coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा चीनबाट आएका पर्यटकलाई नेपाल प्रहरीले जाँच गर्दै

रसुवा– चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ।

सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिन लागिएको हो । रसुवागढी नाका नजिकै निर्माण गरिएको प्रिफेब्रिकेटेड भवनबाट एक हप्ताभित्र सेवा सुरु गरिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए।

‘अन्तराष्ट्रिय नाकामा प्रविधिको अभावमा धेरै समस्या झेल्न परेको थियो, प्रमुख भन्सार अधिकृत कोइरलाले भने, हामीले नाकामा एक हप्ताभित्र प्रविधि इन्सटल गरिसक्ने छौँ ।’ प्रविधि सञ्चालनका लागि प्रहरी र कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिने उनको भनाई छ।

प्रविधि जडान भएपछि सीमामा अवैध गतिविधि रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। जिल्ला प्रशासन कार्यालय रसुवाको पहल र भन्सार कार्यालयको समन्वयमा नाकामा प्रविधि जडान गर्न लागिएको हो।
यसअघि पटकपटक योजना बनेको भएपनि योजना कागजमा नै सीमित बन्न पुगेको थियो । जिल्लामा भर्खरै आएका प्रजिअ पौडेलले स्थलगत निरीक्षण गरेर आवश्यक सामग्रीको लागि भन्सार कार्यालय र विभागसँग निरन्तर पहल गरेपछि यो कार्य अघि बढेको हो।

‘सीमामा देखिएका हरेक समस्याको समाधानको लागि हामीले योजना निर्माण गरेका छौँ, प्रजिअ पौडेलले भने, यात्रुको जाँच गर्ने स्थान (रसुवागढी¬) मा यात्रु प्रतिक्षालय निर्माण गर्न प्रक्रिया अघि बढाएका छौँ।’

नाकामा प्रहरीको उपस्थिति दिउँसो तीन बजेसम्म रहँदै आएकोमा सामग्री आएपछि चौबिसै घण्टा प्रहरीको उपस्थिति रहने उनको भनाई छ । नाकामा यात्रुका लागि सौचालय निर्माण गरिने र सडक बत्ती राखिने कार्य अघि बढाइएको छ ।
नाकामा चिनियाँ तथा विदेशी पर्यटकको चाप बढ्दै गएको र प्रविधिको अभावमा झोला खोतल्ने र शरीर जाँच गर्दा समस्या आएपछि नाकालाई प्रविधिमैत्री बनाउन लागिएको हो । केही समयअघि नाकामा सिसिटिभि क्यामेरा राखिएको थियो।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।
कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि वैशाख ३० गतेसम्ममा तीन अर्ब तीन करोड ९९ लाख राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
 

प्रकाशित: ५ जेष्ठ २०७५ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App