coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

राजधानीमा बाह्रै महिना टाइफाइड

काठमाडौं – गर्मी मौसममा मात्र फैलिने टाइफाइड राजधानीमा बाह्रै महिना देखिने गरेको चिकित्सकले बताएका छन्। राजधानीमा बस्नेहरू बाह्रै महिना टाइफाइडको समस्या लिएर आउने गरेको उनीहरूको भनाइ छ। दिसा–पिसाब मिसिएको खाना तथा पानी खाएमा टाइफाइडको संक्रमण हुन्छ। दिसा–पिसाबमा ‘साल्मोनेला टाइसी तथा प्यारा टाइसी’ नामक जिवाणु हुन्छन्। दूषित खानामा बस्ने यो जीवाणु मानिसको पेटमा पुगेपछि टाइफाइड हुन्छ। ‘साल्मोनेला’ शरीरमा प्रवेश गरेको तीन दिनदेखि लक्षण देखिन सुरु हुन्छ।

‘वर्षैभरि टाइफाइडका बिरामी आउँछन्,’ महराजगन्जस्थित शिक्षण अस्पतालका मेडिकल विभाग प्रमुख डा. पे्रम खड्काले भने। ‘टाइफाइड बाह्रै महिना देखिन्छ, गर्मी लागेपछि अझ बढी देखिन्छ, ’ राष्ट्रिय शुक्रराज तथा ट्रपिकल सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने। डा. पुनका अनुसार सरुवा रोग अस्पतालमा मात्र दैनिक १० देखि १५ जना टाइफाइडका बिरामी उपचारका लागि आउँछन्। दैनिकजसो फाट्टफुट्ट यी बिरामी आइरहेको शिक्षण अस्पतालले जनाएको छ।

चिकित्सकका अनुसार उपत्यकामा पानीका स्रोत, घर र चपी व्यवस्थापन राम्रो नभएकाले यो किटाणु बाह्रै महिना सक्रिय भएको हो। उपत्यकामा भएका पुराना पाइप तथा ढलहरूको अवस्था जीर्ण हुनु, घरमा पर्याप्त पानी नहुनु, पानी ट्यांकी र शौचालयको दूरी नजिक हुनुजस्ता कारणले पानी दूषित बन्ने गरेको छ। त्यसमाथि राजधानीमा खाद्य पसलहरू सफा नहुने गरेका कारण समस्या बढेको हो।

पानी उमालेर नपिउने, जार या धाराको पानी सीधै पिउने, रेष्टुराँ या खाजा पसलमा खाना खाने, प्रभावकारी सफाइ नगर्नेहरूमा टाइफाइड संक्रमण देखिएको चिकित्सकहरू बताउँछन। ‘रेष्टुराँमा काम गर्नेहरुको सफाइ अनुगमन भएको छैन, बढी बाहिर खानाखाजा खानेहरू नै पर्छन्,’ डा.खड्काले भने। ३९ वर्षदेखि टिचिङ अस्पतालमा कार्यरत् डा.खड्काको अनुभवमा राजधानीमा पानी दूषित हुने पुरानै समस्या हो। ‘काम सुरु गरेदेखि नै यस्ता बिरामी आइरहेका छन्’ उनले भने। पानी र चर्पीको उचित व्यवस्थापन नभएकैले यो रोग नहटेको उनले बताए।

चिकित्सकका अनुसार पछिल्लो समय नागरिकमा स्वास्थ्य चेतना बढ्दै गएका कारण टाइफाइडका बिरामीले बेलैमा उपचार गर्ने चलन भने बढेको छ। यही कारण टाइफाइडले गम्भीर रूप नलिँदै उपचार भइसकेको हुन्छ। ‘ज्वरो आउनेबित्तिकै बिरामी अस्पताल पुग्छन््,’ डा.खड्काले भने । शरीरमा ‘साल्मोनेला’ जीवाणु प्रवेश भएको दिनदेखि लक्षण देखिन्छन्। जसमा काम ज्वरो आउने, जीउ, दुख्ने, खान मन नलाग्ने, वाक–वाक लाग्ने, कलेजो बढ्नेजस्ता लक्षण देखिन्छन्।

यो रोगको संक्रमण भएपछि चिकित्सकले पाँचदेखि दश दिनको लागि एन्बिायोटिक औषधि दिन्छन्। कतिपयलाई पाँचै दिनमा ठीक हुन्छ। त्यतिबेलै एन्टिबायोटिक रोकिन्छ। पूर्ण निको नभएको अवस्थामा औषधिको मात्रा पूरै खानु पर्छ। संक्रमणको तीन हप्तासम्म उचित उपचार नपुगेमा आन्द्रामा प्वाल पर्नेजस्ता जटिलता देखा पर्छन्। गर्मी मौसममा उमालेको पानी मात्र पिउने, राम्रोसँग हात धोएर मात्र खाना खाने, सकेसम्म बाहिरका खानेकुरा नखाने गर्नाले टाइफाइड संक्रमणबाट बच्न सकिने चिकित्सकको सुझाव छ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App