७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी केन्द्र पुनर्गठन गर्न किरातीको आग्रह

खोटाङ – माओवादी नेता गोपाल किरातीले नेकपा माओवादी केन्द्र पुनर्गठनका लागि आग्रह गरेका छन्। माओवादी केन्द्र एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको दोस्रो दिन शुक्रबार नेता किरातीले विचार, भावना र इतिहासको एकीकृत निरन्तरताका लागि नेकपा माओवादी केन्द्र पुनर्गठन अभियानमा जुट्न आग्रह गरेका हुन्।

नेकपा माओवादी केन्द्र राष्ट्रिय भेला आयोजक समितिको संयोजकका रुपमा शुक्रबार विज्ञप्ति जारी गरी किरातीले केपी ओली–पुष्पकमल दाहाल गठबन्धनको प्रतिक्रान्ति हर्कतविरुद्ध माओवाद एवं नेपालको बाह्य र आन्तरिक राष्ट्रिय स्वाधीनता पक्षधर सम्पूर्ण शक्तिबीचमा संवाद, संयुक्त आन्दोलन तथा क्रान्तिकारी केन्द्रीकरणका लागि आह्वान गरेका छन्। दाहाल समूह वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसमर्पणवाद, सांस्कृतिक उपभोक्तावाद तथा नेपालको बाह्य तथा आन्तरिक राष्ट्रियताको प्रश्नमा नवप्रतिक्रियावादमा पलायन भएको आरोप किरातीको छ।

पुँजीवादी गणतन्त्र स्थापनासम्म सकारात्मक भूमिका खेलेको दाहाल समूह हाल आएर माक्र्सवाद–लेनिनवाद–माओवादको विचार, बल प्रयोगको सिद्धान्तमा आधारित राजनीतिक कार्यदिशा र पहिचानको मुद्दा परित्याग गरी नवप्रतिक्रियावादी कित्तामा पलायन भएको विज्ञप्तिमा उल्लेख छ। ‘पेरिसडाँडामा २०७४ साल असोज १६ गते एमालेमा आत्मसमर्पणको निर्णय र २०७४ साल फागुनमा ७ बुँदे काण्डदेखि नै हामीले प्रचण्ड (दाहाल) सँग मतभेद दर्ज गरेका हौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर हाम्रो जायज मागबारे छलफल गर्नुको सट्टा २०७४ साल फागुन १० गते हामीलाई नै निष्कासन गरियो र प्रतिक्रान्ति कित्तामा पलायन भयो।’

प्रकाशित: ५ जेष्ठ २०७५ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App