मदन पुरस्कार विजेता राजनमाथि आरोप : ‘मेरा श्रीमान् ‘१५ औं प्रेमिकासँग बस्छन्’

शनिबार, ०५ जेठ २०७५, १४ : २९ नागरिक

प्रगति राई जमेकी साहित्यकार हुन् । खुलस्त लेखनले उनी चर्चामा आउँछिन्। ‘लेखककी स्वास्नी’ उपन्यास उनको खुलस्त लेखनको उदाहरण हो। दोस्रो उपन्यास ‘बिर्सेको मृत्यु’ पहिलोझैँ जमेन। अहिले भने उनी लेखनभन्दा वैवाहिक जीवनबारे आफैँले सार्वजनिक गरेको अभिव्यक्तिले चर्चामा छिन्। 

‘मेरो श्रीमान् अहिले १५ औं प्रेमिकासँग बस्छ,’ उनी निर्धक्क श्रीमान्को परस्त्री सम्बन्धबारे बोल्छिन् तर कानुनीरूपमा उनी मुकारुङकी पत्नी नै हुन्। दुवै अलग–अलग बस्छन्, छोडपत्र भइसकेको छैन तर पतिपत्नीबीचको व्यावहारिक र भावनात्मक सम्बन्ध छैन, दुवैबीच।

उनका पति हुन्, मदन पुरस्कार विजेता राजन मुकारुङ जो शब्दमार्फत् पिछडिएका वर्गको मुक्तिको पक्षमा वकालत गर्छन् । सिमान्तमा पारिएका, उत्पीडनमा पारिएकाहरुको पक्षमा उभिने उनी अहिले आफ्नै श्रीमतीबाट अक्षम पति र लापरवाह बाबुको उपमा पाइरहेका छन्।

उत्पीडित दलित वर्गको पक्षमा लेखिएको ‘दमिनी भीर’ उपन्यासले उनलाई मदन पुरस्कार दिलायो तर उनै मुकारुङ उनकी पत्नीको नजरमा स्त्री लम्पट छन्। 

दुवैसँगको कुराकानीका सम्बन्धमा तीतो घोल्ने काम करिब एक वर्षअगाडि राजनकाे माेबाइलमा फेला परेकाे अापत्तिजनक तस्बिर बनेको देखियो । प्रगतिले दुवै बीचको सम्बन्ध सार्वजनिक गर्दा ‘१५ औं प्रेमिकाको तस्बिर देखेपछि सहन सकिनँ’ भनेकी थिइन् । ती १५ औं प्रेमिका को हुन् ? दुवैले खुलाएका भने छैनन्। 

प्रगतिका शब्दमा अहिले उनले श्रीमान् मुकारुङसँगको सम्बन्धमा १० वर्षको छुट्टी लिएकी छन्। उनी अहिले छोराहरुसँग बस्छिन्, राजन आफ्नी १५ औं प्रेमिकासँग। 

भौतिक र शारीरिक दुवै रूपमा निकट नभए पनि दुवै कानुनी रूपमा अलग भएका छैनन्। आखिर कस्तो सम्बन्ध हो दुवैको ? के ले रोकेको छ दुवैलाई, एक हुन् या कानुनी रूपमै अलग हुन्। 

शुक्रवारकर्मीले प्रगति र राजन दुवैको यो पाटो केलाउने प्रयन्त गर्याे। प्रगति शुक्रवारसँग आफ्नो वैवाहिक सम्बन्धबारे खुलेरै बोलिन्। साहित्य यात्राबारे चर्चा गर्दा खुलेकी उनी जब व्यक्तिगत जीवनमा प्रवेश भयो, उनी केही भावुक, केही कठोर देखिइन्। 

प्रगतिको मात्र भनाइ राख्दा अपुरो हुन्थ्यो, यो विषय। शुक्रवारकर्मीले राजनसँग समेत सम्पर्क गर्‍यो । पछिल्लो समय उनी काठमाडौं भन्दा बाहिरै बस्ने रहेछन्। शनिबार सम्पर्क गर्दा उनी धरानमा थिए। उनी काठमाडौं फर्किएर प्रत्यक्ष कुराकानी गर्ने पक्षमा देखिए । शुक्रवारले टेलिफोनमा कुरा गर्न राखेको प्रस्ताव अस्वीकार गरेनन्।

मुकारुङ वैवाहिक जीवनका चर्चापरिचर्चाबारे त्यत्ति गम्भीर देखिएनन्, जति प्रगति देखिएकी थिइन्। उनी यसलाई श्रीमान्–श्रीमती बीचको सामान्य ठाकठुकको कोणबाट विश्लेषणमा लागे । तर, दुवैको भनाइले उनीहरुको सम्बन्ध ठाकठुक मात्रै हैन भन्ने देखाइरहेको थियो।

‘सार्वजनिक भएका सबै कुरा सत्य होइनन् ।  प्रगतिजीले  त्यस्तो  भन्नुभयो जस्तो लाग्दैन,’ उनले प्रष्टीकरण दिए, ‘यो बाहिरका मान्छे घर जोड्नेभन्दा पनि तोड्नेतर्फ उन्मुख भए जस्तो लाग्छ।’

प्रगतिले जसलाई आफ्नो श्रीमान्को १५ औं प्रेमिकाको रूपमा चित्रण गरेकी छन्, उनलाई राजन भने केवल प्रशंसक मात्रै रहेको दाबी गर्छन्। राजन भन्छन्, ‘सबैको प्रेमी–प्रेमिका हुन्छन् तर म अरुजस्तो लुकाएर हिँड्दिनँ ।’ उनको परिभाषामा ‘घरपरिवार र  प्रेम भनेको फरक कुरा हो । प्रेम जसलाई पनि गर्न मिल्ने’ उनको भनाइ छ । उनको यो भनाइले प्रेमप्रति उनको उदार भाव देखाउँछ । प्रगतिलाई उनको यही उदार भाव बिझाएको देखिन्छ। 

‘१५ औं  प्रेमिका भनेर जसलाई आरोप लगाइयो उहाँले मलाई  लेखकको रूपमा सम्मान गर्नुहुन्थ्यो,’ राजन प्रष्टीकरण भावमा टेलिफोनमा प्रस्तुत भए । ‘सँगै बसेर चिया खाइयो, सेल्फी  खिचियो, त्यही फोटोलाई लिएर  प्रगतिजीले निहुँ खोज्नुभयो ।’   
 

‘१५ औं प्रेमिका खुलेपछि सँगै बस्न सकिनँ’

–प्रगति राई

तपाईंको व्यक्तिगत जीवनको प्रसंगबारे कुरा गरौं...?

उनी केही अक्मकाइन् र भनिन्
‘हैन नजाऊँ । खालि एउटै कुरामा कति जानु ? पाठकहरु पनि रिसाइसके ।’
(उनी तत्काल आफ्नो वैवाहिक अवस्थाबारे कुरा गर्न राजी नभएपछि प्रसंग उनको लेखनमा केन्द्रित गरियो ।)

तपाईंले उपन्यास ‘लेखककी  स्वास्नी’मा आफ्नै पीडा लेख्नु भएको हो ?
(आफ्नो पुस्तकबारे प्रश्न आएपछि उनी केही सहज भइन् ।)
धेरैले पुस्तकको प्रमुख पात्र...  मै हो भन्छन् तर यो मेरो मात्रै हैन, सबै ‘लेखककी स्वास्नी’को कथा हो ।

भनेपछि त्यो आफ्नै पीडा हो ?
होइन, हाम्रो जनजातिमा त्यस्तो हुँदैन । श्रीमान्ले बिहे गरेर लगे पनि अरू कुरा महिलाको हातमा हुन्छ । धेरै विभेद हुँदैन ।

 राजन मुकारुङसँगको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्नु पनि भएको छ । खासमा तपाईंहरुको सम्बन्ध कस्तो हो ?
अहिले हामी छुट्टै छौँ । एक वर्ष भयो, फोनमा पनि कुरा भएको छैन । म नै ऊसँग बोल्न चाहिनँ । १० वर्ष मलाई स्वतन्त्र छोडिदेऊ, मलाई दुःख नदेऊ भनेँ, उसले मेरो भनाइ मान्यो, अहिले हामी पृथक् छौं । 

तपाईंहरुको सम्बन्ध कसरी जोडियो त ?
विवाह के हो भन्ने चालै नपाउँदै हाम्रो सम्बन्ध जोडिएको हो । उनका आफन्तले झुक्याएर उनको घर पुर्याए । त्यो बेला म भर्खर १६ वर्ष पुगेकी थिएँ । कक्षा ६ मा पढ्थेँ । उनको घरमा पुगेपछि चालै नपाई बिहे भयो ।

१० वर्षपछि उहाँ तपाईंसँग पुनः आउन चाहनुभयो भने स्विकार्नुहुन्छ ?
त्यसबारे अहिले म बोल्दिनँ ।  

श्रीमान्सँग छुट्टी लिएर छुट्टै बसेको भन्ने त अनौठो हो हाम्रो समाजमा । दुवैजनाको यो सम्बन्ध कस्तो हो ? भन्न मिल्छ ?
ऊ मेरा लागि एक पुरुष मात्रै भयो । प्रजनन्का लागि सहयोगी । हामीबीच प्रेम नै हुन पाएन । प्रेम कस्तो हुन्छ अनुभूति गर्न पनि पाइएन । दुवैजना दुवैको मनभित्र बस्न सकिएन । यस्तै हो ।

यति मात्र त हैन होला !
उसलाई प्रेम गर्ने मान्छे धेरै भए । उसले बनाएका प्रेमिका सबैलाई काँधमा बोकेर हिँड्न थाल्यो, सतीदेवीलाई शिवजीले काँधमा हालेजसरी, त्यो मलाई सैह्य भएन । अलिअलि सहेकै  थिएँ तर जब १४÷१५ वटा प्रेमिका बनाउने, घरमा आए पनि उनीहरुसँगै फोनमा झुन्डिने गर्न थाले अनि गाह्रो भयो ।

धेरैसँग प्रेम गरेको कुरा आयो, कुनै प्रेमिकासँग भेट पनि भयो कि ?
उनकी १५ औं प्रेमिकालाई मैले पनि भेटेँ । प्रेमिकालाई सम्झाएँ र भनेँ, ‘घरबार गर्नुस्’ । उहाँले ‘लेखकका रूपमा सम्मान मात्र गरेको हो’ भन्नुभयो तर व्यवहारमा सबै खालको रिलेसन राख्नुभयो । रातभरि फोन आउँथ्यो । विवाहिता मान्छेलाई नगरिदिनु नि फोन पनि ! तर गर्थे । उनी पनि लागिरहे । राजनलाई पनि बिहे गर भनेँ । उनी पनि बिहे नगर्ने रे ! तर मलाई भने सताइरहे । अनि पृथक् हुने निर्णय लिएँ । 
(प्रारम्भमा व्यक्तिगत कुरा नगरौं भने पनि प्रगति बिस्तारै खुल्दै गइन् ।)

प्रेमीप्रेमिका त अरूसँग लागे भने ब्रेकअप हुन्छ । तपाईंहरु त श्रीमान्–श्रीमती । त्यसरी आफ्नो श्रीमान् अरूसँग लाग्दा पनि कानुनी सम्बन्ध त उस्तै छ । किन ?
उनको र मेरो सम्बन्ध एउटै कम्पनीको सेयर होल्डरको जस्तो हो । एकअर्काको राम्रो होस् भन्ने चाहने तर सम्पूर्ण मेरै होस् भन्ने चाहना नराख्ने । 

अलि आदर्श भएन र ! वैवाहिक सम्बन्ध शारीरिक मात्रै नभई भावनात्मक पनि हो । जुन धोकाबाट टुक्रा–टुक्रा हुन्छ । तपाईंले भनेजस्तो सम्भव छ ? स्वीकार्न सकिन्छ ?
किन नसक्नु ? मलाई उनीसँग कहिल्यै प्रेमको अनुभव भएन । मैले विद्यार्थी जीवनमा पनि कहिल्यै कसैसँग प्रेम गरिनँ । प्रेम कस्तो हुन्छ भन्ने नै थाहा छैन । बिहेपछि पनि प्रेम भएन । सन्तान उत्पादनका लागि मात्र प्रयोग भयो मेरो जीवन । 

पुरुष प्रेम गर्न योग्य हुँदैनन् त ? सन्तानका लागि मात्रै पुरुष चाहिने भन्न खोज्नु भएको हो ?
पुरुष प्रेम गर्न योग्य हुँदैनन् भन्न खोजेकी होइन । एकै व्यक्तिमा सम्पूर्ण गुण हुँदैन । प्रेमका राम्रा नराम्रा सबै पाटा हुन्छन् । अनि प्रेमलाई हामीले आफ्नै वरिपरि टाँसेर राख्न खोजेर पनि हुँदैन । 

त्यही भएर राजन मुकारुङलाई स्वतन्त्र छाडिदिनुभएको हो ?
मैले अघि नै भनिसकेँ उनीसँग मेरो प्रेम भएन भनेर । 

त्यति धेरै महिलाले प्रेममा पार्न खोज्ने व्यक्तिलाई तपाईंले भने प्रेममा पार्न नखोज्नु भएको हो त !
खै ? उनले त प्रेम गर्या होलान्, मैले नबुझेको होला ... । मैले उनबाट प्रेम अनुभव पनि गरिनँ ।

पति–पत्नीबीच शारीरिक र मानसिक सम्बन्ध हुन्छ । तपाईंहरुको त्यस्तो भएन र !
त्यस्तो केही पनि छैन । 

तपाईंलाई अप्ठेरो लागेजस्तो छ । यत्ति त खुलाइसक्नु भयो । तपाईं दुवैको सम्बन्ध अलि खुलाइदिनुस् न प्लिज !
हैन,  खुलेकै छु । हामी दुवै लेख्छौं । दुवैलाई प्रेम गर्ने मान्छेहरु छन् । मेरा पनि फलोअर छन् । सबैले मन पराए भनेर अँगालो हाल्न त सकिन्न नि ! 

अहिले कस्तो छ त तपाईंहरुको सम्बन्ध ?
त्यस्तो माइन्ड गर्ने खालको मान्छे थिइनँ म । प्रेमिकाहरुलाई साइडमा राखेर आफ्नो घर राम्रो बनाउन सकिन्थ्यो । म पनि त्यही चाहन्थेँ । सानो सुन्दर घर बनाऊँ भन्ने रहर थियो तर उनीसँग बस्न सकिने अवस्था भएन । मेरो सपना चकनाचुरै भयो। 

तपाईं प्रगतिवादी, क्रान्तिकारी लेखिका भनेर पनि चिनिनु हुन्छ । के त्यस्तो कारण छ, पतिसँग पृथक् भइसकेपछि पनि उनकै परिवारसँग जोडिएर बस्नुपर्ने ?
(यो प्रश्न सोध्दा उनका आँखा रसाए । उनले आँसु रोक्न सकिनन् । केही समय टोलाइन् र पुनः बोलिन् ।)
ए बाबा ! त्यो उसको मात्र घर हैन नि ! त्यो हाम्रो पनि हो । कहिलेकाहीँ ठाकठुक पर्दा हरेक पुरुषले घर छाडेर जा भन्थे, मलाई पनि उनले भने । अनि म भन्थेँ, घरभित्र बसेर एक–एक सामान हेर, के कस्तो छ अनि बल्ल भन । घर त मेरो हो नि! 

कसरी हुन्छ ? पैतृक सम्पत्ति उनैको होला । उनकै कारण बा, आमा, इष्टमित्रसँग सम्बन्ध जोडिएको हो । भनेपछि जो आफ्नो मान्छे छ, उही नभएपछि उसका परिवारलाई आफ्नो ठानेर बसिरहनुपर्ने कारण के हो त ?
त्यहाँको समाज नै मैले बनाएको हो । त्यो गाउँको ढुंगा, माटो, रूख मेरा हुन् । 
(बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो )
राजन मुकारुङ वितण्डा गर्छन्, आउँछन्, बस्छन् । पाहुना पनि आएर बस्छ नि त ! तर, पाहुनासँग पतिपत्नीको सम्बन्ध त रहन सक्दैन नि !

छोरा पनि छन् । श्रीमान्ले कत्तिको हेर विचार गर्नुहुन्छ ?
प्रजनन् प्रक्रियामा सामेल हुनेबाहेक केही गरेनन् । सबै मैले नै हेरेकी हुँ । बरु उनकी आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो । कहिलेकाहीँ घर आएको बेला उनको र छोराको  झगडा पर्छ । केको हेर्नु ?

सन्तान तपाईंको पनि दायित्व हो भन्नुभएन ?
गर्नेलाई पो भन्ने ! नगर्नेलाई के भन्ने !

एक्लै खर्च कसरी धान्नुभएको छ ?
ट्युसन पढाउने, स्कुल पढाउने । यस्तै काम गरेकी छु । 

अबको योजना ?
मूलबाटो प्रतिष्ठान गठन गरेर यसैमार्फत व्यवहारतः महिलालाई वंशजको अधिकार प्राप्त गराउने र आमाको नामबाट नागरिकता दिलाउने योजना छ । 

आफ्ना छोरालाई आफ्नै नामबाट नागरिकता दिलाउने अभियान हो ?
सबै दायित्व पूरा गरेको सन्तानलाई नागरिकता पनि आफ्नै नामबाट दिन पाए हुन्थ्यो भन्ने कसलाई लाग्दैन र !

लेखनतिर आजभोलि के गर्दै हुनुहुन्छ ?
२०७४ सालमा ‘बिर्सेको मृत्यु’ उपन्यास लेखेँ । अहिले त्यो पुस्तक लेख्नुभन्दा अगाडि नै सुरु गरेको उपन्यास  ‘थाँक्रा’ पूरा गर्न लागेकी छु । 
 

‘मैले पीडा दिएको छैन’

–राजन मुकारुङ

हिजोआज कता हुनुहन्छ ?
काठमाडाैं बस्न अलि कम भएको छ । प्रदेश नम्बर १ मै  साहित्य साधना गरिरहेको छु । 

के लेख्दै हो अहिले ? 
एकैसाथ ३ वटा उपन्यास लेख्दै छु  ‘अयोग्य’,‘पतिया’ र अर्काे  चै नाम फुरिरहेको छैन । 

अहिले लेखिरहेका उपन्यासको विषयवस्तु के हुन् ?
त्यही समाजमा हेलोहोँचोमा परेका समुदायकै हो । जसरी ‘दमिनी भीर’ पहिचानसँग सम्बन्धित थियो । अब आउने उपन्यास पनि समाजमा शोषणमा परेका मान्छेहरुकै छ । 

‘दमिनी भीर’ आएपछि अर्काे उपन्यास आउन धेरै समय लाग्यो नि किन ? ‘दमिनी भीर’ले मदन पुरस्कार जित्यो फेरि त्यस्तै लेख्न सकिन्छ कि सकिन्न भन्ने नैतिक दबाब परेको हो ?
हैन, उपन्यास मात्रै नआएको हो । निबन्ध त आयो नि ! ‘फेरिँदो सौन्दर्य’ भन्ने निबन्धले पोहोर साल ‘पहिचान’ पुरस्कार नै जित्यो । अर्काे कुरा, पुरस्कार जित्न भनेर लेखिन्न, म त समुदायको आवाज उठाउँछु । म पुरस्कारका लागि होइन आवाज विहीनको आवाजका लागि लेख्छु । 

अब तपाईंको व्यक्तिगत जीवनतर्फ जाऊँ है ?
हुन्छ ।

तपार्इं र उपन्यासकार प्रगति राई श्रीमान्श्रीमती हुनुहुन्छ, तपार्इंहरुको  सम्बन्धलाई लिएर विभिन्न टीकाटिप्पणी सुनियो । खास कुरा के हो ?
त्यस्तो केही होइन । सार्वजनिक भएका सबै कुरा सत्य होइनन् ।  प्रगतिजीले त्यस्तो भन्नुभयो जस्तो लाग्दैन । यो बाहिरका मान्छे  घर जोड्नेभन्दा पनि तोड्नेतर्फ उन्मुख भएजस्तो लाग्छ । म प्रगतिजीलाई उच्च सम्मानका साथ प्रेम गर्छु । उहाँ राम्रो आख्यानकार हो । म उहाँलाई धेरै सम्मान गर्छु । हाम्रा निजी जीवनका कुरालार्ई कोट्याइरहनु आवश्यक थिएन ।

प्रगतिजीलाई तपार्इंले प्रेम गर्नुभएन भन्ने छ नि ?
प्रगतिजी मेरो जीवनसाथी मात्र होइन । मेरो अभिभावक पनि हो । म एकदमै अव्यावहारिक मान्छे । उहाँले मलाई समाल्नुभयो । उहाँले सोचेजति घरबारलाई समय दिन सकिनँ होला तर उहाँलाई मैले प्रेम नै गरिनँ भन्ने कुरा गलत हो ।  

तपार्इंका धेरै प्रेमिका छन् रे ! १५ औं प्रेमिकालाई त प्रगतिजीले  पनि भेट्नुभयो रे !
प्रेमिका सबैका हुन्छन्, अरूले लुकाउलान्, मैले लुकाइनँ ।  अनि  यो घरपरिवार र प्रेम भनेको फरक कुरा हो । प्रेम त जसलाई पनि गर्न मिल्छ । अनि प्रगतिजीले भेटेको भन्ने कुरा सत्य होइन । १५ औं प्रेमिका भनेर जसलाई आरोप लगाइयो उहाँले मलाई  लेखकको रूपमा सम्मान गर्नुहुन्थ्यो । सँगै बसेर चिया खाइयो,  सेल्फी खिचियो, त्यही फोटोलाई लिएर प्रगतिजीले निहुँ खोज्नुभयो । झगडा प¥यो । म बीचमा परेको मात्र हो । उहाँसँग  त्यस्तो केही सम्बन्ध भएको होइन । 

के उहाँ साँच्चिकै १५ औं प्रेमिका हुन् ?
हा...हा...हा...हेर्नुस् यो प्रेम भन्ने कुरा एकलाई मात्र हुन्छ भन्ने हुँदैन । बाहिरतिर हिँड्दा जोसँग पनि पर्न सक्छ । केही सम्बन्धहरु हुन सक्छन् । यसलाई यति धेरै ठूलो बनाउनु पर्छ जस्तो मलाई लाग्दैन ।   

हिजोआज बहुप्रेमको प्रसङ्ग पनि आउँछन् । तपाईंले पनि बहुप्रेम गर्नुभएको हो ?

मैले  भनिहालेँ  नि  प्रेम भनेको सीमित व्यक्तिसँग मात्र हुँदैन । प्रेम धेरै प्रकारको हुन्छ । कोही आदरले गर्ने, कोही सहानुभूतिले गर्ने आदि । मलाई आएका प्रेम लेखकका हिसाबले आउँछन् । ए बाबा ! प्रेम भन्ने चिज नराम्रो हो र !

मदन पुरस्कार पाउनुभएको मान्छे जो समाजको पथप्रदर्शक हुन्छ, उसले लेखेका कुरालाई आदर्श मानिन्छ । तर, लेखकले लेखेजस्तो व्यवहारमा उतार्न कठिन किन भएको ?
मैले प्रेमकै कुरालाई लेखे पनि संकुचित धारणाले लेख्दिनँ । जति आरोप ममाथि लागेका छन् ती नियतवश लागेका हुन् । अलिअलि कमीकमजोरी कसको हुँदैन ? आरोप लगाएजस्तै  म होइन । झुटो हुन् ती कुरा । 

अहिले तपार्इंहरु पृथक् हुनुहुन्छ हो ?
हो । एक वर्ष जति हुन लाग्यो ।

१० वर्ष जति प्रगतिजीले छुट्टिऊँ भन्नुभयो रे हो ?
१० वर्ष त होइन, केही वर्ष भनेको हो । ‘म लेख्छु, मलाई स्वतन्त्र छाडिदिनुस्’ भन्यो अनि पृथक् जस्तै भएको हो । 

किन सँगै बसेर लेख्न सकिन्न र ?
मेरो अरूसँगको सम्बन्धको आरोपले उसलाई टर्चर फिल भयो होला । त्यसकारण केही वर्ष एक्लै बसौं भनेको होला ।

प्रगतिजीले कहिले घर बोलाउनुहुन्छ भन्ने पर्खाइमा हुनुहुन्छ हो ?
उहाँले घर छाडेर पनि हिँड्नुभएको छैन । मैले पनि घर छाडेको छैन । कामका सिलसिलामा बाहिर भएको मात्र हो । बोलाउने भन्दा पनि आफ्नो घर त म गइनै रहन्छु । उहाँ अहिले  काठमाडौंमा स्ट्रगल गरिरहनुभा’छ के रे ! एक नम्बर प्रदेश साहित्यको उर्वरभूमि रहेछ । म यसको अनुसन्धानमा लागेको छु । 

तपाईंको १५ औं प्रेमिकालाई प्रगतिजीले भेटेपछि तपाईंहरु बिहे गर्नुस्, हाम्रो सम्बन्ध छुटाऔं भन्दा मान्नु भएन रे, हो ?
(हा...हा...हा... एउटा मज्जाको हाँसो) हैन । यो कुरा सही होइन । हाम्रो व्यक्तिगत कुरालाई  अतिरञ्जित  पार्न  खोजिएको हो । 

मिडियालाई पो आरोप लगाउनुभएको हो ?
मिडियालाई म उच्च सम्मान गर्छु तर घटना अतिरञ्जित गर्नेलाई  मन पराउँदिनँ ।  

तपार्इं त सीमान्तकृत समुदाय, महिला आदिको स्वतन्त्रताको  आवाज उठाउने मान्छे आफ्नै घरमा, आफ्नै श्रीमती आफैँबाट पीडित छु भनेर सार्वजनिक गर्दा कस्तो लाग्यो ?
मैले भनिहालेँ नि, मैले उसको व्यक्तिगत स्वतन्त्रतामा कहिल्यै दख्खल दिएको छैन । म त उसलाई उच्च सम्मान गर्छु । मैले पीडा दिएको छैन । 

तपाईंको लेखनमा महिला भनेका घर धान्ने मात्र होइन, चुलोचौकोमा सीमित हुने होइन भन्ने सन्देश पाइन्छ । तर,  व्यवहारमा लागू गर्न सक्नुभएन है ?
त्यसो होइन । हाम्रो गाउँ भोजपुरमा आउनुभयो भने देख्नुहुन्छ । महिला कति स्वतन्त्र छन् भनेर । 

छोराहरु हुर्काउन केही सहयोग गर्नुभएन रे ! प्रजनन्  प्रक्रियामा मात्र तपार्इंको भूमिका भयो भन्ने आरोप छ नि ?
त्यो  प्रत्येकका  आमाले भन्छन् । के  मैले छोराहरुको बारे  केही सोचिनँ होला त ?

बाबु हुनुको पूरै भूमिका निर्वाह गरेँ भन्न खोज्नुभएको हो ?
म अलि अव्यावहारिक छु । मैले धेरै पैसा कमाउन सकिनँ होला तर प्रजनन् प्रक्रियामा मात्र मेरो भूमिका भन्नु गलत हो । 

छोराहरुसँग पनि झगडा परिरहन्छ रे ?
एउटै घरमा बसेपछि त लात्ता लागिहाल्छ नि ! हाम्रो नाति जन्मिसकेको छ, केको झगडा  पर्नु ? ठाकठुक परे पनि मनै फाट्ने गरी परेको छैन ।  

तपाईंहरुको सम्बन्ध पुनर्मिलन हुन्छ कि के हुन्छ ?
सायद नातिले हाम्रो पुनर्मिलन गराउँछ कि !
शुक्रबार साप्ताहिकबाट

 







यसमा तपाईको मत


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...