८ वैशाख २०८१ शनिबार
समाज

दोलखाका क्रसरबाटै गिट्टी बालुवा ‘कालोबजारी’

दोलखा- तामाकोसी नदी आसपासमा सञ्चालित क्रसर उद्योगहरुबाट निकालिएका गिट्टी बालुवामा सञ्चालकहरुकै मिलेमतोमा कालोबजारी भईरहेको छ।

नदी दोहन गरेर निकालिएका अवैध बालुवा खानीहरु नियन्त्रण थालेको स्थानीय प्रशासनले क्रसर उद्योगहरु माथी नियमन गर्न नसक्दा त्यस्ता उद्योगहरुबाटै भईरहेको कालोबजारीको मार सर्वसाधारण र निर्माण व्यवसायमा संलग्नहरुले नराम्ररी खेपिरहेका छन्।

जिल्लाको तामाकोसी नदी आसपासको ढोलीखोला र गोपीखोला क्षेत्रमा सञ्चालित तिन ओटा क्रसर उद्योगहरुमा बालुवा र गिट्टीको मुल्य चलन चल्तीको भन्दा दुई गुणा सम्म बढी छ। स्थानीयका अनुसार क्रसर व्यवसायीले लिने मुल्य बाहेक ढुवानी गर्ने ट्रिपरहरुलाई तिन गुणा सम्म चर्को भाडा तिर्न सर्वसाधारण बाध्य छन्। ‘बर्ष दिन अघि प्रति ट्रिपर १६ हजारमा ल्याएको बालुवा अहिले त २६ हजार पुगिसकेछ’ चरिकोटका एक स्थानीयले भने।

ति स्थानीयका अनुसार सर्वसाधारण सिधै क्रसर उद्योग सम्म नपुग्ने कारण उनीहरु ट्रिपर ड्राईभर मार्फत गिट्टी बालुवा मगाउछन्। ‘क्रसर सञ्चालक हामीले माग्दा बालुवा छैन भन्छन’ उनी भन्छन – ‘तर ट्रिपर ड्राईभरलाई पठाउँदा बालुवाको प्रति घन मिटर २५ सय सम्म लिएर लोड गराउने गर्दा रहेछन’ । भूकम्प पछि घर बनाउँदै गरेका कतिपय सर्वसाधारण त्यो भन्दा बढी मुल्य तिरेर ठगिन्छन्। यस्तै गिट्टीको मुल्य समेत दुई गुणासम्म बढी तिर्न सर्वसाधारण बाध्य छन्। तोकिएको भन्दा महंगो तिरेर सामान उठाउने ट्रिपरहरुका लागी क्रसर उद्योगहरु भ्याट बिल समेत काट्दैनन्। स्थानीयका अनुसार ग्रामिण भेगबाट बालुवा गिट्टी लिन आउने सर्वसाधारण स्लिपका भरमा ट्रिपर चालकहरु मार्फत रकम भुक्तानी गरिदिन्छन्। चर्को मुल्य लिएर भ्याट बिल विनै गिट्टी बालुवा निकासी गर्ने कारण क्रसर उद्योगहरु दैनिक ३ देखी ४ टिभ मात्र बालुवा निकासी भएको भनेर झुठो रेकर्ड देखाउँछन्। ट्रिपर चालकहरु बढी रकम लिन ग्राहक संग मोलमोलाई गर्छन्। बिहिबार दिउँसो यस संवाददाताले ग्राहक बनेर दुई जना ट्रिपर चालकहरु संग छुट्टा छुट्टै सम्पर्क गर्दा तामाकोशी नदीबाट २३ हजार र २६ हजार सम्ममा चरिकोटमा बालुवा झार्न सकिने बताए। 

जिल्लाको तामाकोसी बजार आसपासमा तीन ओटा क्रसर सञ्चालनमा छन् । चरिकोटको व्यवसायी पृथ्वी बहादुर श्रेष्ठले सञ्चालन गरेको दोलखा श्री एकता रोडा ढुङ्गा उद्योग तामाकोशी नदी किनारको ढोली खोलामा र उनी सहित स्थानीय सुरेश उप्रेतीले सञ्चालन गरेको तामाकोशी रोडा ढुङ्गा क्रसर उद्योग गोपी खोला नजिक छ। यस्तै स्थानीय रामजी उप्रेतीले सञ्चालन गरेको अर्को क्रसर उद्योग पनि तामाकोसी बजार आसपासमै छ।

यि तीन क्रसरहरुबाट उत्पादन हुने गिट्टी र बालुवामा स्थानीय प्रशासन र सरोकारवाला निकायले नियमन गर्न नसक्दा सर्वसाधारण सहित आफुहरु ठगिन बाध्य हुनु परेको जिल्लामा कार्यरत निर्माण व्यवसायीहरुको छ। क्रसर सञ्चालक श्रेष्ठको चरिकोटमा आईसर कम्पनीको सो रुम समेत छ । उनले आईसर कम्पनीका ट्रिपर चलाउने निर्माण व्यवसायीलाई मात्र रातको समयमा गिट्टी बालुवा निकासी गरेर आफुहरुलाई भेदभाव गरेको कतिपय निर्माण व्यवसायीको गुनासो छ।  

क्रसरका सञ्चालक भने  बालुवा गिट्टी महंगो हुनुमा आफुहरु कारक नरहेको दाबी गर्छन। ‘हामीले बालुवा प्रति घन मिटर १३ सय ५० भन्दा एक रुपैंया पनि बढी लिएका छैनौं’ क्रसर सञ्चालक श्रेष्ठले भने – ‘सामान अभाव भएका कारण दुई दिन सम्म पालो कुर्नुपर्ने हुनाले ट्रिपर चालकहरुले डिटेन (कुर्नु पर्दाको शुल्क) वापतको रकम लिएकाले सामान महंगो भएको हो।’  

उनले क्रसर उद्योगहरुबाट महंगो शुल्कमा गिट्टी बालुवा नबेचेको दाबी गरे । ‘हामीले प्रत्येक पटक लोड हुने सामानको भ्याट बिल काटेका छौंकी छैनौ भनेर स्थानीय प्रशासनले चेक जाँच गर्न सक्छ नी’ उनले भने – ‘अनि क्रसरले कसरी ठगी गर्‍यौं भनेर आरोप लगाउने?’  उनले आफ्नो उद्योगले बैध काम गर्दा गर्दै समेत तामाकोसी नदीमै अवैध रुपले चलेका उद्योग र खानीहरुले लिएको चर्को मुल्यको मार आफ्नो उद्योगले खेप्नुपरेको गुनासो गरे । श्रेष्ठले आफुले आईसर कम्पनीका ट्रिपरलाई मात्र सामान दिएर भेदभाव नगरेको दाबी गरे।

रातको समयमा दोहन

प्रदेश सरकारको निर्देशनमा बन्द भएको तामाकोशी नदी दोहन फेरी रातको समयमा शुरु भएको छ। अवैध रुपले बालुवा निकालेर दोहन बढेपछि प्रदेश सरकारको निर्देशनमा करिब दुई महिना अघि देखी स्थानीय प्रशासनले जथाभावी दोहन रोकेको थियो।

तामाकोशी नदी भरी खाल्डै खाल्डा बनाएर जनप्रतिनिधिहरुको आडमा टाठाबाठाले दोहन तिव्र पारेका थिए । यस्तै तामाकोशी नदीका कतिपय स्थानमा दाहसंस्कार गर्ने घाट नै मासिएको थियो। 

दुई महिना अघि प्रशासनले बन्द गरेको नदी दोहन फेरी शुरु भएको हो। तामोकासी बजार यता भाँगे खोला क्षेत्रमा रातको समयमा दुई ओटा स्कावेटर नदीमा छिराएर अवैध उत्खनन शुरु गरिएको स्थानीयले बताएका छन्। ‘बेलुका भएपछि प्रहरीकै आडमा दुई ओटा मेसिन नदीमा छिराएर बालुवा निकाल्न थालिएको छ’ तामाकोसी बजारका एक स्थानीयले भने।

 

प्रकाशित: ४ जेष्ठ २०७५ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App