८ वैशाख २०८१ शनिबार
खेल

चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्स भिड्दै, सन्दीपले खेल्ने सम्भावना कती ?

काठमाडौं – भारतमा जारी क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल) मा शुक्रबार (आज) को एकमात्र खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ।  

दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा नेपाली समयअनुसार बेलुकी ८ः१५ मा सुरु हुने खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको चन्नईले पुछारको दिल्लीसँग खेल्न लागेको हो। 

१२ खेल खेलेको चेन्नईले ८ मा जित र ४ मा हार व्यहोर्दै १६ अंक बनाएको छ भने समान १२ खेलनै खेलेको दिल्लीले भने ३ मा जित र ९ खेलमा हार व्यहोरेको छ। ६ अंक जोडेको दिल्ली प्रतियोगिताबाट बाहिरिसकेको छ। चेन्नई आजको खेल जित्दै शीर्ष २ मा रहदै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा रहनेछ भने दिल्ली यो खेल जित्दै जित संख्या बढाउने सुरमा रहनेछ।  

चेन्नईसँगको आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने खेल्ने सम्भावना प्रभल देखिएको छ। अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा डेब्यु गरेका सन्दीपले पहिलो खेलमै राम्रो छाप छोडिसकेका छन्। 

सन्दीपले बेंग्लोरसँगको खेलमा पूरै ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट झारेका थिए। सो खेलमा विश्वका चर्चित ब्याट्सम्यान बिराट कोहली र एबी डी भिलिसर्य सन्दीपको बलमा खुलेर खेल्न सकेका थिएनन्। त्यसैले बैंग्लोरविरुद्ध गरेको राम्रो प्रदर्शनपछि उनले फेरी टोलीमा स्थान बनाउने लगभग पक्का रहेको छ।

सन्दीपसँगै अघिल्लो खेलमा डेब्यु गरेका दक्षिण अफ्रिकाका जुनियर डालाले ३ ओभरमा ३४ रन खर्चिएकाले सन्दीपको सम्भावना धेरै देखिन्छ। प्रत्येक टोलीले ४ जना विदेशी खेलाडी खेलाउन पाउनेछन्। ग्लेन म्याक्सवेल पनि फर्ममा नरहेकाले सन्दीपले खेल्ने सुनिश्चित देखिएको छ।

आजको खेलमा सन्दीपले बलिङ गर्न पाए उनले भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, शेन वाट्सन र सुरेश रैनाजस्ता खेलाडीसामु बलिङ गर्न पाउने छन्।  सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा टोलीमा अनुबन्धीत गरेको हो।

 

प्रकाशित: ४ जेष्ठ २०७५ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App