१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

ऐंसेलु हाइकिङ

कुहु कुहु आवाज!

खेतैभरी आलु खनिरहेका किसान । बाटो छेउमा ऐंसेलुका पहेंलपुर झुप्पैझुप्पा । अनि फूलमा झुम्मिएका भमरा झैं ऐंसेलुमा झुम्मिएका पदयात्री । प्रकृतिकै चुलोमा पाकेको ऐंसेलु, कति स्वादिला!

प्रकृतिको सृष्टि कति सुन्दर ! मौसम अनुसार कहिले ऐंसेलु फल्छ त कहिले काफल, कहिले आरुबखडा फल्छ त कहिले चुत्रो । हामी पनि प्रकृतिकै सन्तान, त्यसैले प्रकृतिको काखमा पुगेपछि रमाउँछौं।

घाम पछि पानी पर्नु, फूल फूलेपछि ओइलाउनु, रात पछि विहानी, पतझर पछि हरियाली प्रकृतिका नियम हुन् । जसरी प्रकृतिको नियम छ त्यसैगरी हाम्रो स्वास्थ्य र शरीरबारे पनि प्रकृतिमा नियम छ । जति प्रकृति नजिक जान्छौ त्यत्तिकै हाम्रो जीवन सरल हुन्छ । तर हामी प्रकृति र यसका नियमबाट टाढिँदै छौं।

प्रकृतिमै रहेको स्वस्थ, निरोगी र आनन्दित रहने सरल विधि ‘आफ्नो स्वास्थ्य आफ्नौ हातमा’ भन्ने नाराकासाथ उचित आहार, विहार र विचारलाई फैलाउन प्रकृतिप्रेमी समूहले हरेक महिनाको चौथो शनिबार काठमाडौं वरपरका डाँडामा हाइकिङ गराउँदै आएको छ । हामी बैशाख २२ गते १३२ औं हाइकिङमा ऐंसेलु पदमार्ग पुगेका थियौं।

हाम्रो पदयात्रा काभ्रे, धुलिखेलको जेरानियम गार्डेन रिसोर्टबाट सुरु भएको थियो । हाम्रो गन्तव्य थियो गोसाईंथान, नाला उग्रचण्डी, सेतो मच्छिन्द्रनाथ हुँदै नाला गुम्बासम्म । केहिबेर जेरानियम होटलमा पदयात्रा गन्तव्य र नियमबारे जानकारी गराए पछि यात्रा सुरु भयो।

धुलिखेलबाट नालासम्मको हाइकिङ रोमाञ्चक छ। कच्ची मोटरेबल बाटो भएकाले बाइकिङ र साइक्लिङका लागि पनि उपयुक्त छ।  

हाम्रो पदयात्राका गाइड थिए जेरानियम संचालक मनिष श्रेष्ठ । होटलबाट २ किमि तेर्सो उकालो चढे पुगिन्छ गोसाईंथान । चिटिक्क जंगल वीचको गोसाईंथानलाई काठमाडौंको गोसाईंकुण्ड पनि भनिन्छ।

रसुवाको गोसाइँकुण्डबारे धेरैलाई थाहा छ । काभ्रेपलाञ्चोकमा पनि गोसाइँथान (१,७१५ मिटर) छ । धुलिखेल बजारमाथि छ कुण्ड । कुण्डको वीचमा महादेवको मूर्ति छ । वरपर जंगल क्षेत्र शान्त र रमणीय छ । कुण्ड नजिकै दिव्यश्वर महादेव, काली, हेडम्ब, गणेश लगायतका मूर्ति छन् । सँगै बाबाको कुटी पनि।

पौराणिक मान्यता अनुसार महादेवले कालकुट विष सेवन गरेपछि हिन्द महासागरबाट रसुवाको गोसाइँकुण्ड जाँदा धुलिखेलमाथि डाँडामा पाइला टेकेका थिए । त्यही डाँडामा जनैपूर्णिमाका दिन मेला लाग्छ । तीर्थालु कुण्डमा नुहाउँछन् । भजन–कीर्तन गर्छन । तीजमा पनि उस्तै भिड लाग्छ।

गोसाईथानका दुई भाग छन् । माथिल्लो भाग गोसार्इँथान नैमिषारण्य क्षेत्र र तल गोसाईँथान । डाँडालाई नैमिषारण्य क्षेत्रका रुपमा विकास गरिँदैछ । डाँडामा महादेव, पार्वती, कृष्ण, हनुमान आदिका मूर्ति छन् । नजिकै होम कुण्ड पनि । गोसाइँथानको प्रचारमा बाबा रमेश गिरीको योगदान अतुलनिय छ । उनी ०५२ चैत २६ गते ब्रह्मलीन भएका थिए।

दुई आँखाबीचको भागलाई निमि भनिन्छ । अरण्य भनेको जंगल । यी दुई शब्दबाट नैमिषारण्य बनेको हो । भारतको नैमिषारण्य क्षेत्रमा ८८ हजार ऋषिमुनिलाई एकैपटक भागवत पुराण सुनाइएको थियो । कथा अनुसार कलियुग लाग्नेबेला द्वापर युगको अन्त्यमा ऋषिमुनि कलीको प्रभाव नपर्ने ठाउँ खोजी गर्दै ब्रह्माकहाँ पुगेछन् । ब्रह्माले निमिबाट चक्र उत्पन्न गरेछन् । ब्रह्माले भने, ‘यो चक्र जहाँ पुगेर खस्छ, त्यहीँ बस्नु ।’ ऋषिमुनि कता खस्छ भनेर पछि लागे । चक्र भारत, सीतापुर जिल्लाको गोमती नदीछेउ जंगलमा खस्यो । र, त्यो ठाउँको नाम नैमिषारण्य रह्यो।

नैमिषारण्य क्षेत्रमा शुतजी ऋषिले ऋषिमुनिलाई भागवत महापुराण सुनाएका थिए । काभ्रेको गोसाइँथानलाई नैमिषारण्य क्षेत्र बनाउने सपना शिवानन्द बाबाले देखेका थिए । बाबाले नैमिषारण्य क्षेत्रका लागि गोसाइँथान उपयुक्त भएको बताएकाले ०७० माघमा समिति बनाएर काम थालियो । त्यहाँ ०७० माघ २८ गतेदेखि अखण्ड हवन भैरहेका छ।

शिवपुरीबाट सुरु भएर चिसोपानी, नगरकोट हुँदै धुलिखेल आउने ‘काठमाडौं भ्याली कल्चरल टे«ल’मा पर्छ गोसाइँथान । गोसाइँथान क्षेत्रबाट हिमाली सृङखला दर्शन गर्न सकिन्छ । जंगलमा चराको चिरबिर सुनिन्छ । त्यहाँ नजिकै भ्यु–टावर छ । टावरबाट काभ्रेका गाउँबेँसी र नगरकोट क्षेत्र देखिन्छ । गोसाइँथानको विकासमा स्थानीय जागरुक बनेका छन् । गोसाइँथान सामुदायिक वनको जग्गामा पर्छ । वनको क्षेत्रफल ४६ हेक्टर छ । त्यसलाई इको टुरिज्म गन्तव्य बनाउने प्रयास हुँदैछ।

हामी गोसाईथान घुमेर जंगलको बाटो अघि बढ्यौ । बाटैभरी ऐंसेलु नै ऐंसेलु । टिप्दै खाँदै अघि बढ्यौं । निलो क्याप लगाएको हाम्रो हुल देखेर गाउँलेले छक्क पर्दै हामीलाई हेरे । काभ्रेको वस्ती रवी ओपी, सुमारे हुँदै नालाको चामुण्डा मन्दिर पुग्यौं । जहाँ बसेर हामीले स्वास्थबद्र्धक खाजा खायौं । हाम्रो पदयात्रा स्वास्थ्यका लागि गरिएको हुनाले हामी जंक खाना निषेध गर्छौ । हामी मौसम अनुसारका फलफुल, स्वास्थ्यबद्र्धक आहार खान्छौ र खान प्रेरित गर्छौ।

नालामा पर्ने चामुण्डा मन्दिर अष्ट मात्रिका मन्दिर मध्ये एक हो । पहिला भक्तपुर र नालाका गाउँ स्थापना गर्दा माताहरुको मन्दिर बनाउनेक्रममा चामुण्डा मन्दिर बनाइएको थियो । मन्दिर नजिकै बस्ने पाटी र खुल्ला चौर छ । सँगै सानो खोला पनि । खेतमा आलु गोडमेल गरिरहेका किसान । यही सुन्दर दृष्य हेर्दै हामीले खाजा खायौं।

खाजा पछि केहीबेर स्वास्थ्यबर्धक अन्तरक्रिया र नाचगान गरेर अघि बढ्यौं।

खेतीयोग्य जमिन, चारैतीर हरियालीबीच सुन्दर नेवार वस्ती नाला । ऐतिहासिक वस्तीमा पुराना शैलीका घर, ढुँगा ओच्छाइएका बाटा र पाइलैपिच्छे मठ मन्दिरहरु । तर बढ्दो शहरीकरणले नालामा पनि नयाँ शैलीका घर बनाउने लहर भित्रेको छ । उग्रचण्डी, सेतो मछिन्द्रनाथ नालाका मुख्य मन्दिर । यस बाहेक अरु मन्दिर पनि छन् वस्तीमा।

उग्रचण्डी चार तले प्यागोडा शैलीको गजुर भएको मन्दिर हो । किंवदन्ती अनुसार पलान्चोक भगवतीका चार दिदीबहिनी मध्ये माइली उग्रचण्डी । पलान्चोक भगवती, उग्रचण्डी, नक्साल भगवती र शोभा भगवती चार बहिनी । यी चार भगवती एउटै मूर्तिकारले बनाएको भनाई छ ।
नव दुर्गा अष्ट मातृका मध्ये एक हो उग्रचण्डी । मन्दिरभित्र देवीको मन्दिर छ।

त्यस्तै मुलुकमा भएका चार मच्छिन्द्र मध्ये नालाको सेतो मछिन्द्रनाथ पनि एक हुन् । बाँकी चाहिँ जनबहालका सेतो मच्छिन्द्रनाथ, चोभारका आदिनाथ र बुङमतीका रातो मछिन्द्रनाथ । करुणा भाव भरिएको मच्छिन्द्रनाथलाई पानी पार्ने र अन्न दिने देवताका रुपमा पूजिन्छ ।

नालामा भएका सेतो मछिन्द्रनाथको छुट्टै कथा छ । उहिल्यै तिब्बतमा पानी नपर्दा तिब्बतीले काठमाडौं जनबहालको मच्छिन्द्रनाथको मूर्ति चोरेर भाग्ने क्रममा नाला पुगेछन् । रात परेको हुनाले मूर्तिलाई त्यही राखेर सुतेछन् । विहान उठेर मूर्ति उठाउन खोज्दा हल्लाउन सकेनन् र त्यहीँ छाडेर गएको भनाई गाइड मनिषले बताए । त्यहीबेलादेखि नालाबासीले सेतो मच्छिन्द्रनाथको मन्दिर बनाएर पूजा गर्न थाले।

पदमार्गको एउटा मूर्ति देखाउँदै श्रेष्ठले भने, ‘यो नेपालमै रहेको एक मात्र युधिष्ठिरको मूर्ति हो ।’ कस्तो विडम्बना ! हाम्रो देश ऐतिहासिक सम्पदाले भरिपूर्ण छ । तर, मठ मन्दिरको संरक्षण हुन सकेको छैन । नालाको यो अमुल्य सम्पदाको त्यही हालत छ । युधिष्ठर मूर्तिको संरक्षण गरेर मन्दिर बनाउनु पर्ने देखिन्छ । यसका लागि पहिला नालाबासी जागरुक हुनु पर्छ । त्यसैगरी स्थानीय सरकार, पर्यटन बोर्ड र सरोकारवालाको ध्यान पुग्नु पर्छ।

मठ मन्दिर, कला सँस्कृति र पुराना शैलीका घर संरक्षण गरेर नालालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ । यसो गरेमा नालामा पर्यटकको भिड लाग्न सक्छ । यसले नालाबासीको आर्थिकस्तर उकास्न सहयोग पुग्नेछ । नालामा नेवार परिकार पाइने खाजा घर छन्।

हामी नेवार वस्ती नालाबाट उग्रचण्डी, सेतो मच्छिन्द्रनाथ घुमेर नाला गुम्बामा पुग्यौं । काभ्रे र भक्तपुरको साँध अमलडोल भञ्ज्याङमा पर्छ गुम्बा । गुम्बा बनेको ५ वर्ष भयो । मनाङीले तिब्बतीको सहयोगमा गुम्बा बनाएका । शान्त वातावरणमा कलात्मक गुम्बा जहाँ बौद्ध शिक्षा दिइन्छ।

गुम्बा वरपर घुम्न मिल्ने जंगल छ । सर्बसाधारणका लागि शनिबार मात्र खुल्छ गुम्बा । अरु बेला घुमन्तेका लागि बन्द रहन्छ।

हामीले धुलिखेलबाट नाला गुम्बासम्म करिब १२ किमि पदयात्रा गण-यौं । गुम्बाबाट अमलडोल हुँदै कैलाशनाथ महादेवसम्म पदयात्रा गर्न सकिन्छ । गुम्बाबाट कैलाशनाथ करिब ३ किमि दुरीमा पर्छ । पदमार्गमा पर्ने शिखर शैलीको लटरम्बेश्वर मन्दिर हुँदै कैलाशनाथ पुग्न सकिन्छ । जंगल वीचकोे लटरम्बेश्वरबाट काठमाडौ उपत्यकाको राम्रो दृष्य देखिन्छ।

धुलिखेलबाट नालासम्मको यो पदमार्ग निकै रोमाञ्चक छ । चारैतिर हरिया खेतबाली, गाउँले जीवनशैली अनि बाटैभरी ऐंसेलु । पदमार्गको आधा भागमा जंगली बाटो पर्छ भने आधामा नेवार वस्ती नाला । नेवार कला, सँस्कृति हेर्दै हरियालीमा वर्षैभरि हिँड्न सकिन्छ । कच्ची मोटरेबल बाटो भएकाले बाइकिङ र साइक्लिङका लागि पनि उपयुक्त छ।

हामी त ऐंसेलु खाँदै नाला घुम्यौं । तपाइँ पनि ऐंसेलु खाँदै पदयात्रा गर्ने कि!

कसरी पुग्ने : काठमाडौबाट धुलिखेल ३० किमि गाडीमा । धुलिखेल बसपार्कबाट गोसार्इँथान, रवीओपी भञ्ज्याङ, सुमारे हुँदै चामुण्डा मन्दिर र चामुण्डाबाट नाला, उग्रचण्डी, सेतो मच्छिन्द्रनाथ हुँदै नाला गुम्बासम्म पदयात्रा । धुलिखेल– गोसाइँथान २ किमि, गोसाइँथान– चामुण्डा ६ किमि, चामुण्डा– नाला गुम्बा ५ किमि । जम्मा पदयात्रा दुरी १३ किमि । समय ५ घण्टा । गाडी सबैतिर पुग्छ।

जन। बाेली
मनिष श्रेष्ठ धुलिखेलको जेरानियम गार्डेन रिसोर्टका सञ्चालक हुनुहुन्छ । उहाँले आफ्नै घरमा रिसोर्ट चलाउनु भएको छ । ‘देश विकास भएन भनेर हामी अरुलाई दोष दिने गर्छौं तर आफूले के ग-यौ भनेर हेर्दैनौं’, मनिष भन्नुहुन्छ, ‘देश विकास गर्न पहिला हामीले इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्नु पर्छ।’

ज्योती जोशी ललितपुरको धापाखेलमा बस्नु हुन्छ । नयाँ ठाउँमा पुग्दा ऊर्जा बढ्ने उहाँको अनुभव छ । ‘हाइकिङ गर्दा कहिल्यै नदेखेको ठाउँ देखिन्छ । नेवार वस्ती नाला पुग्दा त्यहाँका मन्दिर र गुम्बा राम्रो लाग्यो’, ज्योती भन्नुहुन्छ, ‘गोसाइँथान पुग्दा रसुवाकै गोसाइकुण्ड पुगे जस्तो लाग्यो।’

निरञ्जन रिसालले हाइकिङ सुरु गर्नु भएको साँढे दुई वर्ष भयो । निरोगधामको सल्लाह अनुसार खानपान मिलाउँदै शरीरको तौल ठिक्क बनाएपछि हिँड्न सजिलो भयो उहाँलाई । निरञ्जन भन्नुहुन्छ, ‘मलाई माइग्रेनका कारण टाउको दुखाइले निकै सताउँथ्यो तर हाइकिङ गर्न थालेपछि त्यो समस्या निकै कम भयो।’

प्रकाशित: ५ जेष्ठ २०७५ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App