७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीकै आडमा तामाकोसीमा बालुवा तस्करी

दोलखा – महिना दिन अगाडि स्थानीय प्रशासनले तामाकोसी नदीबाट बन्द गराएको बालुवा तस्कारी फेरि प्रशासनकै आडमा रातको समयमा शुरु भएको छ।

पुनर्निर्माणका समयमा बालुवा गिट्टी अभावको फाइदा उठाउँदै प्रशासनकै मिलेमतोमा जथाभावी तामाकोशी नदी दोहन बारे सर्वत्र आलोचना भएपछि बन्द भएको बालुवा तस्करी फेरि शुरु भएको हो। 

अवैध बालुवा उत्खनन गर्नेहरूले जिल्लाको तामाकोसी नदीको भांगे खोलामा तीन दिन यता दुई ओटा स्काभेटर प्रवेश गराएर रातभरी बालुवा ओसारेका छन् । तामाकोसी बजारका एक स्थानीयका अनुसार तामाकोसी बजार यता भांगे खोला नजिक साँझ परेपछि तीन दिन यता रातभर स्काभेटर नदीमा हालेर बालुवा, ढुङ्गा र ग्राभेलका लागी प्रयोग हुने सामाग्रीको ओसारपसार भइरहेको छ। ‘प्रशासनले एक महिना अगाडि बन्द गरेको भनिएको बालुवा उत्खनन् हाम्रो ठाउँमा दुई दिन देखि रातको समयमा शुरु भयो’ तामाकोशी बजारका स्थानीयले नागरिकन्युजसंग टेलिफोनमा भने – ‘तीन दिन यता नदीमा डोजर हालेर निकालेको निकाल्यै छन्’ 

तामाकोसी नदीमा यसअगाडि जथाभावी बालुवा उत्खनन बढेपछि बन्द गराएको थियो । नदी भरी खाल्डै खाल्डा पार्ने तथा हिन्दु संस्कार अनुसार दाहसंस्कारका लागि प्रयोग हुने घाट नै मासिने गरी बालुवा उत्खनन बढेपछि संघ तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रशासनले दोलखाको तामाकोशी नदीमा अवैध बालुवा उत्खनन गर्ने काम रोकेको थियो। तर अवैध बालुवा उत्खनन गर्ने काम रोकेको महिना दिन पछि किरातीछाप प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिने प्रहरी कर्मचारीहरुको आडमा रातको समयमा बालुवा तस्कारी बढेको स्थानीयले बताएका छन्। 

भांगेखोलाबाट रातको समयमा बालुवा तस्करी हुन थालेपछि तामाकोसी नदी आसपासमा यस अघि बालुवा तस्कर गर्नेहरू समेत सल्बलाउन थालेका छन् । शुक्रबार साँझ सम्म तामाकोसी नदी नजिकको भांगे खोला बाहेक वरपर समेत अवैध बालुवा खानी चलाउँदै आएकाहरुले फेरी स्काभेटर र डोजर तामाकोसी नदीमा धमाधम झार्न थालेका एक स्थानीयले जानकारी दिए। 

यता जिल्लाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले प्रहरीको संरक्षणमा तामाकोसी नदीमा फेरि बालुवा तस्कारी शुरु भएको कुराको इन्कार गरे। ‘तामाकोसीमा अवैध रुपले चलेका बालुवा खानीहरु यस अघि नै हामीले बन्द गराइसकेका छौं’ उनले भने – ‘प्रहरीको आँखा छलेर कसैंले गरेको रहेछ भने खोजविन गरेर कारबाही गर्छौ’। उनले तामाकोसी नदी आसपासको बालुवा तस्करी रोक्न प्रहरीको नियमित गस्ती र परिचालन भइरहेकाले तस्करी नभएको दाबी गरे। 

 प्रहरी प्रमुख कार्की हप्ता दिन अघि नै सरुवा भइसकेका छन् । उनको स्थानमा सरुवा भई आएका डिएसपी वासुदेव पाठक अहिले सम्म जिल्ला आइपुगेका छैनन भने कार्की समेत सरुवा भएको स्थानमा फर्किएका छैनन्। 

प्रकाशित: ४ जेष्ठ २०७५ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App