coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जहाँ व्यवस्थापन समिति हत्याउन तीन जनाको हत्या भएको थियो

सबैला (धनुषा)-विद्यालय व्यवस्थापन समितिको गठनमा दुई वा सो भन्दा बढी समूहबीचको हानथाप विवादले व्यक्ति हत्यासम्म गराउने खबर तराईको लागि नयाँ होइन। यस्तै घटना धनुषाको सबैलामा एक वर्ष अघि भएको थियो, जहाँ तीन जनाको हत्या भयो।
२०७१ चैत ८ गते सबैला –१ स्थित मदन आश्रित निमाविको व्यवस्थापन समिति गठनका लागि प्रधानाध्यापकले समुदायको बैठक आह्वान गरेका थिए। समिति अध्यक्षका लागि दुई गुटको प्रतिनिधिले बैठकमा तछाडमछाड गरेपछि दुवै गुटले एक–एकजना उम्मेदवार तय गरेर आउने सहमति भयो। एउटा गुट एमाले भित्रका योगनारायण यादव पक्षधर थियो भने एमालेकै अर्को पक्ष लगायत अन्य सबै दलका समर्थक अर्को गुटमा।
बैठकमा भएको सहमति अनुरुप दुवै पक्षले उम्मेदवार चयन गर्न आ–आफ्नै तरिकाले भेला हुन थाले। एउटा पक्ष यादवकै घरमा भेला भयो । अर्को पक्ष त्यहीँ नजिक स्थानीय रामदेव ठाकुरको घर अगाडी बसे। सूर्यास्त भइसकेर अँध्यारो हुँदै थियो । अचानक ठाकुरको घर अगाडी बसिरहेको समूह उपर घरेलु हतियार सहित आएको टोलीले आक्रमण गर्यो। स्थानीय रामसेवक राउत गडेरीको घटनास्थलमै मृत्यु भयो। करिब दुई दर्जन घाइते भए। मान्छे भागाभाग भए, घाइतेलाई उपचारका लागि जनकपुर लगियो। गाउँमा प्रहरी तैनाथ गरिए। तर, सुरक्षा सतर्कता बढाएकै बेला सोही राती स्थानीय रामप्रकाश यादवको पनि गोली हानी हत्या भयो।
घटनामा आक्रमणकारीले कुटेर घाइते भएकी सिकिलियादेवी साहको पनि केही दिनपछि मृत्यु भयो। सिकिलियाका पति रामसागर साह घटनाको वर्ष दिन बितिसक्दा पनि तंग्रिन सकेका छैनन्। टाउको र छातिमा गम्भिर चोट लागेका उनलाई महिनौसम्म आइसियुमा राखेर उपचार गराइएको थियो।
घटनाको झण्डै वर्ष दिन पुरा भएपछि पीडितको जाहेरी आधारमा प्रहरीले एमालेका तत्कालिन वैकल्पिक पोलिटब्यूरो सदस्य योगनारायण यादव लगायत आधा दर्जनलाई पक्राउ गरी अदालतमा बुझायो। जिल्ला अदालतले पुर्पक्षको लागि उनीहरुलाई जलेश्वर कारागार पठाइसकेको छ। घटनाका अन्य करिब दर्जन अभियुक्त अझै फरार नै छन्।
यस्तो छ विद्यालयको अवस्था
सरकारको नेतृत्व गरिरहेको दलकै केन्द्रीय नेता घटनाका मुख्य अभियुक्तको रुपमा पक्राउ परेपछि यो विद्यालयको नाम राष्ट्रिय चर्चामा आयो । तर, जुन विद्यालयको व्यवस्थापन समिति आफ्नो पकडमा राख्न तिनीहरुले यस्तो निर्मम अपराध गर्न पनि तयार भए, त्यो विद्यालयको स्थिति भने दयनीय रहेको छ? यसवारे सम्बन्धित निकायले वास्तै गरेको छैन।
विद्यालयको व्यवस्थापन समिति कब्जा गर्न राजनीतिक दलहरुमा हत्यानै गर्नुपरेपनि पछि नपर्नेसम्मको आँट देखाउनेहरु विद्यालयको अवस्थामा सुधार ल्याउन चासो देखाएको छैनन्।
तीन सय ४७ विद्यार्थी रहेको यो विद्यालयमा कक्षाकोठा र शिक्षक अभावकै कारण बाल कक्षा सञ्चालन गरिएको छैन। बाल कक्षा नचलाएपनि एक देखि ८ कक्षासम्म पढाइ हुने यहाँ ६ वटा कक्षाकोठा मात्र उपलब्ध छन्। सबै कक्षाका लागि कम्तीमा पनि ८ जना शिक्षक चाहिने हो। तर, प्रधानाध्यापकलाई समेत जोड्दा जम्मा ६ जना छन्।
कक्षाकोठा र शिक्षक दुवैको अभाव पुर्ति गर्न दुई र तीन कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर एउटै शिक्षकले पढाउने व्यवस्था मिलाइएको छ । दुई वटा कक्षाका विद्यार्थी सँगै पढ्नुपर्ने भएपछि दिनको कम्तीमा ६ वटा विषय पढाइ हुनुपर्नेमा तीन–तीन वटा मात्रै भइरहेको छ। एक कक्षाका विद्यार्थी कोठा अभावको कारण बाहिरै बसेर पढ्नुपर्ने बाध्यता छ।
विद्यालयको नाउँमा तीन कट्ठा जग्गामा भवन र मैदान रहेको छ। गाविस (हाल नगपालिका) को स्वामित्वमा रहेको एउटा पोखरी छ, जुन केही वर्षदेखि उपभोग गर्न विद्यालयलाई उपलब्ध गराइएको छ। वार्षिक ३५ हजार रुपैयाँमा ठेक्का लाग्ने उक्त पोखरी र नजिकै लालपूर्जा नभएको तीन कट्ठा खेतीयोग्य जग्गा बाहेक अरु केही छैन, विद्यालयमा। त्यसैबाट आउने आम्दानीले मासिक छ हजार दिनेगरी एकजना शिक्षकलाई निजीस्रोतमा परिचालन गरिएको विद्यालयका प्रधानाध्यापक रामपुकार गामीले जनाए।
अहिले कक्षाकोठा थप्ने र आवश्यक शिक्षक पूर्ति गर्ने तत्काल आवस्यकता भएपनि जिल्ला शिक्षा कार्यालयमा प्रभावकारी पहुँच र स्थानीय सहयोग अभावले त्यो सम्भव देखिदैन।
वि.सं. २०५१ सालमा स्थापित यो विद्यालयको नाम एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको नामबाट राखिएको हो, ‘मदन आश्रित निमावि । उनीहरुको नामबाट मुलुकमा अर्बौको ट्रष्ट र समाजिक संस्थाहरु सञ्चालनमा रहेपनि यो विद्यालयले नाम बाहेक कत्तै, कुनै सहयोग पाउन सकेको छैन । न त विद्यालय परिवारले कुनै सहयोग लिन अग्रसरता देखाएको छ।

 

प्रकाशित: ८ असार २०७३ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App