८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

सोल- दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जानेभएको छ।   

चाडै नै हुने भनिएको तर अनिश्चित रहेको उत्तर कोरिया र अमेरिकाको शिखरवार्ता सफल पार्ने वातावरण बनाउन मुनले ट्रम्पले भेट्ने कार्यक्रम बनाएका हुन्।

दक्षिण कोरियाको राष्ट्रपतीय सुरक्षा कार्यालयका उपनिर्देशक नाम ग्वान्प्योले औपचारिक भ्रमणका लागि मुन आउदो मंगलबार अमेरिकाको वासिङटन जान लागेको सञ्चारकर्मीलाई जानकारी दिए। 

ट्रम्प र उत्तर कोरियाली नेताको शिखर सम्मेलन सफल पार्नका लागि पुलको काम गर्न मुन अमेरिका जान लागेको उनले बताए। 

मुन र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत अप्रिल २७ तारिखका दिन दुई देशको सिमानामा पर्ने दक्षिण कोरियाको पान्मुन्जोममा शिखरवार्ता भएको थियो। 

दुई कोरियाको सो ऐतिहासिक वार्तामा आणविक भट्टीहरू बन्द गर्ने लगायतका महत्वपूर्ण सम्झौता भएको थियो। तर अहिले सोलमा दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास जारी रहेको छ। उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ। 

उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ। 

दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखरवार्ता हुन लागेको छ। 

प्रकाशित: ४ जेष्ठ २०७५ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App