coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

थुनिएका आफन्त भेट्न पाउँदा खुशी

फाइल तस्बिर ।

अरुण बम

डोटी–श्रीमान आफ्नै कार्यरत संस्थाभित्र थुनिएको २८ दिनपछि भेट्न पाउँदा दिपायल सिलगढी नगरपालिका–७  कुमालीकोटकी उत्तमा कठायतका आँखा भरिए। उनका श्रीमान सैनिक हबल्दार गणेशबहादुर कठायत हतियार गायव प्रकरणपछि सेनाले नै ‘निगरानी’ भनेर थुनेर राखेको छ।

२७ दिनसम्म गणेशको अवस्था करिब ‘अज्ञात’ जस्तै थियो। सेनाले कुनै कुरा जानकारी दिएको थिएन् । बाहिर अनेक किसिमका हल्ला आइरहेका थिए। जसले उत्तमाको मनमा पीडाको बिउ रोपिरहेको थियो। ‘अनुहार देख्दा आँशु रोक्नै सकिन्,’ उनले भेटको क्षण स्मरण गर्दै भनिन्, ‘जिउँदो अनुहार हेर्न पाए । बाहिरका हल्लाले मनमा अनेकन्, तरंग उब्जिरहेका थिए।’

गणेश साउन १८ गते घरबाट हिँडेका थिए। त्यसपछि सम्पर्कमा आएका थिएनन्। २१ गतेबाट गाँईगुँई चल्यो उनी थुनामा परे भनेर। सुरुमा उत्तमालाई केही विश्वास थिएन। २३ गतेबाट घटना पुरै धरातलमा आइसकेको थियो । ‘हतियार हरायो, ड्यूटीमा रहेका सैनिक कर्मचारीलाई निगरानीमा राखिएको छ’ भनेर। तर, यस विषयमा सेनाले केही खोलेको थिएन। न त निगरानीमा राखिएको भनिएका सैनिक कर्मचारीका घरपरिवारलाई जानकारी नै गराइएको थियो।

केही दिन बित्दै जाँदा निगरानीमा राखिएका भनिएका सैनिक कर्मचारी माथि यातना दिइएको कुरा पनि बाहिर आयो । तर, उत्तमालाई भने आफ्ना श्रीमान थुनिएका छन् भन्नेसम्मको ‘भेउ’ थिएन। भदौ २ गते बिहान अकस्मात पृतना अन्तर्गतको हवाई सुरक्षा ब्याट्रीमा कार्यरत सैनिक हबल्दार दीपक बहादुर खड्काले आत्महत्या गरे। त्यसपछि सैनिक परिवारमा ठूलो सकस पैदा भयो। सेनामा कार्यरत आफन्तको बारेमा जानकारी नपाउनु, फोनमा कुरा गर्न नपाउनु भेट्न नदिइनुले उनीहरुका मनमा अनेक किसिमका शंका/उपशंकाहरु पैदा भए।

उत्तमा मनमा पनि त्यही कुरा बिझ्यो । उनले श्रीमानसँग सम्पर्कको धेरै प्रयास गरिन् । यसक्रममा बिबिध ‘हल्ला’ आउन थाले । यसैक्रममा उनको  घरमा पनि यही भदौ ९ गते राति सेनाले छापा मार्यो । यसले उनको मन झन आतंकित भयो। ‘ती घटनाहरुपछि मन एकनासको नै हुनसकेन्,’ उनले दुखेसो पोख्दै भनिन्,‘एकैपटक अनुहार हेर्न पाएपनि हुन्थ्यो जस्तो लाग्थ्यो त्यो बल्ल पूरा भयो।’

धेरै बोलेपछि पत्रिका(नागरिक)मा आएपछि मात्र भेट्न पाएको उनले बताइन्। ‘नबोलेको भए भेट्न नपाइने रहेछ,’ उनले भनिन्,‘धेरै बोल्यौ त्यसैले भेट्न दिएका हौं भनेर उनीहरुले नै भनेका थिए।’ त्यसपछि उनको हाउभाउले कृतज्ञता प्रकट गर्दै थियो ।

लगातार समाचारमार्फत थुनामा रहेका सैनिक कर्मचारीहरुलाई परिवारसँग सम्पर्क गर्न नदिएको तथा चरम यातना दिइएको लगायतका घटनाहरु बाहिर आएका थिए। जुन मानवअधिकारको दुरुपयोग भित्र पर्दछन्।  सो दबाबपछि मंगलबार  थुनामा रहेका सेनालाई परिवारसँग भेट गर्न दिइएको छ। जसमा डोटीका चार जना सैनिकलाई उनका परिवारले भेटेका छन् ।

हरेक परिवारलाई भेट्नका लागि ५ मिनेट मात्रै समय दिइएको थियो। भेटका क्रममा तीन÷चार जना अफिसर पनि साथमा रहेको ती परिवारहरुले जनाएका छन्। त्यसक्रममा सामान्य पारिवारिक कुरा मात्रै गर्न दिइएको थियो।

परिवारले जनाएका अनुसार भेटका क्रममा थुनिएका सबै सैनिकलाई सैनिक ड्रेसमै राखिएको थियो। त्यसले सबै शरीर राम्रोसँग हेर्न भने मिलेन्। ‘पाँच मिनेट भन्दा एक सेकेण्ड पनि बढी समय बस्न दिएन्,’ थुनिएका एक सैनिककी श्रीमतीले भनिन्,‘यसो अनुहार र हातको देखिने ठाउँमा चोटपटक त थिएन् । बाकी हेर्न नै पाइएन् ।’ तर, सबै जना दुब्लाएको भने सबै परिवारले जनाए ।

सैनिक प्रवक्ता ताराबहादुर कार्कीले सैनिकको आफ्नै अनुसन्धान प्रक्रिया भएपनि धेरै आवाज उठेकाले भेट्न दिइएको बताए। उनले बाहिर हल्ला भए अनुसारको काम नभएको दाबी गरे। ‘हाम्रो आफ्नै अनुसन्धानको बिधि प्रक्रिया छ । जसलाई नाघेर अनुसन्धान गर्देनौ,’ उनले भने । निगरानीमा कति जना छन त्यो भने उनले खुलाएनन् । ‘त्यो अनुसन्धानको मोड अनुसार घटबढ भैरहन्छ । यसर्थ अहिले यकिन भन्न सकिन्न,’ उनले थपे ।

 

प्रकाशित: १५ भाद्र २०७३ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App