७ वैशाख २०८१ शुक्रबार
राजनीति

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

काठमाडौं – एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा सभामुखमा माओवादीबाट कृष्णबहादुर महरा र उपसभामुखमा एमालेबाट डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएका थिए। एमाले र माओवादी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि अब सभामुख र उपसभामुखका विषयमा के हुने भन्ने चर्चा सुरु भएको छ।

संविधानको धारा ९१ (२) ले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलबाट हुनुपर्ने व्यवस्था गरेको छ। संविधानको प्रतिबन्धात्मक वाक्यमा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलका सदस्य सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन भनिएको छ।

राष्ट्रिय जनता पार्टीका सांसद तथा कानुनविद् लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुख एउटै पार्टीको भएकाले अब एउटाले राजीनामा दिएर बाटो खोल्नुपर्ने बताए।

संसद् बैठकमा आसन परिवर्तन
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि संसद्मा आसन परिवर्तन भएको छ। शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा दुवै दलबाट निर्वाचित सांसद आपसमा मिसिएर बसे।

सभामुखको आसनदेखि दाहिनेतर्फका दुई ‘रो’ सत्तापक्षलाई छुट्याइएकोमा यसअघि पहिलो ‘रो’ मा एमाले र दोस्रो रोमा माओवादी सांसद बस्दै आएका थिए। शुक्रबारको बैठकमा भने पुष्पकमल दाहाल सत्तापक्षको पहिलो वरियतामा बसेका थिए भने दोस्रो वरियतामा माधवकुमार नेपाल बसेका थिए। एमाले र माओवादी मिलेर निर्वाचन आयोगमा बिहीबार नेपाल कम्युनिस्ट पार्टी दर्ता गरे पनि त्यसको जानकारी संसद्मा आइसकेको छैन। ‘उहाँहरु आफैं मिलेर बस्नुभएको हो’, सचिवालय स्रोतले भन्यो।

प्रकाशित: ५ जेष्ठ २०७५ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App