५ वैशाख २०८१ बुधबार
अन्य

पुख्र्यौली कलाकार समूह

अविनाश पुन कक्षा ८ का विद्यार्थी हुन् । उनको घर पश्चिम नेपालको पर्वत जिल्लामा पर्छ। उनको गाउँ कुवापानी हो । पढाइ बाहेक नाच्नु, गाउनु र खेल्नु उनको सौख।

गाउँमा उनीहरूको एउटा समूह नै छ – बाल पुख्र्यौली समूह । उनीहरू गाउँमा कार्यक्रम हुँदा नाचगान गर्छन् । दर्शकहरूबाट नगद पुरस्कार पाउँछन् । उनीहरूले आफ्नो गाउँमा मात्र होइन, सेरोफेरोमा समेत नाच देखाइसकेका छन् ।  

पुख्र्यौली नाच रमाइलो हुन्छ । विशेषतः पश्चिम नेपालमा बसोबास गर्ने पुन समुदायमा पुख्र्यौली (सोरठी) नाच्ने चलन छ । उनीहरू दुःखमा पनि र सुखमा पनि नाचगान गर्छन्।

कुवापानी, पर्वतका विद्यार्थीको संस्कृति जोगाउने अभियानले चारैतिर प्रशंसा पाएको छ। उनीहरूले पुख्र्यौली नाच देखाएर पाएको पुरस्कारबाट विद्यालयमा दुई वटा कम्प्युटर र एउटा प्रिन्टर किनेका छन्।

सुखका गीतमा नाच्छन् तर दुःखका बेला नाच्दैनन्, गाउँछन् मात्रै । करबाकेली पूजा र भूमे पूजामा पनि गाउँछन् । सन्दर्भ अनुसार गीतको बोल फरकफरक हुन्छ । मेला पर्वमा रमाइलो गर्न चुड्का गाइन्छ।

उनीहरू विवाह, व्रतबन्ध, भोज भतेरमा पनि नाचगान गर्छन् । विवाह र व्रतबन्धमा रातभर नाचगान गरिन्छ।

परम्परादेखि पुरुष नै महिलाको भेषमा नाच्छन् । अचेल कुवापानीमा केही बालिकालाई पनि सिकाइएको छ । महिलाको भेषमा नाच्ने कलाकारलाई मारूनी भनिन्छ भने मादल बजाउने पुरुषलाई मादले । नाचमा मादल र झ्याली बाजा प्रयोग गरिन्छ।

संस्कृति लोप हुन नदिन कुवापानीका बालबालिकालाई पुख्र्यौली नाच सिकाइएको हो । २०६५ सालदेखि स्थानीय गिद्धेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई पुख्र्यौली सिकाउन थालिएको हो । गाउँका गुरु अनुप पुनले सिकाउँछन्।

अविनाशले पनि गिद्धेश्वरमै पढ्दा पुख्र्यौली नाच सिकेका हुन् । साथीहरूसँग नाच्दा रमाइलो लाग्ने उनी बताउँछन् । भविष्यमा संसारका जुनसुकै कुनामा पुगे पनि आफ्ले जानेको साँस्कृतिक नाच प्रस्तुत गर्ने उनको योजना छ।

यही वैशाख पहिलो साता करबाकेली पदमार्गको अध्ययन गर्न पुगेको समूहलाई पनि अविनाशको टोलीले फलामेडाँडामा नाच देखायो । त्यतिबेला बाल पुख्र्यौली टोलीमा सबिन पाइजा, अविनाश पुन, सन्तोष पाइजा, आयुष पाइजा, सलिन तिलिजा, दिपेन पुन, सज्जन तिलिजा र आशिका पुन थिए।

गिद्धेश्वरका प्रधानाध्यापक थलराम पौडेलका अनुसार कक्षा ४ र ५ मा सामाजिक शिक्षाको स्थानीय पाठ्यक्रम अनुसार २० पूर्णाङ्कको पाठ्यक्रममा पुख्र्यौलीलाई समावेश गरिएको छ।

त्यसो त विद्यार्थीलाई कक्षा २ देखि नै पुख्र्यौली नाच्न सिकाइन्छ । विद्यालयमा २०६५ सालदेखि पुख्र्याैली सिकाउन थालिएको भएता पनि पाठ्यक्रममा समावेश गरिएको भने २०६८ सालदेखि मात्रै हो । हालसम्म ३० जनाभन्दा बढीले पुख्र्यौली सिकिसकेको नाचका गुरु अनुप बताउँछन्।

बाल कलाकारले आफ्नो गाउँमा मात्र होइन, काफलडाँडा, पोखरा र कुश्मासम्म   पुगेर कला प्रदर्शन गरिसकेका छन् । त्यसरी नाचगान देखाउँदा उनीहरू बक्सिस पाउँछन् । त्यो बक्सिस रकमले स्कूलमा दुईटा कम्प्युटर र एउटा प्रिन्टर किनिएको छ । त्यस्तै बाल पुख्र्यौली कोष पनि बनाइएको प्रधानाध्यापक पौडेलले जानकारी दिए । कोषमा ४० हजार रुपैयाँ बचत छ।

कुवापानीका बाल कलाकारको कलाबाट मोहित बनेका काफल डाँडा, म्याग्दीका समाजसेवी चामबहादुर पुन भन्छन् ‘संस्कृति संरक्षणमा बालबालिकाको सक्रियता प्रशंसनीय छ।’

कुवापानी पुग्न काठमाडौंबाट पोखरा हुँदै बेनीबजार पुग्नुपर्छ । बेनीबाट उत्तरपूर्व ११ किलोमिटरमा कुवापानी गाउँ छ । त्यहाँसम्म बेनीबजारबाट जीपमा जान सकिन्छ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App