निबन्ध

म, सीताराम र फुटपाथ एकेडेमी

शनिबार, ०५ जेठ २०७५, ०७ : २६ नारायण तिवारी

सीताराम उप्रेतीले मलाई लेखेको पत्र अहिले मेरो सामुन्ने छ ।‘तपाईं छक्क पर्नु होला कि चिठ्ठी कहाँबाट आयो भनेर...।’ उनले चिठ्ठीको उठान नै यसरी गरेका थिए । र, लेखेका थिए– ‘गरिमा’ २०४७ भदौको अंकमा प्रकाशित मेरो ‘मात’ शीर्षकको कथा पढेर प्रभावित भएको कुरा।

वास्तवमा म छक्क नै परेको थिएँ । किनभने म उनलाई चिन्दिनथेँ । तर, म धेरै खुसी पनि भएको थिएँ कि मलाई कुनै कथाप्रेमी पाठकले चिठ्ठी लेखेको छ । उसलाई मेरो कथा मन परेको छ । ऊ मेरा कथाहरू पढिरहेको छ । मैले सम्भवतः आफ्नो साहित्यिक लेखन यात्रामा कुनै अपरिचित पाठकबाट पहिलो पटक चिठ्ठी पाएको थिएँ । धेरै खुसी भएरै मैले उनको अपेक्षाअनुसार नै जवाफ पठाएको थिएँ । उनले लेखेका थिए– ‘...पत्रात्मक साक्षात्कार हुनसके अझ वेश हुने थियो...।’ उनले यो पनि लेखेका थिए– ‘...म एउटा साहित्य पढ्ने सानो फुच्चे मानिस हुँ...।’

त्यसबेला म जनकपुरमा बस्थेँ । जागिरे जीवनले मलाई विराटनगरबाट त्यहाँ पुर्याएको थियो । उनको चिठ्ठीमा लेखिएको मिति थियो– २०४७ पुस ८ गते । त्यतिबेला आफूलाई फुच्चे भन्ने सीताराम उप्रेतीको उमेर रहेछ, २३ वर्ष ।वि.सं.२०२४ जेठ १७ गते जन्मिएका उनी अहिले ५० वर्ष पुगिसकेका छन् । ती ‘फुच्चे’ सीतारामजीले फेरि एकपल्ट मलाई छक्कै पारिदिएका थिए । यो २०५२, २०५३ वा २०५४ सालमध्ये कुनै एक बिहानको कुरा हो ।म सुतिरहेकै बेला सीतारामजी अचानक घरमा आइपुगे । त्यो घरमा म भर्खरै बस्न थालेको थिएँ।

सीतारामजी भने मेरो बहिनीलाई घर देखाउन लिएर बिहानै पुगिसकेका थिए । त्यसपछि म हस्याङफस्याङ गर्दै उठेको थिएँ । उनीसित केहीछिन बातमारेको थिएँ । जिज्ञासा राखेको थिएँ– यो एकाप्रातै किन, कसरी र कहाँबाट...?कर्मचारी संगठनको साधारणसभामा आएको र संगठनले व्यवस्था गरेको ठाउँमा बसिरहेको उनले सुनाएका थिए । त्यसपछि समय मिलाएर मलाई भेट्न आएको उनले सुनाएका थिए ।म जनकपुरबाट विराटनगर सरुवा भएर आइसकेको उनलाई थाहा थियो । र, उनी साविकदेखि नै काठमाडौं । झापाका मानिस तर जागिर खाएको सुरुदेखि अन्त्यसम्म काठमाडौं । उनी राष्ट्रिय वाणिज्य बैंकका जागिरे थिए । म नेपाल बैंक लिमिटेडको।

उनी हतार गरिरहेका थिए । र, छिट्टै फर्कि पनि हालेका थिए । सायद चियासम्म त ख्वाएर पठाइयो कि, सम्झिन्नँ । अहिले सम्झिन्छु, उनको स्वभाव ‘हतारे’ नै रहेछ कि ! त्यसो त बैंकमा जागिरे प्राणिलाई हतार नगरी धरै छैन । म पनि सम्झिन्छु– जागिरे जीवनमा धेरै ‘हतारे’ थिएँ । हाम्रा उपर ग्राहकहरू बैंक कारोवारका लागि अधिर हुन्छन्, उनीहरू स्वयं हतारे हुन्छन् । भीड जो हुन्छ ।

म काठमाडौं जाँदा न्युरोड जान छुटाउँदैनथेँ । न्युरोडको पीपलबोट वा त्यसको वरिपरि । मेरो लालसा त्यहाँ साहित्यिक भेटघाट नै हुने गथ्र्याे । साहित्यकारहरूको जमघट हुने यो ऐतिहासिक ठाउँ । कहिले पीपलबोटको फेदमा त कहिले छेउछाउको चिया दोकानमा । साहित्यकारहरू साँझ उपस्थित हुन्थे । त्यहीँ, एकपटक यी सीताराम उप्रेती खुसुक्क म नजिकै आएर ‘तपाईं नारायण तिवारी होइन ?’ भन्दै प्रथम साक्षात्कार गरेको सम्झिन्छु ।

भीड नहुने दिन त उही फागू पूर्णिमाको भोलिपल्टको दिन । जहाँ तराईमा बिदा हँुदैन । तर, तराईवासीहरू होली खेलिरहेका हुन्छन् । र, बैंक खोल्नु मात्र हुन्छ, कारोवार भने शून्य । यो उहिलेको कुरा ! अहिले त होलीको बिदा तराईमा फागु पूर्णिमाको भोलिपल्ट, पहाडमा पूर्णिमाको दिन । अनि बन्दका दिनहरूमा कार्यालय खोलेर पनि काम गर्नु नपरेको कुरै नगरौं । यसरी ‘हतारे’ भएका हौं सायद हामी– म र सीताराम उप्रेती । तर, त्यतिबेला म हतार नगरी मस्त सुतिरहेको थिएँ, सीतारामजी मलाई भेट्न पुग्दा । र, सीतारामजी हतार गरिरहेका थिए उनको संगठनको कार्यक्रममा पुग्न । सायद उनीसितको मेरो यो प्रत्यक्ष देखभेट भएको दोस्रो पटक थियो वा तेस्रो वा चौथो।

म काठमाडौं जाँदा न्युरोड जान छुटाउँदैनथे । न्युरोडको पीपलबोट वा त्यसको वरिपरि । मेरो लालसा त्यहाँ साहित्यिक भेटघाट नै हुने गथ्र्याे । साहित्यकारहरूको जमघट हुने यो ऐतिहासिक ठाउँ । कहिले पीपलबोटको फेदमा त कहिले छेउछाउको चिया दोकानमा । साहित्यकारहरू साँझ उपस्थित हुन्थे । त्यहीँ, एकपटक यी सीताराम उप्रेती खुसुक्क म नजिकै आएर ‘तपाईं नारायण तिवारी होइन ?’ भन्दै प्रथम साक्षात्कार गरेको सम्झिन्छु । उनलाई सजिलो रहेछ, जागिर त्यहीँ नजिक विशालबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा । अनि छुट्टी भएपछि त्यहीँ जमघटमा भेला भयो, एकछिन बस्यो र चल्दियो, उनलाई सजिलो।

त्यसपछि यदाकदा काठमाडौं आउँदा उनीसित कहिले भेट भयो कहिले भएन । २०६० चैततिर म पनि काठमाडौं सरुवा भएर आएको थिएँ । मेरो कार्यालय त्यहीँ नजिक नै थियो, भूगोलपार्कमा । तर, मलाई उही बैंकको कार्यबोझको अधिकताले पीपलबोट वृत्तमा जमघटमा उपस्थित हुने सुविधा प्राप्त थिएन । सधै बेलुका ७ बज्थ्यो । कहिले त ८ पनि बज्थ्यो । तसर्थ, मलाई भेट्न हो वा कामले कुनै दिन हाल दिवंगत भइसकेका कवि उपेन्द्र श्रेष्ठ, त्यहाँ आए । कहिले कवि पुरुषोत्तम सुवेदी र कहिले सीताराम उप्रेती आएको सम्झिन्छु । आक्कलझुक्कल मात्र म त्यहाँ जमघटमा उः बेला उपस्थित भएँ होला।

म काठमाडौं केवल पुगनपुग ६ महिना बसे पनि यसै बेलादेखि सीतारामजीसँगको आत्मियता बढ्यो । आजकल त फेरि काठमाडौं उपत्यकामा केटाकेटीका कारणले सपरिवारै बस्न आएपछि सीतारामजीसितको हार्दिकता, निकटता, आत्मीयता ह्वात्तै बढेको छ । जागिर स्वेच्छिक अवकासको योजनाअन्तर्गत छोडिसकेकाले फुर्सदै फुर्सद छ । डेरा भक्तपुरको कौशलटारमा भएर दैनिक पीपलबोट वृत्तमा, साहित्यिक जमघटमा हाजिर हुन अलिक गाह्रो भए पनि यो साहित्यिक केन्द्र मलाई प्यारो लाग्छ । त्यसैले कहिलेकाहीँ त पुगिहाल्छु । कुनै कामले न्युरोड जानु परे जमघटमा पुग्छु । नभए, साँझसम्म बस्न अनुकूल नपरे सीतारामजीलाई विशालबजारको उनको कार्यालयमा भेटेर फर्किन्छु ।
डेरामा बस्दै आएका सीताराम उप्रेतीले एकदिन घर किनेको खबर सुनाएर मलाई छक्क पारे ।

म प्रिय ‘भाइसाथी’को प्रगतिमा खुसी भएँ । (उनी मलाई दाइ सम्बोधन गर्छन्, उमेरमा करिब १३ वर्ष जेठो भएर होला । म मित्रवत् व्यवहार गर्छु । र, सम्बोधन गर्छु, ‘सीतारामजी !’) कपन, बालुवाखानीमा स–सानो, तर चिटिक्क परेको घरमा हामी पीपलबोटमा उपस्थित भइरहने साथीहरूलाई उनले आमन्त्रण गरे । श्यामल, विमल निभा, पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराई, नयनराज पाण्डे, अविनाश श्रेष्ठ, आत्माराम शर्मा, टेकबहादुर राना र बुद्धिसागर आदिको उपस्थिति त्यहाँ थियो ।यो सायद ‘घर किनेको भोज खुवाउने होइन ?’ भन्ने हामी साथीहरूको उनलाई बारम्बार जिस्क्याइएको परिणाम थियो । भनौं, त्यो घर सरेको उपलक्ष्यमा सीतारामजीद्वारा हामी मित्रहरूलाई दिइएको भोज थियो।

म काठमाडौं वृत्तमा बसिरहेको हालको समयमा उनीसित केही अग्रज साहित्यिक व्यक्तित्वसित भेट्न गएको सम्झिन्छु । जगदम्बाश्री पुरस्कारबाट सम्मानित शिव रेग्मी दाइकहाँ उनी गइरहँदा रहेछन् । म पनि शिव रेग्मी दाइको भाषा–साहित्य सेवाबाट प्रभावित थिएँ, भेट्न चाहन्थेँ । तर, उनलाई भेट्ने कसरी, पुग्नु कहाँ, देखेको थिइनँ । यसमा सीतारामजीले सहयोग गरे । र, शिव रेग्मी दाइ कहाँ पु¥याए । शिव दाइले मैले विराटनगरबाट पठाइदिएको मेरो कविता संग्रह ‘अर्थात्’को स्मरण गरे । मैले उनले गोरखापत्रमा प्रकाशित कथाहरूको विशेषांकमा सम्पादकको जिम्मेवारी पाएका उनले मेरो कथा उक्त विशेषांकमा समावेश गरेको स्मरण गरें । शिव रेग्मी दाइले साक्षात् मलाई चिन्दैनथे । तर, उनी अध्ययनशील भएकाले मेरा फुटकर प्रकाशित रचना पढेर नै नामले चिन्दा रहेछन् ।

उनले २०४६ सालको परिवर्तनपछि मैले लेखेको ‘पुग्दैन’ शीर्षकको गोरखापत्रमा प्रकाशित कविताको पनि आफ्नो कुनै आलेखमा उल्लेख गरेको यतिबेला सम्झिन्छु । यसको तात्पर्य उनी वास्तविक अर्थमा अध्येता थिए, हुन् । तर, कतिपय जिम्मेवारी पाएका मानिसहरू कोरा भएको देखेको छु । सम्पादकहरू वास्तविक प्रतिनिधित्व गराउन होइन, ‘भागवण्डा’ गरेर कुनै झारा टार्न उद्दत, महसुस गरेको छु । यस्तो तीक्त अनुभवको भोक्ता म आफैं भएको छु।

गोरखापत्रलेझैँ मधुपर्कले पनि मधुपर्कमा प्रकाशित कथाहरूको विशेषांक निकाल्यो । तर, दुर्भाग्य एउटा कथा मात्र मधुपर्कमा प्रकाशित हुनेहरूलाई त्यहाँ समावेश गरियो । तर, १० औं संख्यामा होला मधुपर्कमा कथा प्रकाशित भएको म र मेरो कथालाई त्यस विशेषांकमा समावेश गरिएन । यस्तोमा शिव रेग्मी दाइजस्ता साहित्यका अन्वेषकको आवश्यकता बोध हुने रहेछ ।अर्को पटक यसैगरी अग्रज स्रष्टा मदनमणि दीक्षितकहाँ सीतारामजी र म भेट्न गएको पनि सम्झिन्छु । तर, मदनमणि माठ्साबकहाँ चाहिँ सीतारामजीले मलाई होइन, मैले सीतारामजीलाई पुर्याएको थिएँ । मदनमणि माठसाबसित मेरो पुरानो सम्बन्ध थियो, चिनाजानी थियो । समीक्षा पत्रिकामा मेरा धेरै कविताहरू प्रकाशित भएका थिए । हाम्राबीच धेरै पत्राचार भएका थिए ।

अहिले, यति लेखिसकेपछि पुरानो चिठ्ठीहरूको साथै रहेको फाइल खोलेँ । हेरेँ । त्यहाँ माठ्साबले मेरो नाममा लेखेका १७ थान चिठ्ठी फेला परे । उनी हरेक पटक मेरो पत्रको जवाफ लेख्थे । यो बानीको म कायल थिएँ । र, उनको प्रशंसक । काठमाडौं आउँदा प्रायः म उनलाई नभेटी फर्किन्नथें । सीतारामजीले पनि उनलाई भेट्ने इच्छा गरेपछि हामी दुई भाइ उनलाई भेट्न पुगेका थियौं ।यसैगरी अर्का कवि एवं सम्पादक व्यक्तित्व कृष्णभक्त श्रेष्ठ दाइलाई पनि भेट्ने मेरो इच्छा थियो । यसमा सीतारामजी सहयोगी भए । कृष्णभक्त दाइ पहिला न्युरोडबाट नजिक पर्ने, सायद ठमेल एरिया होला, त्यहाँ बस्थे । पछि, मण्डिखाटार बस्न पुगेका रहेछन्।

सीतारामजीले दुवै ठाउँ पुर्याएको सम्झिन्छु । मण्डिखाटारमा कृष्णभक्त दाइलाई भेटेको मिति रहेछ, २०७३ पुस ३ गते । यो टिपोट गरिराखेकोले उल्लेख गर्न सजिलो । नभए त तिथिमिति सम्झिनु साह्रै कठिन । अरूलाई केकस्तो हुँदो हो, मलाई त महाकठिन । कृष्णभक्त दाइसित त्यसदिन लामो गफ गरेर बितायौं । मधुपर्कको सम्पादक भएदेखि नै उनीसित मेरो चिनाजानी थियो । म काठमाडौं आएकाबेला उनको (सम्पादकको) कोठामा अवश्य छिर्थें । उनको मलाई सबैभन्दा मनपर्ने बानी थियो– आफू सम्पादक भएको पत्रिकामा आफ्नो कविता नछाप्ने । कृष्णभक्त दाइसितको सम्झना वा सम्बन्ध, सम्पर्कका कुरा अर्को पटक । यसपटक त प्रिय सीतारामजीसितकै कुरा...। 

    यति लेखिसकेपछि एकछिन रोकिन्छु । सोच्छु, अब यति लेखिसकेपछि बेला भएको छ– ‘छिचोल्दै बादलका घुम्टाहरू’बारे केही लेख्ने । यो ‘छिचोल्दै बादलका घुम्टाहरू’ पुस्तक हो, जसलाई लेखेका छन् यिनै आफूलाई चिठ्ठीमा फुच्चे हुँ लेख्ने सीताराम उप्रेतीले । उनी उमेरको हिसाबले पनि अब फुच्चे होइनन् । साहित्यको पाठक हुँ भने पनि अब उनी पाठक मात्र रहेनन् । उनी संस्मरण लेखक र नियात्राकार भइसके ।

सीतारामजी आफूले केही संस्मरण यात्राका र केही व्यक्तित्वबारेका लेखेको र पुस्तक प्रकाशन गर्न चाहेको कुरा मसित गर्थे । म हौस्याउँथे र भन्थें– गर्नुस् । उनका केही संस्मरण मैले फुटकर पत्रपत्रिकामा पनि पढेको थिएँ । राम्रा लाग्थे । उनले पुस्तक छापिँदै गरेको पनि जानकारी गराए । म सोध्थेँ– अनि विमोचन के गर्नुहुन्छ ? उनी, ‘आ... के विमोचन गर्नु !’ यस्तै केही भन्दै पन्छिन्थे । सायद मैले नै उनलाई सुझाएको थिएँ, ‘साहित्यकारहरूको जमघट हुने ऐतिहासिक थलो न्युरोडकै पीपलबोटमा गर्नुस् न त । एक–एक कप चिया ख्वाए पनि भयो, नख्वाए पनि भयो । यसो किताब उचाल्यो र फेसबुकमा फोटो राख्यो, विमोचन सम्पन्न ।’नभन्दै एकदिन सीतारामजीले फोन गरे– ‘लौ दाइ, भोलि न्युरोड आउनुप¥यो । भोलि मेरो ‘छिचोल्दै बादलका घुम्टाहरू’ पुस्तक विमोचन ।’

म करिब ४ बजे न्युरोड जमघट हुने ठाउँ पुग्दा झण्डै म छुटेको । जानासाथ साथीहरू किताब उचाल्न, तस्बिर लिन तम्तयार । मैले सुस्तरी भनें– ‘पीपलबोटमा नै गरेको भए हुन्थ्यो कि !’ शार्दुलजीले ‘के भयो, जाउँ न त त्यतै’ पनि भने । तर, सबैलाई पुस्तक विमोचनको हतार थियो । फेरि, यो सधैं जमघट हुने चिया दोकान पनि अनुपयुक्त थिएन । पीपलबोटभन्दा टाढा पनि थिएन।

उहिल्यैदेखि आखिर चिया खान लेखक कविहरू यस्तै दायाँबायाँ चिया दोकानमा बस्दै आएका पनि त हुन् । ‘है, ठीक छ, ठीक छ । केही फरक पर्दैन, यहीँ ठीक छ’– सबैको स्वर मिल्यो । र, बेन्चमा बसेर सीताराम उप्रेतीको भर्खरै निस्किएको संस्मरण पुस्तक ‘छिचोल्दै बादलका घुम्टाहरू’ उपस्थित सबैले हातहातमा उठायौं । यसरी पुस्तक विमोचन गर्ने हामीहरू थियौं– रेशम विरही, नारायण तिवारी, विमल निभा, अविनाश श्रेष्ठ, श्यामल र शार्दुल भट्टराई । र, बीचमा बसेका थिए सीताराम उप्रेती । तस्बिर लिन वरपरका कसैलाई अनुरोध गरिएको थियो।

मैले तत्कालै मोबाइलमा फेसबुक खोलें । र, भर्खरै विमोचन भएको तस्बिर राखेर पोस्ट गरेँ, लेखेँ– ‘आज अहिले मिति २०७४ जेठ १६ गते न्युरोड, काठमाडौंमा साहित्यकार सीताराम उप्रेतीको निबन्ध संग्रह ‘छिचोल्दै बादलका घुम्टाहरू’ लोकार्पण गर्दै !’

अविनाश श्रेष्ठले जहाँ विमोचन कार्य सुसम्पन्न भयो, त्यसको नामाकरण गरे– फुटपाथ एकेडेमी । उनले घर पुगेर विमोचनका केही तस्बिर पोस्ट गर्दै लेखेको स्टाटसमा छ– ‘फुटपाथ एकेडेमी...!’त्यो चिया पसल थियो, आजकाल जमघट हुने ठाउँ, पीपलबोट नजिक, न्युरोड । चिया पसलको बेन्चमा बसेर विमोचन सुसम्पन्न भएको थियो । सीतारामजीले हामी विमोचनकर्ता सबैलाई एक–एकवटा ‘छिचोल्दै बादलका घुम्टाहरू’ पुस्तक वितरण गरे । पुस्तकको प्रकाशक लीलादेवी पाठक अर्थात् उनकी पत्नी भएकोले वितरण गर्न सजिलो थियो । यद्यपि हुनुपथ्र्यो गाह्रो । बरु, प्रकाशकले प्रकाशन गरिदिएको चाहिँ हुनुपथ्र्यो वितरण गर्न सजिलो । तर, हामीकहाँ बसेको, बसाइएको परम्परा भत्काउने कसले...?

पुस्तक विमोचन सुसम्पन्न भएपछि सीतारामजीले खाजा ख्याउने भए । खुसी मनाउन त पाइन्छ नि, हामी उक्लियौं नजिकैको चौथो हो वा तेस्रो तलामा रहेको रेस्टुरेन्टमा । रोटी, तरकारीको अर्डर भयो । अविनाशजी र मैले होला– सुख्खा रोटी खोज्यौं, मगायौं । अरूले पनि कसैकसैले सायद सुख्खा रोटी खाए । ‘अथि’को लालसा पनि अलिअलि भएको हो किजस्तो हुँदैथ्यो । तर, सबैले सीतारामजीलाई धेरै बोझ बोकाउनु हुन्न भन्नेमा सहमति जनायौं, मनैमन ।
यसरी एउटा पुस्तकको छोटकरी तर ऐतिहासिक विमोचन सुसम्पन्न भएको थियो।

पछि पनि केही केही साथीहरूले यसबारे चर्चा गरे । सम्झिरहेछु, उपन्यासकार उमा सुवेदीले एक कार्यक्रममा भेट हुँदा भनिन्– ‘तपाईंहरू त के के गर्नुहुन्छ हौ, अचम्म !’ यसरी अचम्म र गजब मान्नेहरू अरू पनि थिए । फेसबुकमा विमोचनको खबर पोस्ट भएकोले यो द्रुत गतिमा फैलिएको थियो । त्यहाँ कमेन्ट लेखेर अचम्म मान्ने, खुसी हुने, बधाई दिने धेरै थिए।

कृतिकारले त बधाई पाएकै थिए, हामी विमोचनकर्ताहरूले पनि त्यसमा सामेल भएर प्रशन्नता प्राप्त गरिरहेकै थियौं । यसरी ती स्वयं घोषित ‘फुच्चे’ सीतारामजी अब उपरान्त हाम्रा लागि पनि, अरूका लागि पनि एक कृतिका कृतिकारमा दर्ता भएका थिए । प्रथम पुस्तकका साथ कृतिकारका रूपमा पदार्पण गरेका थिए । यसबेलासम्म उनी फुच्चे साहित्यको सामान्य पाठक नभएर एक साहित्यिक पुतकका स्रष्टा भइसकेका थिए । उनलाई मेरो फेरि पनि धेरै बधाई । साहित्यिक यात्राका लागि यो पहिलो पाइला सुखद र भविष्यमा धेरै यात्रा तय गर्ने प्रस्थान विन्दु हुन सकोस्– हार्दिक शुभकामना।

अब केही ‘छिचोल्दै बादलका घुम्टाहरू’ भित्रका कुरा । सीताराम उप्रेती आफूजस्तो सरल छन्, पुस्तक पनि त्यस्तै छ गरल नभएर सरल । पढ्न खुरूखुरू तानिन्छौं । यो ‘तानिनु’ नै सफलता हो । उनले आफू जहाँजहाँ गए, पुगे त्यसलाई लेखे । केही साहित्यिक संसर्गमा आएका कवि लेखकहरूका बारेमा लेखे । फुटकर प्रकाशित गराए । पछि यसरी पुस्तकका रूपमा नेपाली साहित्य भण्डारलाई अर्पण गरे ।बल्लभमणि दहाललाई श्रद्धाञ्जली दिन लेखे–‘स्मृतिभित्र बल्लभमणि ।’भवानी घिमिरेको अवसानपछि लेखे– ‘सम्झनामा भवानी दाइ ।’कवि उपेन्द्र श्रेष्ठको अन्त्यपछि लेखे– ‘कवि कुनाका सारथिको अन्त्य।’

प्रख्यात निबन्धकार एवं समालोचक कृष्णचन्द्रसिंह प्रधानलाई उनको मृत्युलगत्तै स्मरण गरे । र, उही साल दिवंगत कवि उपेन्द्र श्रेष्ठलाई पनि फेरि एकैसाथ यस एक संस्मरणमा सम्झना गरे, लेखे– ‘बाँचुन्जेल लेखेर जानेहरूप्रति ।’सुप्रसिद्ध कथाकार रमेश विकलको पनि मृत्युपश्चात स्मरण गरे । रमेश विकल, विजय चालिसे र विजय चालिसेको पनि छोरा समेतलाई स्मरण गर्दै लेखे– ‘रमेश विकलका तीन पुस्ता ।’ध.च.गोतामेको निबन्ध स्रग्रह ‘कालान्तर’भित्र पसेर सोको प्रशंसा गर्दै उनलाई कहिल्यै भेट्न नसकेको सन्दर्भसहित लेखे– ‘नजुरेको साइत।’

आफूलाई पढाएका घटराज भट्टराई, नारायण भट्टराई, गोविन्दप्रसाद भट्टराई र हेमलाल न्यौपाने चारैजना दिवंगत गुरुहरूलाई स्मरण गर्दै लेखे– ‘दिवंगत चार गुरु ।’गोविन्द वर्तमानलाई स्मरण गर्दै लेखे– ‘स्वाभिमानी स्रष्टाको बिदाई ।’ सम्झिन्छु, उनको अन्त्येष्टीको दिन पशुपति आर्यघाटमा म पनि पुगेको थिएँ ।‘राजनीतिका केही पात्रहरू’ शीर्षकमा उनले आफूले नमस्कार गरेका माथ्लो तहका नेताहरू मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान सिंहबाट के–कस्तो रेस्पोन्स प्राप्त गरे, सोको अनुभूति लेखे।

अञ्चलाधीस बद्रीविक्रम थापाको दिवंगत भएको खबर सुनेर साहित्यकार विष्णु नवीनलाई समेत स्मरण गर्दै लेखे– ‘बद्रीविक्रम र विष्णुलाई सम्झँदा ।’प्रसिद्ध हास्यव्यंग्यकार केशवराज पिंडालीसित उपहार पत्रिकाका लागि रचना माग गरेको तर रचनामा तत्कालीन पञ्च सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई नामै किटेर गाली गरेकोले रचना छाप्न असमर्थ भएको परिस्थितिबारे लेखे– ‘रचना फिर्ता गर्नुपर्दा।’   

पुस्तकमा भूमिका लेखेका छन्, नियात्रा साहित्य वा यात्रा साहित्यका पारखी निर्मोही ब्यासले । भूमिकाको शीर्षक राखेका छन्– ‘बाइसरंगी घुम्टाहरू ।’ उनी अथ्र्याउँछन्– बाइसथान यात्रापरक र संस्मरणपरक रचनाहरू । यसै बाइसथानमध्ये पहिलो खण्डमा ११ थान संस्मरणपरक रचना विषय सूचीमा उल्लेख छन् । त्यसपछि अर्को खण्डमा निर्मोही व्यासले लेखेझैं– यात्रापरक । जसलाई सीतारामजीले नियात्रा भन्न रुचाएका छन् । अर्थात् विषय सूचीमा उनले लेखेका छन्– संस्मरण र नियात्रा । खैर, नियात्रा भयो कि, सबै २२ थान रचना संस्मरण भए कि, निबन्ध भए कि– म त्यतातर्फ जान्न, जान चाहन्नँ । मलाई यति थाहा छ, जे भने पनि नभने पनि सीतारामजीका यी निस्कपट, सरल रेखामा दौडिएका, सुललित र पठनीय साहित्यिक रचनाहरू हुन् । उनको यस प्रथम प्रयासलाई सराहना गर्नै पर्छ– यो मेरो विचार, पुस्तक पढेपछिको मेरो दृष्टि !

माथि, ११ थान संस्मरण रचनाको संक्षिप्त चर्चा गरें । अब यात्रापरक वा नियात्राका केही कुरा । सीताराम उप्रेती झण्डै–झण्डै यायावरी प्रवृत्तिका रहेछन् । घुम्न रुचाउँछन् । ठूला मानिसका ठूला कुरा । सीताराम मानौं साना मानिस हुन् । ठूला मानिसकाझैं लण्डन र अमेरिकाका कुरा लेख्ने उनलाई अवसर जुरेको छैन । भारततर्फ पनि उनको एक यात्रा संस्मरण मात्रै देखिन्छ । १० थान यात्रा संस्मरण उनको स्वदेश भूमिकै रहेको छ।

उनी यायावरी प्रवृत्तिका भएर, चुपचाप बसिदिएका भए, यो पुस्तक प्रकाशित हुने थिएन, यात्रा संस्मरण लेखिने थिएन । उनी जहाँजहाँ जान्छन्, त्यसबारे जिज्ञासु बन्छन् । र, सायद टिपोट गर्दै जान्छन् । नभए कसरी संभव हुने थियो होला हरेक गाउँ, ठाउँ, मानिस, वनस्पति र हिमाल पहाडका अनगिन्ति नाम र कामका कुरा ! उनले अनगिन्ती परिस्थितिलाई समेत नजिकबाट नियालेका छन् । र, तत्तत् विषयमा आफ्नो भावुकता वा टिप्पणी जाहेर गरेका छन् । यसो गर्नु वा आफ्नो अन्तरमनलाई पोख्नु नै सायद नियात्रा होला । यस्तो अभिव्यक्ति कतिपय ठाउँमा उनले पोखेका छन्।

नियात्राखण्डमा रहेका रचनाहरूका शीर्षक यस्ता छन्– ‘सुर्खेत बुलबुल ताल’, ‘सिन्धुलीगढी नि घुमेर हेर्दा’, ‘क्वाङदे हिमाल अघि’, ‘हेरिरहन्छौं टनकपुरलाई’, ‘कामाख्या यात्रा’, ‘कृष्णनगर वालेकुम सलाम’, ‘भोकैतिर्खै जङ्गली यात्रा’, ‘छिचोल्दै बादलका घुम्टाहरू’, ‘सन्ते र गौरीको खोजी’, ‘यात्रामा ज्यानको बाजी’, ‘जोमसोम कागबेनी’ र ‘मुक्तिनाथ’।

यसबाट पनि केही त बुझ्न सकिन्छ उनी कहाँकहाँ गए ? ‘भोकैतिर्खै जङ्गली यात्रा’ शीर्षकीय नियात्रामा पश्चिम महेन्द्रनगर, टनकपुर र भारतीय जंगलमा बाटो हराएको सन्दर्भ रोचक छ । कथाकार भाउपन्थीलाई सोध्दैखोज्दै उनको घर पुगेको तर उनी काठमाडौं गइसकेकाले भेट हुनसकेको सन्दर्भ पनि यसै नियात्रामा उल्लेख छ । ‘छिचोल्दै बादलका घुम्टाहरू’मा आफू नजन्मिएको भए पनि आफ्नो बाबुबराजुको थातथलो आठराई जहाँ उनकी वृद्ध हजुरआमा हुनुहुन्छ, भेट्न जाँदाको कष्टकर यात्राको मनपर्दो वर्णन छ ।

यो पुस्तकको शीर्षक चयन गरिएको नियात्रा पनि हो । ‘चिसो चुल्हो’का पात्रहरूले विचरण गरेको ठाउँ चापागाउँ र बज्रवाराही मन्दिरको नजिकको यात्रालाई उनले ‘सन्ते र गौरीको खोजी’ नाम दिएर नियात्रा बनाएका छन् । शीर्षकले स्वयं जानकारी नदिने उनको अन्तिम नियात्रा हो– ‘यात्रामा ज्यानको बाजी !’ जसमा उनले ४३८० मिटर उचाइमा रहेको गोसाईंकुण्ड पुग्दाको यात्राका कठिनाईलगायत विविध अनुभूति पोखेका छन् । संग्रहभित्रको सबैभन्दा लामो रचना यही हो।  

आज यसरी सीतारामजी, उनको पुस्तक र मसितका ससाना स्मृति यसरी लेख्दा मलाई अघोर तृप्ति प्राप्त भएको लागिरहेको छ । आफूलाई फुच्चे भन्ने यी मेरा ‘भाइसाथी’ फुच्चे किमार्थ होइनन्, थिएनन्– लागिरहेको छ । उनको पुस्तक ‘छिचोल्दै बादलका घुम्टाहरू’ जस्तै उनी पनि सरल, निस्कपट र सहयोगी भला मानिस हुन् भन्ने मेरो ठम्याई छ । र, ठूलो नभए पनि भला मानिस नै मेरो नजरमा ठूलो । ओहदावाल, गाडीवाल, ठूलो बिल्डिङवाल नभए पनि सरल, निस्कलंकित, छक्कापन्जारहित यस्तै भला मानिस मलाई प्यारो । अरूलाई उनी के लाग्ला ? अरूसितको उनको व्यवहार के–कस्तो होला, मलाई के थाहा ? मलाई मसितको उनको हितकारी, विनयी, सरल सम्बन्ध न थाहा छ । त्यसैले सीतारामजीलाई मैले यस्तै देखें । जे देखें, त्यही लेखें....! कसलाई कस्तो लाग्छ मलाई के थाहा...? 

     उनले दिवंगत स्रष्टा वा व्यक्तित्वलाई मात्रै आफ्नो लेखनको विषय बनाए । सुझाउ दिन मन लाग्छ– ‘अब तपाईं एक पुस्तकका स्रष्टा भइसक्नुभएको छ, दिवंगत स्रष्टालाई मात्र शीर्षक नबनाउनुहोस्, ज्युँदा मानिसहरूसितका छोइएका सन्दर्भ छन् भने तिनलाई पनि लेख्नुहोस् । नेपाली जीवनका विविध दुर्दान्त पाटाहरू छन्, ती लेख्नुहोस् । विसंगति, विकृतिले ग्रस्त समाजका अनगिन्ति समस्याहरू छन्, सुखद छैन बाँच्नु– यिनलाई आफ्नो निबन्धको विषय बनाउनुहोस् ।’
भन्छु यी मेरा प्रिय भाइसाथी सीतारामजीलाई– ‘यो सृजनाको बाटोमा हिँड्न थालेपछि पछाडि नफर्किनुहोस्।

अझै समय धेरै बाँकी छ । थाहा पाएको छु जागिरमा ३० वर्ष बिताएर यी भाइसाथी अब केही महिनामै रिटायर्ड हुँदैछन्, त्यसपछि त लेख्नु र मात्र लेख्नुलाई, जीवनको यात्रा घोषणा गर्नुहोस् । तपाईंमा प्रतिभा छ, लेखन–कर्मको गतिलाई अझ बढाउनुहोस् । त्यसो हुनसके नेपाली साहित्य भण्डार तपाईंका थप कृतिहरूले सुसज्जित हुन सक्नेछन्– मेरो हार्दिक शुभकामना ।अन्त्यमा एउटा वाक्य सीतारामजीका लागि फेरि थप्छु– ‘तपाईं अब एउटा साहित्य पढ्ने सानो फुच्चे मानिस होइन, एउटा स्रष्टा हो, लेखक हो...।’  






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad