७ वैशाख २०८१ शुक्रबार
समाज

जहाँका जनता आधारभूत सेवा पाउन घण्टौँ पैदल हिड्नुपर्छ

खुट्टी(सिरहा)- धनगढीमाई नगरापालिका– १४ खुट्टीकी सबिता मगर(१८) ले पहिलो सन्तानलाई घरमै जन्म दिँदै थिईन। उनले पहिलो सन्तान छोरी जन्माईन। तर, साथी(साल) अड्कीयो। जसका लागि उनलाई अस्पताल नपुगी भएन। बाटो समस्याले घरसम्म एम्बुलेन्स नआउने भएपछि नवजात शिशु काखी च्यापेर उनी १ घण्टा पैदल हिडेपछि एम्बुलेन्स चढेर जिरोमाईल स्थित अस्पताल आइपुगीन। केही घण्टापछि अस्पतालले डिस्चार्ज गरेपछि एम्बुलेन्स चढेर घर फर्किने बेला सर्रे खोलामा बाढी आईसकेको थियो। एम्बुलेन्स खोला पार गर्न नसकेपछि मगर परिवार पैदलै घर फर्कन बाध्य भए।

सडक अभावमा एकदिने सुत्केरी पत्नी सबितालाई उपचार गराएर पैदल घर फर्किदै गरेका मिनबहादुर मगरले भने ‘हामी वषौंदेखि यस्तौ दुःख खप्दै छौं।’ सुत्केरीलाई पैदल हिँडाउनुको बिकल्प छैन उनले भने,‘मोटर बाटो नबन्दा घरसम्म एम्बुलेन्स आउँदैन।’ खोलामा झोलुङ्गे पुल र बाटो भैदिए हाम्रो दुःखमा केहि हदसम्म मलमपट्टी हुन्थ्यो, उनले बताए।

सिरहा सुगम जिल्ला भएपनि धनगडीमाई नगरपालिकामा गाभिएका गाउँहरु दुर्गम पहाडी जिल्ला जस्तै छन्। उत्तरवर्ती चुरे फेदका गाउँहरु महाजनी, मड्यान, खुट्टी, अम्बास लगायतमा आधारभूत सेवा सूविधा समेत छैन। साविक विष्णुपुरकट्टी गाविस अन्तर्गतका यी गाउँहरु धनगढीमाई नगरपालिकामा गाभिएपनि यहाँका स्थानीय अझैपनि आधारभूत सेवाबाट बञ्चित छन्। बाटोघाटो नहुँदा सुत्केरीले समेत पैदल हिँड्नुपर्ने बाध्यता रहेको सिरहाको खुट्टीकी अनिता मगर बताउँछिन्। चार महिनाकी छोरी काँखी च्यापेकी उनले भनिन्,‘छोरी गर्भमा छँदा गर्भजाँच गराउँन तीन घण्टा पैदल हिँडे्र जिरोमाईल अस्पताल पुग्थे।’ गाउँमा स्वास्थय चौकी नहुँदा यहाँका महिलाहरु प्रसुती गराउन, खोप लगाउन, गर्भ निरोधक सुई/चक्कीका लागि पैदल हिँडेर जिरोमाईल पुग्नुपर्ने बाध्यता रहेको उनले सुनाईन्।

यो गाउँमा स्वास्थ्य चौकी, विजुली, खानेपानी लगायतका आधारभूत सेवा उपलब्ध छैन्। मधेसभित्रको पहाड यो ठाउँलाई सबैले उपेक्षा गरेको कारण हामी पीडा खप्न बाध्य छौं अगुवा महिला राधा मगरले(४५) भनिन्। सबै हामीलाई भोट ब्याँक बनाए उनले भनिन्,‘चुनावका बखत सबैले किरिया खाएर जान्छन् फर्केर आउँदैनन्।’

चुरेको खोँचमा अवस्थित यी गाउँ सडक सञ्जालसँग नजोडिँदा बिरामी र आपतकालीन अवस्थामा स्वास्थ्य केन्द्रसम्म आउन उकाली ओराली बाटो छिचोल्दै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। यहाँका बालबालिकालाई पढाईका लागि खोला तरेर अम्बासमा रहेको आधारभूत विद्यालय धाउनुपर्ने बाध्यता छ। वर्षायाममा तीन महिना बाढीका कारण यी गाउँको अन्य गाउँसँग सम्पर्क बिच्छेद हुन्छ।

दुर्गम गाउँबीच सम्पर्क जोड्न ट्रयाक

चुरे फेदका डाँडा गाउँहरुको सम्पर्क स्पापित गर्न चुरेको फेदैफेद बाटो खन्न थालिएको छ। धनगढीमाई नगरपालिकाले एक गाउँसँग अन्य गाउँको सम्पर्क स्थापित गर्न डोजर लगाएर बाटो खन्न थालेको मेयर हरिनारायण चौधरीले बताए। ‘पहिलाको गाउँहरु नगरपालिकामा गाभिएपनि विकटता कारण विकासमा पछाडि परेका थिए’ चौधरीले भने,‘हामीले विकट क्षेत्रलाई प्राथमिकतामा राखेर सडक ट्रयाक खोल्न सुरु गरेका हौं।’ बाटोले एक गाउँ अन्य गाउँसँग पहुँचका हिसावले मात्र जोडिदैन यहाँका बासिन्दाबीच मन पनि जोडिन्छ उनले भने,‘हामी बाटोमार्फत मन पनि जोड्दैछौं।’

पूर्वाधार विकासतर्फ २२ लाख ५० हजारको लागतमा भैरहेको ट्रयाकको निर्माणले धनगढीमाई नगरपालिकाको वडा नम्बर १४ को खुट्टी, महाजनी र मड्यान गरी तीन गाउँका करीब ५ हजार जनसंख्या लाभान्वित हुने प्रमूख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए। नगरपालिकाले चुरे फेदैफेद ६ किलोमिटर सडकको ट्रयाक खोलेको हो। ‘हामीले बाटोको सपना बाँडेको धेरै नेता देख्यौ तर, सबै सपनामै सीमित भए खुट्टीका टुँगबहादुर लामाले भने,‘ यसपाली बाटो बन्न थालेको छ। उनले थपे, ‘पहुँचले खुम्चिएको यहाँको विकास बाटो बनेपछि फक्रिने भरोसा पलाएको छ।’

धनगढीमाई नगरपालिकाको १४ वटै वडाहरुमध्ये अति विकट रहेको उक्त वडाको अम्बास, भालुटार, चट्यान, खुट्टी, मड्यान, महाजनी लगायत गाउँका बासिन्दाहरु बाटोघाटोको असुबिधाले पीरोलिएका थिए। ‘ विकास गर्छु भनेर भोट लिने नेताहरु जहिल्यै यो क्षेत्रलाई उपेक्षामै राखे, जेष्ठ नागरिक गँगामाया मगरले भनिन्,‘ बाटो बनेर मोटर गाउँसम्म आइदिए हाम्रो वर्षौँदेखिको पीडा सेलाउँने थियो। मगरले बुढेसकालमा गाउँमै मोटर आएको हेर्ने लालसा व्यक्त  गरिन्।

धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमध्ये २० लाख विद्युतिकरण र २२ लाख ५० हजार थप बजेट सडक बाटोको ट्रयाक खोल्ने कार्यमा खर्चदै छ । ‘वर्षौदेखि कष्टपूर्ण जीवन जिउन बाध्य यहाँका बासिन्दालाई पूर्वपश्चिम राजमार्गसँग सहज पहुँच स्थापित गराउन वडा नम्बर १४ लाई विकासको प्राथमिकतामा अग्रस्थानमा राखेका हौ’ मेयर चौधरीले भने,‘ यी वस्तीमा बाटो, विद्युत, स्वास्थ्य र शिक्षाको पहुँच स्थापित हुँदै छ।’

साँधसीमा सिरहामा,कर बुझाउन उदयपुर

धनगडीमाई नगरपालिका–१४ का ईश्वर विश्वकर्मा दुई दशकदेखि जग्गाको पोत(कर) तिर्न उदयपुर धाउँदै छन्। सिरहा जिल्ला धनगडीमाई नगरपालिका–१४ अम्बासमा रहेको जग्गाको पोत उनी उदयपुर जिल्लाको रिस्कु गाँउपालिकामा तिर्नुपर्छ । उतीबेला नापी आउँदा (२०२८ सालतिर) उदयपुरको रिस्कु गाविस (तत्कालीन)मा सिरहाको धनगडीमाई नगरपालिका–१४ को जग्गा दर्ता भयो । त्यो बेलादेखि नै यहाँका जग्गाधनी पोत तिर्न, जग्गा नामसारी, जग्गा पासलगायत जग्गा सम्बन्धी कामका लागि उदयपुर धाउनुपर्ने बाध्यता छ।

यहाँको करिब ५२ बिघा जमिन उदयपुर जिल्लाअन्तर्गत रिस्कु गाविसले नापी गराएको स्थानीय हेमबहादुर कार्की बताउँछन् । करिब तीनसय जग्गाधनी वर्षौदेखि पोत(जग्गा कर) तिर्न उदयपुर धाउँन बाध्य रहेको उनले भने। यहाँबाट जग्गासम्बन्धी कामका लागि उदयपुर जान निकै गाह्रो पर्छ कार्कीले भने, ‘जग्गा सम्बन्धी काम गराउन जानुपर्दा एकदिनमा भ्याउँदैन, दुईदिनै लाग्छ ।’ मधेसभित्रको पहाड भनेर चिनिने अम्बासबासीसँग पीडाको पनि ‘पहाड’ छ । बस चढ्न पैदल धनगडी बजार बजार पुग्नुपर्छ । करिब दुई घण्टा पैदल हिंडेपछि धनगडी बजार पुगिन्छ। यहाँबाट बस चढेर उदयपुर सदरमुकाम गाईघाट पुगिन्छ । ओहोरदोहोरमै दिन बित्छ उनले भने, ‘समय र रकम दुवै खेर  फाल्नुपर्दा हैरान छौँ ।’

वर्षौदेखि खप्दै आएको हैरानीबाट छुटकारा पाउन यहाँका स्थानीयले कसरत नगरेको भने होइनन् । उनीहरू स्थानीय प्रसाशनदेखि राजनीतिक दलका नेतासँग हैरानी पोखे । तर, कहिँबाट आशलाग्दो पहल नभएको उनीहरूको गुनासो छ। ‘राजनीतिक दलका नेताले प्रसाशनिक समस्या भन्दै पन्छिए, प्रसाशनका हाकिम राजनीतिक समस्या भन्दै’ कार्कीले भने, ‘हामी भरोसैभरोसामा हैरानी खेप्दै बसेका छौँ ।’

प्रसाशन र राजनीतिक दलका नेताप्रति निराश यहाँका जनतामा स्थानीय तहमा जनप्रतिनिधि आएपछि भरोसाको दियो बालिदिएको छ । यहाँका जनतामा स्थानीय सरकारप्रति  उत्साहको एउटै कारण हो – स्थानीय सरकार आएपछि वर्षौदेखि खप्दै आएको समस्या सामाधान हुन्छ।

स्थानीय सरकार बनेपछि दैलोमै सेवाको अनुभूती पाउने सुनेका थियौँ खुट्टीका रुपलाल शाह(शँकर)ले भने,‘बाटो बन्न सुरु भयो अव अरुथोक भन्दा पनि  जग्गासम्बन्धी कामका लागि उदयपुर जानुपर्ने झन्झबाट मुक्ति दिलाइदिए राहतको सास फेर्थे । उनले थपे ‘यो झन्झटबाट छुटकारा पाए, दैलोमै सिंहदरबार अनुभूती हुन्थ्यो।’

प्रकाशित: ५ जेष्ठ २०७५ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App