तुलसीपुर – दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
तीमध्ये सबैभन्दा बढी कारबाहीमा परेका सवारी साधनमा मोटरसाइकल, बस, ट्याम्पो कार तथा जिप छन्।
ट्राफिक नियम विपरीत चलाएका सवारी साधनलाई कारबाही गर्दा रु ४३ लाख २३ हजार ५०० राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महराले जानकारी दिए।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका अनुसार, आर्थिक वर्ष २०७३/७४ मा आठ हजार ४१६ वटा सवारी साधन कारबाहीमा परेका थिए। कारबाहीबाट रु ४७ लाख ३८ हजार राजश्व संकलन भएको थियो।
त्यसैगरी आर्थिक वर्ष २०७२/७३ मा नियमविपरीत सञ्चालन भएका आठ हजार १५१ सवारी साधनलाई कारबाही गर्दा रु २४ लाख राजश्व संकलन भएको थियो।
सवारी चलाउँदा चालकको अनिवार्य लाइसेन्स हुनुपर्ने, सवारी साधनको कागजपत्र साथमा राख्नुपर्ने, मापसे गरी सवारी साधन चलाउन नहुने, क्षमता भन्दा बढी यात्रु राख्न नहुने लगायतका कुरामा ध्यान दिनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित: ४ जेष्ठ २०७५ १०:३८ शुक्रबार