coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हवाइ सुरक्षा सुधारका लागि जापानले झण्डै रू. २ अर्ब अनुदान दिने

काठमाडौँ– जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई रु. १ अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

अर्थ मन्त्रालयमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मीले नेपालका प्रमुख विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले रु. १ अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउने छ।

त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले रु ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ। उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गरे।

त्यस अवसरमा राजदूत ओगावाले नेपालको विकास प्रयासमा जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सचिव रेग्मीले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति जापानले गरेको योगदानप्रति आभार प्रकट गरे। रासस

प्रकाशित: १५ भाद्र २०७३ ०९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App