच्चिकै हेर्नलायक रहेछ, सुरुङभित्र रेल आवागमनले झन् रमाइलो गरायो,’ सुरुङ अवलोकनका क्रममा भेटिएका डोल्पामा कार्यरत् लेखा अधिकृत गंगा खतिवडाले भनिन्, ‘रेल हेर्न भारत पुगिरहनु परेन, यहीं देख्न पाइयो।’

दुई वर्षभित्र १२ किलोमिटर सुरुङ खन्ने लक्ष्य आयोजनाको छ । हालसम्म साढे ४ हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । दैनिक २२ देखि २५ मिटरसम्म सुरुङ खन्ने काम भइरहेको छ । यही अनुपातमा काम अगाडि बढिरहे तोकिएको अवधिभन्दा चाँडै आयोजना सम्पन्न हुने आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सिडिई) रुक्मांगत खनाल बताउँछन् । ‘इन्जिनियरिङ कलेजका शिक्षक–विद्यार्थी अध्ययनका लागि आउँछन्,’ उनले भने, ‘यस आयोजनाले विद्यार्थीलाई राम्रो अवसर प्रदान गरेको छ।’

‘टिबिएम प्रविधि नेपालका लागि नयाँ भएकाले स्वाभाविक रूपमा यससँग सम्बन्धित सबैका लागि स्थलगत अध्ययनको क्षेत्र हुने गरेको छ,’ आयोजनाका कर्मचारी गणेश श्रेष्ठले भने, ‘आयोजना निर्माणस्थल आउनेहरूले रुचिका साथ हेर्ने गर्छन्।’

भ्रमणमा आउनेहरूको यति धेरै घुइँचो लाग्छ, कहिलेकाहिँ भीड थेग्नै मुस्किल हुने गर्छ । आयोजनाले अवलोकनमा आउनेलाई घुमाउन कर्मचारी श्रेष्ठलाई भिजिटर गाइडको जिम्मेवारी नै दिएको छ । श्रेष्ठका अनुसार दैनिक कम्तीमा सयदेखि हजार जनासम्म आयोजना अवलोकनका लागि आउँछन् । ‘सबैको चासो मेसिनले सुरुङ कसरी खन्दोरहेछ भनेर हेर्नमै हुन्छ,’ उनले भने, ‘कहिलेकाहिँ त मान्छेको भीड थेग्नै गाह्रो हुन्छ।’

आर्थिक वर्ष ०६८÷६९ मा सुरु भएको ऊर्जा, सिँचाइ, ग्रामीण विकास र जलाधार संरक्षणजस्ता बहुउद्देश्य आयोजनाका छन् । हात्तीखाल र गेरुवानीमा रिङरोड निर्माण, सोलार पावर सिँचाइलगायत स्थानीय सडक सुधारका काम भइरहेका छन् । यस्तै चेपाङमा ग्रामीण सडक सुधारका साथै कुरुले, बाटुले भंगाहमा स्थानीय कुलो सुधार र नदी नियन्त्रणका काम भइरहेका छन्।

आयोजनाको कुल लागत १७ अर्ब रुपैयाँ अनुमान गरिए पनि सुरुङ निर्माण भने १० अर्ब ५६ करोड रुपैयाँको लागतमा सम्पन्न हुने बताइएको छ । बबईको छेउबाट सुरुङ खन्दै जाँदा सुरुङको ६ किलोमिटर सम्भावित जोखिम क्षेत्र मानिन्छ । यो पार भइसकेपछि बाँकी ६ किलोमिटर कम जोखिम आकलन गरिएको छ।

सुर्खेतको छिन्चुस्थित चिप्लेमा करिब १५ मिटर अग्लो बाँध बाँधेर भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा ल्याउने योजनाअनुसार काम भइरहेको छ । जसबाट बाँके र बर्दियाका ५१ हजार हेक्टरमा बाह्रैमास सिँचाई हुने अपेक्षा गरिएको छ । टीबीएम मेसिनलगायत अन्य काम गर्न चाइना ओभरसिज कम्पनीले जिम्मा लिएको छ। बहुउद्देश्यीय पूर्वाधार विकास आयोजनाअन्तर्गत पूर्वाधार विकास योजनाहरू सँगसँगै सञ्चालन हुने छन्।

स्थानीयलाई रोजगारी
सुरुङ खन्ने कामले गति लिएसँगै सयौं स्थानीय युवाले रोजगारी पाइरहेका छन् । आयोजनाअन्तर्गत ६ सय ५० कामदारमध्ये ५ सय ५० जति नेपाली नै छन् । त्यसबाहेक पाकिस्तानी, टर्की, जर्मनी र इटाली छन्।

यसअघि रोजगारीका सिलसिलामा भारतका साथै विदेश जाने गरेका सुर्खेत, बर्दिया, बाँके, दैलेख, अछाम, जाजरकोटका साथै पूर्वी नेपालका युवाले अहिले यहीँ रोजगार पाइरहेका छन् । उनीहरूले मासिक १५ हजार देखि ७५ हजार रुपैयाँसम्म कमाइरहेका छन् । युवालाई आफ्नै ठाँउमा रोजगारी दिँदा राष्ट्रिय गौरवका आयोजनाप्रतिको आर्कषण बढेको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App